Comments Add Comment

नेकपालाई कांग्रेसको चेतावनी : राजनीतिक दुर्घटना हुन्छ, सहमति नतोड्नुस्

८ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद जीतेन्द्रनारायण देवले अंगीकृत नागरिकताका विषयमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको निर्णयले मुलुकलाई राजनीतिक दुर्घटनातिर लगेको बताएका छन् ।

सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै कांग्रेस सांसद देवले नेकपाको निर्णय अत्यन्त अदूरदर्शी, अपरिपक्व, मुलुकमा साम्प्रदायिक दङ्गा भड्काउने र प्रकारान्तरले मुलुकलाई नै विभाजनमा लैजाने खालको भएको टिप्पणी गरेका हुन् ।

गत शनिबार नेकपा सचिवालय समितिको बैठकले नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिने निर्णय गरेको थियो । नेकपाको उक्त निर्णयअनुसार नै प्रतिनिधि सभाको राज्य व्यवस्था समितिले नेपाली पुरुषसँग बिहे गरेकी विदेशी महिलालाई ७ वर्षपछि मात्र नेपाली नागरिकता दिने व्यवस्था राखेर नागरिकतासम्बन्धी विधेयक बहुमतले पास गरेको छ।

तर कांग्रेस नेता देवले यो विषयले मुलुकलाई मुठभेड र गम्भीर राजनीतिक दुर्घटनातिर लैजाने बताए । नागरिकताको उक्त प्रावधानको विरोधमा वीरगञ्जदेखि राजविराजसम्म प्रदर्शन भइरहेको भन्दै नेता देवले कांग्रेस र मधेशवादी पार्टीलाई हेप्ने रणनीतिले दुर्घटना निम्त्याउने बताए ।

‘नेपाली कांग्रेस र अन्य मधेशवादी पार्टीलाई तपाईं‌हरू यसरी हेप्ने, नेपाली कांग्रेस, मधेशवादी दललाई हेपेर तपाई‌ं एक्लै यो देश सञ्चालन गर्न, सम्भव हुन्छ ?’ उनले भने ‘पोलिटिकल एक्सिडेन्ट हुन्छ । सहमति नतोड्नुस् ।’

२०६३ सालमा तत्कालीन मधेशवादी दल, एमाले, माओवादी र नेपाली कांग्रेसबीच राष्ट्रिय सहमतिका आधारमा नागरिकता ऐन बनेको भन्दै उनले अहिले एक्कासी यसलाई उल्ट्याउन नहुने देवले बताए ।

‘तपाईंहरू गलत बाटोमा जानुभएको छ । तपाईंहरूलाई लाग्दो हो । नयाँ जनवादी क्रान्तिको बेला आइसक्यो । चिनियाँ मोडलको समाजवाद स्थापना गर्ने बेला आइसक्यो । अब संविधान जेसुकै होस्’ उनले भने ‘तपाई‌ंहरूको निर्णय मस्ट एक्स्ट्रिमिस्ट (उग्रवादी) हो । तपाईंहरू उग्रवादमा फस्दै हुनुहुन्छ । तपाईंहरू अत्यन्त अपरिपक्व बाटोमा जाँदै हुनुहन्छ ।’

नेता देवले अगाडि भने, ‘मुलुकमा आगो लगाउने काम कांग्रेस र अन्य सबै पार्टीहरूसँग भिड्ने काम, मुलुकलाई बन्दी बनाएर सामन्तवादीहरूलाई मलजल गर्ने काम गर्दै हुनुहुन्छ ।’

नेता देवले यो निर्णयमा पुनर्विचार गर्न नेकपा नेताहरूलाई आग्रह गरे । ‘नभए भोलि कम्युनिस्ट एकातिर कांग्रेस र मधेसवादी अर्कोतिर भएर मुलुकलाई राजनीतिक ध्रुवीकरणमा लैजाने मुठभेड गराउने र प्रकारान्तरले संघीय लोकतान्त्रिक गणतन्त्रलाई पल्टाइदिने दुर्घटनामा लगिदिने काम तपाईंहरू नगर्नुस् ।’

कम्युनिस्ट पार्टीले नेपालले भारत र चीनसँग समदुरीमा सम्बन्ध राख्ने भने पनि यो निर्णयले चीनतर्फ ढल्काएको नेता देवले बताए ।

‘तपाईंहरूको २ वर्षको क्रियाकलापमा तपाई‌ंहरू समदुरीको सिद्धान्तमा रहनुभएन । तपाईं‌हरूको फरेन पोलिसी एकपाखे भयो। एउटा छिमेकीतिर तपाईंहरू लैजाँदै हुनुहुन्छ’ उनले भने ‘तपाईंको पार्टीले लानोस् हामीलाई भन्नु केही छैन, तपाईं‌हरू ५० चोटी मिटिङ गर्नुस् चिनियाँ कम्युनिस्ट पार्टीसँग हमीलाई भन्नु केही छैन । तर यो राष्ट्रचाहिँ समदुरीकै सिद्धान्तमा जानुपर्छ । चीन र भारतसँग मित्रताको सम्बन्ध कसैलाई अगाडि/पछाडि गर्नुहुन्न ।’

नेकपाको निर्णयले २००७ सालदेखि नेपालमा स्थापित परराष्ट्र सम्बन्धमै प्रहार भएको नेता देवले बताए । सत्तारुढ दलले नेपाललाई चीनको क्याम्पमा लगेको सन्देश प्रवाह भइरहेको पनि उनले बताए।

‘२००७ सालदेखि फरेन पोलिसीको फन्डेसनमा सत्ताधारी पार्टीले एकपछि अर्को प्रहार गर्दै लगेको छ’ उनले भने ‘अब हामी चिनियाँ क्याम्पमा गयौं भन्ने म्यासेज गइरहेको छ । के यो ठिक भइरहेको छ । यसले यो मुलुकको डेमोक्रेसीलाई संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो गर्छ । हाम्रो आन्तरिक राष्ट्रवादलाई बलियो गर्छ ?’ उनले भने ।

नेपाल र भारतबीच सदियौंदेखि सा‌ंस्कृतिक सम्बन्ध रहेको भन्दै यसमाथि आक्रमण नगर्न पनि नेता देवले सचेत गराए । ‘राजनीतिक भनेको माइन्डले चल्छ, तर कल्चरल रिलेसन हर्ट टु हट हुन्छ, हृदयको सम्बन्ध हो त्यो । कसैको संस्कृतिमाथि आक्रमण गर्ने तपाईंलाई कुनै अधिकार छैन’ उनले भने ।

कम्युनिस्ट पार्टीभित्र बिहार र उत्तर प्रदेशमा नेपालका मधेशी समुदायको सम्बन्धले गर्दा उताबाट आउने बुहारीले नेपालको राष्ट्रियता खतरामा परेको भन्ने व्याख्या हुने गरेको नेता देवले बताए ।

‘त्यसैले नेपालको राष्ट्रियतालाई बचाउनका निमित्त बिहार र यूपीसँग नेपालका मधेशीहरूको वैवाहिक सम्बन्धलाई प्रकारान्तरमा योजनाबद्ध र व्यवस्थित ढंगले बिस्तारै बिस्तारै तोड्नुपर्छ समाप्त गर्नुपर्छ भन्ने नेकपाको मान्यता हो’ उनले भने ।

नेपाल र भारतको सम्बन्ध कुनै पार्टीले स्थापना नगरेको भन्दै नेता देवले जबरजस्ती बिहेबारी रोक्ने हिसाबले अघि बढ्नु राजनीतिक दुर्घटना निम्त्याउनु भएको उनले बताए ।

‘बाई फोर्स भारतसँगको सम्बन्ध कट गर्ने भन्ने मानसिकता पालेर चिनियाँको झोलामा नेपाललाई लैजाने भन्ने मानसिकता पालेर क्लासिकल आइडोलोजीको आधारमा जुन काम गर्दै हुनुहुन्छ । भोलि राजनीतिक दुर्घटना भयो भने तपाई‌ंहरू मिलेरसँगै जेल जानुपर्छ’ नेता देवले भने ।

बिहार र यूपीसँगको वैवाहिक सम्बन्ध तोडेर नेपालको राष्ट्रियता बलियो हुन्छ भन्ने चिन्तन खोक्रो राष्ट्रवादी भएको उनले बताए । ‘यो निर्णय एन्टी नेसनालिज्म, एन्टी मधेशी नेस्नालिजममा आधारित छ । यो प्रगतिशील पार्टीले राख्ने मानसिकता होइन, मार्क्सवादी, लेनिनवादी अन्तर्राष्ट्रियवादी कम्युनिस्टले राख्ने मानसिकता होइन, त्यो मानसिकता अत्यन्त मण्डलेवादी राष्ट्रवाद हो’ नेता देवले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment