+
+
Shares
विचार :

तीजलाई तोड्ने होइन, पुनर्व्याख्या गर्ने समय

तीज साँच्चै महिलालाई श्रीमान्‌को दीर्घायुका लागि व्रत बसाउने पर्व मात्र हो ? कि हामीले तीजभित्रै लुकेको महिलाको रोजाइ, विद्रोह, भगिनी सम्बन्धको विस्तार र अभिव्यक्तिको सम्भावना पढ्नै सकेनौं ?

मालती मास्के मालती मास्के
२०८३ भदौ २९ गते ८:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लेखमा तीजलाई पितृसत्तात्मक संस्कार मात्र नभई महिलाको रोजाइ, भगिनी सम्बन्ध र सामूहिक आवाजको पर्वका रूपमा पुनःअर्थ्याउनुपर्ने भनिएको छ।
  • पार्वतीले शिवलाई जीवनसाथीका रूपमा रोज्न चाहेर तपस्या र सङ्घर्ष गरेको कथालाई महिलाको जीवनसाथी रोज्ने अधिकारसँग जोडिएको छ।
  • तीजका गीतलाई महिलाको मौखिक इतिहास, व्यक्तिगत पीडा र सामाजिक दबाबलाई सामूहिक भाषामा ल्याउने माध्यमका रूपमा व्याख्या गरिएको छ।

हरेक वर्ष तीज आउँछ। रातो सारी, पोते, चुरा, टीका र दरका तस्बिर सामाजिक सञ्जालमा छाउँछन्। बजारले तीजका लागि नयाँ कपडा, गहना, सौन्दर्य सामग्रीदेखि महँगा भोजसम्म बेच्न थाल्छ। टेलिभिजनमा तीजका गीत बज्छन्। सामाजिक सञ्जालमा शुभकामनाको ओइरो लाग्छ।

तर यी सबै चमकबीच एउटा प्रश्न भने हराउँदै गएको छ– तीजको अर्थ आखिर कसले निर्धारण गरिरहेको छ ? पितृसत्ताले, बजारले कि स्वयं महिलाले ?

तीजलाई हेर्ने हाम्रो दृष्टि प्रायः दुई ध्रुवमा बाँडिएको छ। एकातिर यसलाई ‘महिलालाई श्रीमान्‌को जीवनसँग बाँध्ने पितृसत्तात्मक संस्कार’ का रूपमा आलोचना गरिन्छ। अर्कोतिर यसलाई परम्परा, संस्कृति र धार्मिक आस्थाका नाममा जस्ताको तस्तै स्वीकार गरिन्छ। तर यी दुई दृष्टिकोणबीच एउटा तेस्रो सम्भावना पनि छ– तीजलाई महिलाको आफ्नै इतिहास, आवाज, रोजाइ र सामूहिकताको सांस्कृतिक पर्वका रूपमा पुनः पढ्ने सम्भावना।

तीजमा आउने पार्वतीको कथालाई हामीले ‘शिव प्राप्तिका लागि बसेको व्रत’ का रूपमा मात्र लिएका छौं। तर त्यो व्रतभन्दा पनि ‘रोज्ने (आफ्नो जीवनसाथी छान्न पाउने अधिकार)’ थियो भन्ने कुरालाई हामीले जोड्नै सकेनौं।

यस पौराणिक कथाअनुसार पार्वतीले शिवलाई आफ्नो जीवनसाथीका रूपमा रोज्न चाहिन्। तर उनको इच्छा सहजै स्वीकार भएको कथा होइन। उनले आफ्नो इच्छाका लागि तपस्या गरिन्, सङ्घर्ष गरिन् र अन्ततः आफ्नो रोजाइ प्राप्त गरिन्।

तीजलाई पितृसत्ताको प्रतीक मात्र होइन, महिलाको रोजाइ, भगिनी सम्बन्ध र आवाज पुनर्व्याख्या गर्ने अवसरका रूपमा पनि पढिनुपर्छ।

आज हामी पार्वतीलाई प्रायः शिवकी पत्नीका रूपमा सम्झन्छौं। तर उनको कथालाई अर्को कोणबाट पढ्ने हो भने– उनी आफ्नो जीवनसाथी आफैं रोज्न चाहने महिला पनि हुन्। त्यसैले यहीँ तीजको एउटा नारीवादी पाठ भेटिन्छ।

नेपालमा आज पनि महिलाको विवाहसम्बन्धी निर्णय पूर्णतः स्वतन्त्र छैन। जात, वर्ण, परिवार, धर्म, सम्पत्ति, सामाजिक प्रतिष्ठा र इज्जतका नाममा महिलाको आफ्नो जीवनसाथी छान्ने अधिकार नियन्त्रण गरिने अवस्था अझै छ।

प्रेमविवाह गर्ने महिलाले परिवारसँग सङ्घर्ष गर्नुपर्ने, अन्तरजातीय विवाह गर्ने महिलाले सामाजिक दबाब झेल्नुपर्ने र आफ्नै जीवनबारे निर्णय गर्दा परिवारको सम्मान सम्झनुपर्ने अवस्था हाम्रो समाजमा नयाँ होइन।

त्यसैले पार्वतीको कथालाई केवल ‘शिव पाउन गरिएको तपस्या’ का रूपमा पढिरहनुको सट्टा एउटा प्रश्न गर्न सकिन्छ– के यो कथा महिलाले आफ्नो जीवनसाथी रोज्ने अधिकारको सांस्कृतिक विद्रोह पनि हुन सक्छ ? यो प्रश्न आफैंमा नारीवादी बहसको सुरुआत हुन सक्छ।

भगिनी सम्बन्धको सांस्कृतिक अभ्यास

तीजको अर्को महत्त्वपूर्ण पक्ष महिला माइतीघर आउने परम्परागत संस्कृति हो।

पितृसत्तात्मक परिवार संरचनामा विवाहपछि महिला प्रायः आफ्नो जन्मघरबाट टाढा हुन्छिन्। नयाँ घर, नयाँ सम्बन्ध, नयाँ भूमिका र अनेक अपेक्षाबीच उनले आफ्नो पुरानो संसारसँगको दूरी बनाउँदै जानुपर्छ। यो आजको व्यस्त दैनिकीमा उत्तिकै अपरिहार्य छ।

पहिलाका महिला र अहिलेका महिला दुवैको व्यस्तताका कारण चाहेको समयमा माइती जाने मौका जुर्दैन। साथै मिले पनि आफ्ना पुराना साथीसङ्गीसँगको मिलन प्रायः असम्भव हुन्छ। त्यसका लागि पनि तीज एउटा मिलनको पर्व हो। यो चाडमा महिलाहरू आफ्ना दिदीबहिनीहरूसँग भेटिन्छन्। बाल्यकालका साथीहरू भेटिन्छन्। पुराना स्मृतिमा फर्किन्छन्। आफूलाई बुझ्ने मानिसहरूसँग खुलेर बोल्ने ठाउँ बन्छ।

जुन अहिलेको मानसिक स्वास्थ्यमा देखिएको समस्या समाधानको एउटा गतिलो उपाय हुन सक्छ। त्यसैले यसलाई ‘केवल माइती जाने चलन’ भनेर बेवास्ता गर्नु ठीक होला त ? सायद होइन, यसलाई भगिनी सम्बन्धको अथवा महिलाको स्वायत्तताको सांस्कृतिक अभ्यासका रूपमा पढ्न सकिन्छ।

किनकि महिलाको जीवनमा भावनात्मक सहारा दिने महिला सम्बन्धहरूको महत्त्व अत्यन्त ठूलो हुन्छ। पितृसत्ताले महिलाहरूलाई एकअर्कासँग प्रतिस्पर्धा गराउने, सासू–बुहारी, नन्द–भाउजू, जेठानी–देउरानीका सम्बन्धलाई शक्तिसङ्घर्षमा रूपान्तरण गर्ने धेरै अभ्यास बनाएको छ। तर तीजले कम्तीमा केही समयका लागि महिलालाई फेरि महिलाकै बीचमा फर्काउँछ। त्यहाँ उनीहरू श्रीमती, बुहारी वा आमाको भूमिकाबाट बाहिरिएर फेरि छोरी, दिदी, बहिनी र साथी बन्न सक्छन्।

यो पक्षलाई नारीवादी विमर्शले अझ गहिरोसँग समात्न सक्छ।

व्यक्तिगत नै राजनीतिक हो

तीजमा गाउने गीतको पनि आफ्नै मौखिक इतिहास छ। तीजको सबैभन्दा शक्तिशाली पक्षमध्ये एउटा हो– गीत। पहिले–पहिले महिलाहरूले बोल्न पाउँदैनथे। तीजमा उनीहरूलाई गाउन र नाच्न छुट थियो। उनीहरूले गीतमार्फत आफ्ना दुःख र पीडाहरू पोखे। श्रीमान्‌को व्यवहारको गुनासो गरे। सासू–ससुराको व्यवहार सुनाए।

गरिबी, माइतीको सम्झना, वैवाहिक पीडा, सामाजिक विभेद, हिंसा र आफ्ना आकाङ्क्षा व्यक्त गरे। जुन कुरा परिवारमा प्रत्यक्ष भन्न सम्भव थिएन, गीतमार्फत भनियो। जुन पीडा व्यक्तिगत थियो, त्यो सामूहिक बन्यो। यहाँ नारीवादी सिद्धान्तको एउटा महत्त्वपूर्ण अवधारणा ‘पर्सनल इज पोलिटिकल’ (व्यक्तिगत नै राजनीतिक हो) को व्यावहारिक रूप भेटिन्छ।

महिलाको व्यक्तिगत पीडा वास्तवमा केवल व्यक्तिगत हुँदैन। एउटी महिलाले भोगेको हिंसा, अर्को महिलाले भोगेको नियन्त्रण, अर्को महिलाले भोगेको आर्थिक निर्भरता र अर्की महिलाले भोगेको सामाजिक दबाब : यी सबै फरक–फरक कथाजस्तो देखिए पनि एउटै संरचनासँग जोडिएका हुन सक्छन्।

तीजका गीतहरूले ती व्यक्तिगत अनुभवलाई सामूहिक भाषामा ल्याएका छन्। त्यसैले तीजका गीत महिलाको मौखिक इतिहास पनि हुन्।

आज हामी ‘फेमिनिस्ट रिसर्च’ मा ‘विमेन्स न्यारेटिभ्स’, ‘ओरल हिस्ट्री’ र ‘लिभ्ड एक्सपिरियन्सेस’ को कुरा गर्छौं। तर हाम्रा आमाहरू र हजुरआमाहरूले वर्षौंदेखि गीतमार्फत आफ्नो ‘लिभ्ड एक्सपिरियन्स’ अभिलेख गरिरहेका थिए। हामीले त्यसलाई कति गम्भीरतापूर्वक पढ्यौं र तिनीहरूको संरक्षण गरिरहेका छौं त ?

नारीवादी आन्दोलनले तीजलाई अस्वीकार मात्र गर्ने कि पुनर्व्याख्या गर्ने ?

यहाँ नारीवादी आन्दोलनतर्फ पनि एउटा आत्मालोचनात्मक प्रश्न आवश्यक छ।

तीजभित्रका पितृसत्तात्मक पक्षको आलोचना गर्नु आवश्यक छ। महिलाको स्वास्थ्यलाई जोखिममा पार्ने अत्यधिक उपवास, श्रीमान्‌को जीवनसँग महिलाको जीवनको मूल्य जोड्ने सोच, धार्मिक कर्तव्यका नाममा महिलामाथि थोपारिने दबाब– यी सबैमा प्रश्न उठाउनैपर्छ।

तर आलोचना गर्नु र अस्वीकार गर्नु एउटै कुरा होइन।

हामीले तीजमा व्रत धेरै देख्यौं। अब त्यसभित्रको विद्रोह देखौं। हामीले शिवलाई धेरै सम्झियौं। अब पार्वतीको रोजाइ पनि सम्झौं। हामीले महिलाको त्यागको कथा धेरै सुनायौं। अब महिलाको निर्णय, स्वतन्त्रता र आवाजको कथा सुनाऔं।

यदि कुनै सांस्कृतिक अभ्यासमा महिलाको ठूलो सहभागिता छ भने त्यसलाई महिलावादी एजेन्डाबाट बाहिर धकेल्नुको सट्टा त्यसैभित्रबाट नयाँ अर्थ निर्माण गर्न सकिन्छ।

हामीले तीजमा पति देख्यौं, तर पार्वतीको रोजाइ देख्यौं कि देखेनौं ? हामीले व्रत देख्यौं, तर महिलाको सामूहिक आवाज सुन्यौं कि सुनेनौं ? हामीले रातो सारी देख्यौं, तर ती सारीभित्र लुकेका जीवनका कथाहरू पढ्यौं कि पढेनौं ?

हामीले दर देख्यौं, तर त्यस टेबलवरिपरि बसेका महिलाबीच बनेको ऐक्यबद्धता देख्यौं कि देखेनौं ? नारीवादी आन्दोलनका लागि तीजलाई बहसको महत्त्वपूर्ण सांस्कृतिक स्थल बनाउने ठूलो सम्भावना अझै छ।

बजारले तीजलाई हामीभन्दा छिटो पढ्यो

विडम्बना के छ भने बजारले तीजको सम्भावना हामीभन्दा छिटो बुझ्यो।

महिलाको भावना, पहिचान र सामूहिकताको शक्तिलाई बजारले उपभोगमा रूपान्तरण गर्‍यो। तीज अब कपडा, गहना, मेकअप, रेस्टुरेन्ट, पार्टी, फोटोसुट र सामाजिक सञ्जालको प्रदर्शनसँग जोडिँदै गएको छ।

महिलाको सांस्कृतिक उत्सवलाई बजारले आफ्नो बिक्री रणनीतिको हिस्सा बनाइसकेको छ। तर हामीले त्यसलाई ‘फेमिनिस्ट पोलिटिक्स’ (नारीवादी राजनीति) को हिस्सा बनाउन कति सकेका छौं ?

यही एउटा ठूलो अवसर छुटिरहेको छ।

यदि बजारले महिलालाई उपभोक्ता बनाउन तीज प्रयोग गर्न सक्छ भने नारीवादी आन्दोलनले महिलालाई नागरिक, निर्णयकर्ता, अधिकारसम्पन्न व्यक्ति र परिवर्तनकारी शक्तिका रूपमा स्थापित गर्न तीज प्रयोग किन गर्न नसक्ने ?

तीजका गीतमा महिलाको सम्पत्तिमाथिको अधिकारबारे कुरा हुन सक्छ। विवाहमा आफ्नो रोजाइको अधिकारबारे कुरा हुन सक्छ। घरेलु हिंसा, मानसिक स्वास्थ्य, आर्थिक स्वतन्त्रता, प्रजनन अधिकार, समान ज्याला, राजनीतिक सहभागिता र नेतृत्वबारे कुरा हुन सक्छ। माइतीमा भेटिएका दिदीबहिनीबीच सामूहिक आर्थिक समूह बन्न सक्छ। तीजका कार्यक्रमहरूमा महिलाका स्थानीय अनुभवको संवाद हुन सक्छ। अर्थात्, तीजलाई परिवर्तन गर्न संस्कृति छाड्नुपर्दैन; संस्कृतिको अर्थ बदल्नुपर्छ। व्रतको अर्थ पनि बदल्न सकिन्छ।

श्रीमान्‌को दीर्घायुको कामना गर्ने महिलाको धार्मिक आस्थालाई अपमान गर्नु नारीवाद होइन। तर त्यही संस्कारमा एउटा नयाँ प्रश्न थप्नु भने नारीवाद हुन सक्छ : महिलाको आफ्नै दीर्घायुको कामना कहाँ छ ?

श्रीमान्‌को स्वास्थ्यका लागि व्रत बस्ने हो भने महिलाको स्वास्थ्य, सुरक्षा र सम्मानका लागि पनि किन सामूहिक प्रतिबद्धता नगर्ने ?

मेरो श्रीमान् दीर्घायु होऊन् सँगै, म पनि स्वस्थ, स्वतन्त्र र हिंसामुक्त जीवन बाँचूँ भन्ने अधिकार किन नजोड्ने ?

मेरो परिवार सुखी होस् सँगै, मेरो निर्णयको सम्मान होस् भन्ने आकाङ्क्षा किन नजोड्ने ?

यहीँबाट तीजको अर्थ विस्तार हुन सक्छ।

तीजलाई तोड्ने कि पुनः अर्थ्याउने ?

परम्परासँग असहमति राख्नु र परम्परालाई त्याग्नु एउटै कुरा होइन। हामीले आफ्नो संस्कृति अन्ध रूपमा स्वीकार गर्नु आवश्यक छैन। तर ‘संस्कृति महिलाको विरुद्धमा छ’ भन्दै सम्पूर्ण सांस्कृतिक अभ्यासलाई अस्वीकार गर्नु पनि परिवर्तनको एकमात्र बाटो होइन।

बरु प्रश्न गर्न सकिन्छ– यसमा महिलाका लागि के छ ? महिलाले यसलाई कसरी आफ्नो बनाउन सक्छिन् ? र, हामी यसलाई अझ न्यायपूर्ण कसरी बनाउन सक्छौं ?

तीजलाई ‘महिलाको व्रत’ बाट ‘महिलाको आवाज’ तर्फ लैजान सकिन्छ। पार्वतीलाई केवल शिवकी पत्नीका रूपमा होइन, आफ्नो निर्णयका लागि सङ्घर्ष गर्ने पात्रका रूपमा पढ्न सकिन्छ। माइती जाने परम्परालाई भगिनी सम्बन्ध, महिला स्वायत्तता र ऐक्यबद्धताको अवसर बनाउन सकिन्छ।

तीजका गीतलाई महिलाको मौखिक इतिहासका रूपमा दस्तावेजीकरण गर्न सकिन्छ। र, व्रतको अर्थलाई श्रीमान्‌को दीर्घायुबाट विस्तार गरेर महिलाको आफ्नै स्वास्थ्य, स्वतन्त्रता, सुरक्षा र सम्मानसम्म पुर्‍याउन सकिन्छ।

किनकि तीजको भविष्य केवल परम्पराले होइन, महिलाले त्यसलाई दिएको नयाँ अर्थले निर्धारण गर्नेछ। तीज महिलाले पुरुषका लागि बस्ने व्रतको पर्व मात्र होइन, महिलाले आफ्नै जीवनको अर्थ आफैं लेख्ने पर्व बन्न सक्छ।

किनकि अन्ततः प्रश्न तीज ‘मनाउने कि नमनाउने ?’ भन्ने होइन। प्रश्न ‘तीजको अर्थ कसले लेख्ने ?’ भन्ने हो।

यदि त्यो अर्थ पितृसत्ताले लेख्छ भने तीज महिलालाई श्रीमान्‌को जीवनसँग बाँध्ने पर्व बन्नेछ। यदि बजारले लेख्छ भने तीज महिलाको भावनालाई उपभोग्य वस्तुमा बदल्ने पर्व बन्नेछ। तर यदि महिलाले स्वयं आफ्नो अर्थ लेखिन् भने तीज ‘आफ्नो जीवनको निर्णय आफैं गर्न चाहने पार्वतीको कथा’ बन्न सक्छ। आफ्ना दिदीबहिनीबीच फर्किने महिलाको भगिनी सम्बन्ध र महिलाको स्वायत्तता बन्न सक्छ।

वर्षभरि दबाइएका आवाजहरू गीतमार्फत सार्वजनिक गर्ने ठाउँ बन्न सक्छ। र, व्यक्तिगत पीडालाई सामूहिक प्रश्नमा बदल्ने नारीवादी मञ्च बन्न सक्छ।

त्यसैले अब तीजलाई केवल तोड्ने होइन, पुनर्व्याख्या गर्ने समय हो।

हामीले तीजमा व्रत धेरै देख्यौं। अब त्यसभित्रको विद्रोह देखौं। हामीले शिवलाई धेरै सम्झियौं। अब पार्वतीको रोजाइ पनि सम्झौं। हामीले महिलाको त्यागको कथा धेरै सुनायौं। अब महिलाको निर्णय, स्वतन्त्रता र आवाजको कथा सुनाऔं।

किनकि तीजको भविष्य केवल परम्पराले होइन, महिलाले त्यसलाई दिएको नयाँ अर्थले निर्धारण गर्नेछ। तीज महिलाले पुरुषका लागि बस्ने व्रतको पर्व मात्र होइन, महिलाले आफ्नै जीवनको अर्थ आफैं लेख्ने पर्व बन्न सक्छ।

सम्पूर्णमा तीजको हार्दिक मङ्गलमय शुभकामना !

(अधिकारकर्मी मास्केसँगको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?