Comments Add Comment

मध्यवानेश्वरमा भेटियो प्राचीन इँटा

११ जेठ, काठमाडौं । काठमाडौंको मध्यवानेश्वरमा मन्दिर पुनर्निर्माणको क्रममा प्राचीन इँटा भेटिएको छ ।

मध्यवानेश्वरको रत्न राज्यलक्ष्मी स्कुलको प्राङ्गणमा रहेको वाणेश्वर महादेव मन्दिर पुनर्निर्माणको क्रममा ऐतिहासिक इँटा भेटिएपछि मन्दिर व्यवस्थापनले पुरातत्व विभागलाई खबर गरेको थियो । विभागले त्यस इँटाबारे अध्ययन थालेको छ ।

पुनर्निर्माणको क्रममा मन्दिरको अघिल्लो भागबाट तीनवटा भिन्दाभिन्दै आकारका आधा दर्जनजति इँटा भेटिएको छ । इँटाको नापलाई तुलनात्मक अध्ययन गर्दा तिलौराकोटमा पाइएको कुषाणकालीन इँटाको आकारसँग मिल्दोजुल्दो खालको रहेको पाइएको छ । विभिन्न वंशावलीहरुले वानेश्वर क्षेत्रलाई इसाको दोस्रो शताब्दीको राजधानीको रुपमा व्याख्या गरेका छन् ।

प्राप्त इँटाहरुमध्ये सबैभन्दा ठूलो इँटा १४.५/८.५/४.५ इन्चको रहेको छ । सो इँटाको एकभाग फुटेको छ । त्यस्तै, अर्काे इँटा १४/७.५/२.५ इन्चको र अर्काे ८/५/२ इन्चको गरी तीन आकारको प्राचीन इँटा भेटिएको हो । ती इँटाहरु यही समयको हो भन्ने यकीन गर्नको लागि कार्बन डेटिङ गर्नुपर्ने हुन्छ ।

यद्यपि इँटाको तुलनात्मक विधिबाट अध्ययन गर्दा यो तिलौराकोटमा भेटिएको गुप्तकालीन र कुषाणकालीन इँटाको आकारसँग मिल्दोजुल्दो खालको देखिएको छ ।

तिलौराकोटमा मौर्य वंशदेखि कुषाणहुँदै गुप्तकालसम्म यस्ता ठूला इँटाहरुको प्रयोग भएको भेटिएको छ । विसं २०२३ देखि २०२९ को बीचमा एउटा स्तुप उत्खनन्को क्रममा तिलौराकोटमा १७/१३ इन्चको इँटा पनि भेटिएको थियो । यी इँटाहरुको आकार र शैलीको आधारमा त्यो कुषाण राजा कनिष्कको पालाको रहेको यकिन गरिएको थियो ।

यद्यपि तिलौराकोटको इँटाको समय र काठमाडौंमा भेटिएको इँटाको युग फरक पनि हुन सक्ने इतिहासकारहरु बताउँछन् । त्रिभुवन विश्वविद्यालयको नेपाली संस्कृति, इतिहास तथा पुरातत्व केन्द्रीय विभागका प्रमुख मदनकुमार रिमाल इँटाको वास्तविक समय निर्धारण गर्नको लागि कार्वन डेटिङ नै आवश्यक हुने बताउँछन् ।

वानेश्वर क्षेत्र प्राचीन राजाहरुको राजधानी रहेको क्षेत्र समेत रहेकोले यी क्षेत्र आफैँमा ऐतिहासिक महत्वको क्षेत्र रहेको रिमाल बताउँछन् । भूमिवर्माको समयमा यही क्षेत्रलाई राजधानी मानिएको भन्ने वंशावलीमा उल्लेख भएको भन्दै उनले यो क्षेत्रको उत्खनन्बाट प्राचीन संरचना भेट्ने सम्भावना रहेको जानकारी दिए ।

पुरातत्व विभागबाट सो क्षेत्रको अध्ययनका लागि खटिएका प्रकाश खड्काले सो क्षेत्रको ऐतिहासिक पक्षबारे अध्ययन भइरहेको जानकारी दिए । उनले सो क्षेत्रको बारेमा हिमवत्खण्डमा उल्लेख भएको भन्दै वानेश्वर क्षेत्रको ऐतिहासिकता अकाट्य रहेको प्रतिक्रिया दिए । त्यस्तै, वाणेश्वर मन्दिर व्यवस्थापन समितिका सदस्य महेश खरेलले विभिन्न किंवदन्ती अनुसार सो क्षेत्र ऐतिहासिक क्षेत्रको रुपमा रहेको भन्ने सुनेको आधारमा प्राप्त संरचनाहरूलाई पुरातत्व विभागको सहयोगमा खोजी गर्ने कार्य भइरहेको जानकारी दिए ।

वानेश्वर क्षेत्रको ऐतिहासिकता

वानेश्वर क्षेत्रको ऐतिहासिकतालाई खोतल्दै जाने हो भने यो क्षेत्र कुषाणकालतिर कुनै राजाको दरबार रहेको क्षेत्रको रुपमा वंशावलीहरुले उल्लेख गरेका छन् । भाषा वंशावली एवं राइट वंशावलीमा उल्लेखित विवरण अनुसार राजा भूमिवर्माको राजधानी सहर नै यही क्षेत्र थियो । गोपालवंशावली र कर्कप्याट्रिक वंशावलीमा मात्रै यस राजाको राज्यभोग वर्ष उल्लेख गरिएको छ र यी दुवै वंशावलीहरुमा उनको शासनकाल ४१ वर्ष भनिएको छ ।

यही वाणेश्वर मन्दिरको नामबाट नै यो क्षेत्रको नाम वानेश्वर रहन गएको तर्क पनि इतिहासकारहरुको छ । राजा भूमिवर्मा नै वर्मावंशका पहिलो राजा हुन् । वंशावलीहरुका अनुसार उनलाई भास्करदेवले आफ्नो धर्मपुत्र बनाइ राज्य सुम्पिएको भन्ने उल्लेख पाइन्छ ।

राजा भूमिवर्माका नेपालमा भेटिएको सबैभन्दा पुरानो शिलालेख राख्ने राजा जयवर्माभन्दा तीन पुस्ता अघिका राजा हुन् । भूमिवर्मापछि उनका छोरा चन्द्रवर्माले २१ वर्ष शासन गरे भन्ने वंशावलीमा उल्लेख छ । त्यसपछि चन्द्रवर्माका छोरा जयवर्माले शासन गरे भन्ने उल्लेख पाइन्छ । यिनै जयवर्माको खण्डित अभिलेख नेपालमा प्राप्त अभिलेखहरुमध्ये सबैभन्दा पुरानो अभिलेख हो ।

यसरी हिसाब गर्दा वानेश्वर क्षेत्रमा राजधानी बनाउने भूमिवर्माको समय सन् १२१ देखि सन् १६२ (अर्थात् वि.सं. १७८ देखि २१९) सम्म रहेको वंशावलीमा उल्लेख छ । यो क्षेत्रको त्यति पुरानो पुरातात्विक प्रमाण भने अहिलेसम्म प्राप्त हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment