+
+
Shares

कसरी भाइरल भयो ‘भकारीका धान मेरा बादुरे’ ?

यो गीत गाउन गला माझिरहनुपर्दैन । स्वरयन्त्रलाई आरोह–अवरोहमा पुर्‍याउनु पर्दैन । स्वर सुरिलो र भाका मधुर हुनु पनि जरुरी छैन ।

शिव मुखिया शिव मुखिया
२०८३ असोज ४ गते १९:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राजकुमार वलीको ‘भकारीका धान मेरा बादुरे’ गीत सोसल मिडियामा निकै भाइरल छ ।
  • वलीले यो गीत रोल्पाको स्थानीय ‘मालै भाका’ वा ‘साइला बरै’बाट आएको भेगीय गीत भएको बताए ।
  • उनले गीतको ‘भकारीका धान मेरा बादुरे’ सूत्र राख्दै यसलाई ठट्यौली र दोहोरीसँग जोडेर व्याख्या गरे ।

एक जना टुसुक्क बस्छन् । अर्काले त्यसको टाउकोमा हात राख्छन् । बसेका पात्र सुस्तरी उठ्छन् । अनि दुवैजना समान चालमा एउटा हातले नाक बन्द गर्छन् । अर्को हातले ‘छैन ..छैन’ भनेजस्तै संकेत गर्छ । अगाडि आउँछन्, पछाडि सर्छन् ।

नृत्यको यो ‘सिग्नेचर स्टाइल ’ले के भन्छ ? सायद नाच्नेहरूलाई पनि थाहा छैन । नाचको कुरै नगरौँ । गीतले के भन्दैछ ? त्यो पनि थाहा छैन।

‘भकारीमा धान छ, चरी आएर खान्छ
हा..चरीलाई काँ जान्छ जान्छ
मेरा बादुरे
भकारीका धान मेरा बादुरे
झिक्छु, सुकाउँछु मेरा बादुरे …’

टिकटकतिर यो गीतले उधुम मच्याएको छ । जति–जति टिकटक स्क्रोल गर्नुहुन्छ, यही गीत भेटिन्छ । गीतले ठ्याक्कै के भन्दैछ ? बुझिँदैन । भाका कस्तो हो ? त्यो पनि बुझिँदैन । तैपनि गीत भाइरल भयो । कसरी ?

यो प्रश्नको उत्तर खोज्नुअघि हामीले गायक राजकुमार वलीसँग गीतको शब्दावली र भाकाबारे कुरा गर्‍यौं । राजकुमार यतिबेला दाङतिर थिए र दंग पनि थिए । बसाइँ सराइ गरेर उनी त्यहाँ आइपुगेका रहेछन् । उनको खास थातथलो रोल्पा हो । अतः यो गीतको उद्‍गम थलो पनि रोल्पा नै ।

रोल्पामा मावली हजुरबाहरूले ‘भकारीका धान’ भन्दै यस्तै भाका हाल्ने गरेका थिए । त्यही भाका उनकी आमा हुँदै राजकुमारमा आइपुग्यो । यसलाई उनले ‘भेगीय गीत’ भनेका छन् । अर्थात एउटा निश्चित भूगोलमा चलेको स्थानीय भाका ।

राजकुमारका अनुसार रोल्पामा यसलाई ‘मालै भाका’ वा ‘साइला बरै’ भनिन्छ । तर, युट्युबमा उपलब्ध यी भाकाहरू ‘भकारीका धान’सँग त्यति मिल्ने खालको भेटिएन ।

गण्डक क्षेत्रमा प्रचलित रोधीको रङ कताकता यसमा मिसिएको हो कि ? रत्यौलीको रस भिजेको हो कि ? उनी स्वयम् अलि दुविधामा थिए । कतिपयले यसलाई काँठ क्षेत्रको भाका हो कि भनी टिप्पणी गरेका रहेछन् ।

राजकुमारलाई यही प्रश्नले हैरान बनाएर हो कि, फेसबुकमा एउटा पोस्ट गरेका छन् । निकै खिपेर त्यहाँ लेखिएको छ, ‘भकारीका धान मेरा बादुरे’ को सूत्र ।

भ– भकारी । का–कारबाही । रि– रिक्वेस्ट । का– करार । धा– धारणा । न–नियम । मे–मूल्यांकन । रा–रकम भुक्तानी । बाँ–बाँडफाँड । दु–दर्ता । रे– रेकर्ड राख्ने ।

समग्रमा यसबाट उनी के भन्दैछन् भने, ‘कुनैपनि खरिद प्रक्रियालाई सजिलो बनाउन लागि भकारीका धान मेरा बादुरे सूत्र प्रयोग गरिन्छ ।’

यहाँ फेरि बादुरेको अर्थ फरक छ । राजकुमारका अनुसार बादुरे भनेको ‘बहादुर’ हो । खासगरी रत्यौलीमा केटीलाई नै लाहुरेको लुगा लगाइदिएर केटा बनाइन्छ । अनि उनलाई नाम दिइन्छ, ‘बादुरे’ ।

केटीले गीत गाए, रत्यौली हुन्छ । केटाले गाए, ठट्यौली । दुवैले गाए, दोहोरी । यस गीतलाई उनी ‘दोहोरी’ भनी अर्थ्याउँछन् । तीजको मेसोमा चलेको यो गीत खासमा उनले माघमा रेकर्ड गराएका थिए, फागुनमा तयार गरेका थिए र वैशाखमा रिलिज गर्ने सोचेका थिए । तर सोचेजस्तो भइदिएन । किनभने गीतको भिडियो बनाउन उनीसँग पैसा थिएन । त्यही पैसा जोरजाम गर्न केही समय लाग्यो ।

पछि पैसा जोरजाम गरेपछि उनले दुई वटा गीत एकसाथ सुटिङ गरे । एउटा रातमा, अर्को दिनमा । एउटा थियो, बतासे पानी । अर्को थियो, भकारीका धान । यसमा भकारीका धानले बाजी मार्‍यो । उनले सोचेका पनि थिएनन्, सोसल मिडियामा यतिविध्न चल्छ भनेर । तर चलिदियो । किनभने संयोगले यो गीत तीजको छेकोमा सार्वजनिक भयो ।

राजकुमार सही भन्छन्, ‘कुनैपनि गीत हिट हुन्छ भनेर गाइएको हुँदैन । हिट हुनु एउटा दुर्घटना हो । कुन गीत, कहिले र कसरी ह्वात्तै मन पराइन्छ ? भेउ पाउन सकिँदैन ।’ यो गीत तयार गरिरहँदा उनले पनि भेउ पाएकै थिएनन् ।

एक प्रसंगमा राजकुमारले भकारीको धान गीत कसरी रचना भयो भनी सुनाएका छन् । उनका अनुसार गाउँमा एक जना बादुरे नामका मामा थिए । उनकी श्रीमती बसी । तीजको बेला थियो । श्रीमती बसीले भकारीबाट धान लगेर आँगनमा सुकाइन् । लगत्तै पानी पर्न थाल्यो । पानी परेपछि आँटीमा लगेर राखिन् । त्यहाँ सुकाउँदा रात पर्‍यो । बिहान उठेर हेर्दा धान थिएन । चोरले लगिसकेछ ।

अनि गीत बन्यो, यसरी –
‘भकारीमा धान छ, धान सुकाउ आटीमा
आटीमा धान सुकाउनले चोर पस्यो रातिमा
मेरा बादुरे
झिक्छु सुकाउँछु मेरा बादुरे ।’

यो गीत गाउन गला माझिरहनुपर्दैन । स्वरयन्त्रलाई आरोह–अवरोहमा पुर्‍याउनु पर्दैन । स्वर सुरिलो र भाका मधुर हुनु पनि जरुरी छैन । तपाईं यति सजिलै गाउन सक्नुहुन्छ मानौं कसैसँग कुनै कुरा भनिरहनुभएको छ, ‘भकारीका धान मेरा बादुरे …झिक्छु सुकाउँछु मेरा बादुरे ।’

यही सजिलोको कारण पनि यो गीत धेरैको मुख मुखमा झुन्डिएको हुनुपर्छ । अर्को चाहिँ यसको अनौठो भाका, जुन झट्ट सुन्दा गीत गाएजस्तो पनि ठट्टा गरेजस्तो लाग्छ ।

तेस्रो कुरा, गीतले जोडेको सन्दर्भ पनि रमाइलो छ । भकारीको धानको कुरा त गरिन्छ । तर, झिक्छु र सुकाउँछु किन भनिएको हो ? बादुरे कसलाई भनिएको हो ? यस्तै उत्सुकताले पनि धेरैलाई तानेको हुनुपर्छ ।

जे भएपनि यो गीतमा नाच्नका लागि खुट्टा उचालेर बस्नेको जमात कम्ता छैन ।

लेखक
शिव मुखिया

शिव मुखिया अनलाइनखबर डटकमका कला तथा जीवनशैली ब्युरो संयोजक हुन् । उनी समाज, जीवनशैली र कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?