Comments Add Comment

यसरी भइरहेको छ नेपालीको उद्धार उडान (फोटो फिचर)

१६ असार, काठमाडौं । मंगलबार बिहान ६ बजेदेखि ९ बजेको बीचमा नेपाल एयरलाइन्सका चारवटै जहाज त्रिभुवन विमानस्थलमा अवतरण गरे ।

सोमबार साँझ विभिन्न चार वटा मुलुकमा गएका यी जहाजले एकै बिहान करीव ८ सय नेपाली नागरिकलाई काठमाडौं ल्याए । सोमबार बिहान कुवेत, दुबई, दोहा र क्वालालाम्पुरबाट नेपाल एयरलाइन्सका जहाजले घर फर्कने नेपाली लिएर काठमाडौं अवतरण गरेका हुन् ।

पूर्ण सुरक्षा प्रबन्ध र जहाजको नियमित सरसफाइ गरी सफलतापूर्वक उद्धार उडानको काम भइरहेको नेपाल एयरलाइन्सका अपरेशन विभाग प्रमुख दीपू ज्वार्चन बताउँछन् ।

सोमबार नेपाल एयरलाइन्सका दुई जहाज फेरि नेपालीको उद्धारका लागि साउदी अरबको रियाद र कतारको दोहा जानेछन् । यी जहाज मंगलबार साँझ गन्तब्यतर्फ जाने गरी उडान तालिका बनाइएको छ ।

मंगलबार नै बिहान हिमालय एयरलाइन्सको एक जहाज दमामबाट काठमाडौं आएको छ ।

नेपाल एयरलाइन्सको मात्र ६१ चार्टर्ड उडान

लकडाउन शुरु भएयता नेपाल एयरलाइन्सले मंगलबार बिहानसम्म ६१ चार्टर्ड उडान गरिसकेको छ । यी उडानका दौरान करीव १० हजार मानिसले सेवा लिइसकेका छन् । यो संख्या नेपालबाट विदेश गएका विदेशी नागरिकको समेत जोडेर हो ।

यसबीचमा नेपाल एयरलाइन्सबाट मात्र करीव २ लाख किलो कार्गो विदेश गएको छ । यसमा नेपाली कार्पेट, तरकारी तथा नेपालमा बनेका सामान छन् । यी चार्टर्ड उडानमा ७ सय २ जना ‘क्रु मेम्बर’को प्रयोग भएको छ । संसारका धेरैजसो वायुसेवा कम्पनी ग्राउन्डेड भएर बसेको समयमा कम्पनीबाट भएको उद्धार उडानलाई कम्पनीले सफल उडान मानेको छ ।

क्रु मेम्बरलाई कस्तो सुरक्षा ?

नेपाल एयरलाइन्सले यात्रुसँग प्रत्यक्ष सम्पर्कमा रहने चालक दलका सदस्यलाई पीपीईको व्यवस्था गरेको छ । उडानबाट फर्किसकेपछि क्रु मेम्बर सिधै घर जान भने पाउँदैनन् । उनीहरुलाई नेपाल एयरलाइन्सको समेत शेयर लगानी रहेको सोल्टी होटेलमा बस्ने व्यवस्था गरिएको छ । त्यहाँबाट उनीहरुलाई खटनपटनको व्यवस्था गरिएको छ ।

घर जानुअघि कोरोना परीक्षण गरेपछि मात्र जान पाउने व्यवस्था मिलाइएको छ । उद्धारमा खटिएका कुनै पनि क्रु मेम्बरका कारण उसको घर परिवारलाई जोखिम नहोस् भनेर पूर्ण सुरक्षा प्रबन्ध गरिएकव अपरेशन विभाग प्रमुख ज्वार्चनले बताए । उनका अनुसारु यात्रुलाई इनफ्लाइट खानासमेत प्याकिङ नै दिइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment