Comments Add Comment

एक महिनादेखि क्वारेन्टिनमा : न रिपोर्ट आउँछ, न घर जान पाइन्छ

डोटीमा भारतबाट आएका नागरिकहरु । फाइल तस्वीर

१५ असार, डोटी । डोटीको के.आई. सिंह गाउँपालिका–४ का २६ वर्षीय राम जोशी जेठ १७ गते भारतको मुम्बईबाट आफ्नो गाउँ पुगे । सँगै आएका अन्य ३५ जनासहित उनलाई स्थानीय झिमेमालिका माविको क्वारेन्टिनमा राखियो । सुरुमा उनलाई १४ दिन क्वारेन्टिनमा बस्नु पर्ने भनिएको थियो तर दिनगन्तिका हिसाबले उनी क्वारेन्टिनमा बसेको आज ३० दिन भयो ।

भारतको नयाँ दिल्लीबाट आएका के आई सिंह–४ का २२ वर्षीय मिलन कार्की पनि क्वारेन्टिनमा बसेको आज ३० दिन भयो । सोही दिन भारतको पञ्जाबबाट आएका लोकबहादुर विक पनि सोही क्वारेन्टिनमा छन् ।

राम, मिलन र लोक मात्रै होइन, उक्त क्वारेन्टिनमा ३० दिनसम्म लगातार बस्नेको संख्या २७ छ ।

क्वारेन्टिनमा बसेको १६ औं दिन अर्थात् जेठ ३२ गते उनीहरुको र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) गरियो । आरडीटीको रिपोर्ट पोजेटिभ आएपछि भोलिपल्ट असार १ गते पीसीआर परीक्षणका लागि स्वाब संकलन गरियो । उक्त स्वाबको नतिजा अझै आएको छैन ।

स्वाव संकलन गर्दा उनीहरुलाई एक साताभित्रै रिपोर्ट आउने भनिएको थियो । आरडीटी पोजेटिभ देखिएका उनीहरुले कतै पीसीआर पनि पोजेटिभ पो आउने हो कि भन्ने चिन्तैचिन्तामा एक साता कटाए ।

‘चिन्ता लागिरहन्थ्यो, के पो भइहाल्छ भन्ने डर थियो,’ राम भन्छन्, ‘कति छिटो रिपोर्ट आउला भइरहेको थियो, छटपटिमै एक साता बितायौं ।’

एक सातापछि पनि रिपोर्ट नआएपछि उनीहरुले क्वारेन्टिनमा खटिएका स्वास्थ्यकर्मीहरुसँग प्रश्न गरे । स्वास्थ्यकर्मीहरुले ‘भोलिसम्म’ आइपुग्ने जानकारी दिए । त्यो दिन पनि चिन्तामै कट्यो उनीहरुको । उनी भन्छन्, ‘भोलि आउँछ, भोलि आउँछ भन्दाभन्दै १४ दिन भइसक्यो स्वाब संकलन गरेको रिपोर्ट अझै आएको छैन ।’

आफ्नो रिपोर्ट नआएको भन्दै उनीहरुले शनिबार गाउँपालिकाको स्वास्थ्य शाखा घेरे पनि । आफूहरुले घर जान पाउने माग राख्दै प्रदर्शन पनि गरे । यसअघि पनि आफूहरुले दुई पटक दबाव दिएको उनीहरु बताउँछन् ।

शनिवारको प्रदर्शनपछि सोमवारसम्म पनि रिपोर्ट नआए पुनः स्वाब संकलन गरेर घर पठाउने सहमति भएको छ । ‘भोलिसम्म पनि रिपोर्ट नआए स्वाब संकलन गर्छौं अनि घर पठाउँछौं भन्नु भएको छ,’ राम भन्छन्, ‘अब के हुन्छ, खै !’

असार ५ गतेसम्म संकलन गरिएको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं पठाइएको र त्यताबाट ढिलो रिपोर्ट प्राप्त भइरहेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासी बताउँछन् । पोजेटिभ केसहरुको रिपोर्ट फटाफट आइरहेको, तर नेगेटिभ केसहरु ढिलो आइरहेको उनले बताए ।

यस विषयमा बुझ्नका लागि प्रदेश स्वास्थ्य निर्देशनालयमार्फत पहल भइरहेको उनले बताए ।

उनले भने, ‘उहाँहरुलाई स्वाब संकलन गरेकै भोलि १५ दिन भइसक्छ, अब घर पठाउँदा कुनै समस्या हुँदैन, तर एक साता घरमै क्वारेन्टिनमा बस्नु पर्छ ।’

उनले उनीहरुको फेरि स्वाब संकलन गर्नु नपर्ने समेत बताए, भने, ‘तर उता के सहमति भएको छ, थाहा भएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment