Comments Add Comment

प्रदेश एकमा १५ वर्षमा ५४ हजार हेक्टर धानखेत मासियो

११ महिनामा २ अर्ब बढीको धान–चामल आयात

फाइल फोटो

१६ असार, विराटनगर । अन्न भण्डारको रुपमा चिनिने प्रदेश नं. एकमा २ अर्ब ५० करोड बढी मूल्यको धान–चामल भारतबाट भित्रिएको छ । प्रदेश नं. एकका मुख्य दुई नाका काँकडभिट्टा र विराटनगरको रानीबाट चालु आर्थिक वर्षको ११ महिनामा ६ करोड ६३ लाख केजी धान–चामल भित्रिएको हो ।

रानी नाकाबाट २ अर्ब २४ करोड मूल्यको ५ करोड केजी धान–चामल प्रदेश एकमा ११ महिनाको अवधिमा भित्रिएको छ । त्यसैगरी काकडभिट्टा नाकाबाट सोही अबधिमा ५४ करोड २ लाख ४० हजार मूल्यको १ करोड ६३ लाख केजी धान–चामल भित्रिएको विराटनगर भन्सार कार्यालयका प्रवक्ता सुनिता पौडेलले जानकारी दिइन् । यसबाहेक मकैै, कोदो र फापर पनि भित्रिएको छ ।

१५ वर्षमा ५४ हजार हेक्टर धानखेत मासियो

प्रदेश एकमा पछिल्लो समय खेतीयोग्य जमिनलाई बाँझो राख्ने, जथाभावी प्लटिङ र आवास निर्माण गर्नाले धान खेती हुने जमिनको क्षेत्रफल खुम्चिँदै गएको छ । जसका कारण धानको उत्पादनमा पनि प्रत्येक वर्ष कमी आउन थालेको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार १५ वर्षको अवधिमा ५४ हजार हेक्टर धान खेत मासिएर ३ लाख १२ हजार हेक्टरमा खुम्चिएको छ । साथै १५ वर्षयता प्रदेश १ का १४ जिल्लामा धानको उत्पादन घटेर ११ लाख ९८ हजार ७ सय ४१ मेट्रिक टनमा सीमित भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्यांक छ ।

सन् २००३ मा प्रदेश १ अन्तर्गतका १४ जिल्लामा ३ लाख ६६ हजार हेक्टरमा धान खेती हुँदै आएको थियो । धानको वार्षिक उत्पादन पनि १६ लाख ४७ हजार मेट्रिक टन थियो ।

बर्खे र चैते धान गरी प्रदेश १ मा ११ लाख ९८ हजार ७ सय ४१ मेट्रिक टन धान उत्पादन हुने गरेको छ । तर अधिकांश प्रदेश १ वासीले भारतबाट आयात गरिएको चामल उपभोग गर्ने गरेका छन् । जसका कारण बर्सेनि धान–चामल खरिदका लागि करौडौं नेपाली रुपैयाँ विदेशिने गरेको छ ।

प्रदेश १ का १४ वटै जिल्लामा धान खेती हुने गर्दछ । प्रदेश नं. १ ले अहिले पनि कुल धान उत्पादनमध्ये आफ्नो प्रदेशमा खपत गरेर बाँकी रहेको ३ हजार मेट्रिक टन धान हरेक वर्ष अन्यत्र निर्यात गर्दै आएको छ ।

प्रदेश एकको कुल गाह्रस्थ उत्पादनमा समग्र कृषि क्षेत्रको योगदान ३६ प्रतिशत छ । धानको मात्रै योगदान १९ प्रतिशत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment