Comments Add Comment
परामर्श बैठकमा ओलीलाई नेताहरूको सुझाव :

पार्टी एकताबाट भाग्ने छुट छैन, स्थायी कमिटी स्थगित गरेर संवाद गर्नुस्

१७ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको परामर्श बैठकमा नेताहरूले दुई अध्यक्षबीच विश्वासको संकट देखिएको बताएका छन् । यसका लागि प्रोक्सी वार अन्त्य गरेर सम्वाद गर्नुको विकल्प नभएको उनीहरूले बताएका छन् ।

पार्टी नेतृत्वले राजीनामा मागेपछि प्रधानमन्त्री ओलीले आफू निकटका साथै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षका केही नेताहरूलाई बोलाएर छलफल गरेका थिए ।

बैठकमा ओलीले आफूलाई सबैतिरबाट आक्रमण भएको भन्दै सहयोग गर्न आग्रह गरेका थिए । नेताहरुले भने पार्टी एकता कायम राख्नुपर्नेमा जोड दिएका छन् ।

के भयो बालुवाटारको परामर्श बैठकमा ? स्थायी कमिटी सदस्य योगेश भट्टराईकै शब्दमा :

सबैलाई थाहा छ कि अहिले नेकपा स्थायी कमिटी बैठक चलिरहेको छ । यो बैठकमा केही कार्यसूची छन् र हिजोको बैठकमा यो कार्यसूचीबाहेक अहिले केही ज्वलन्त विषयमा छलफल भयो । त्यो छलफलका क्रममा मूलत पार्टीका दुई अध्यक्ष, वरिष्ठ नेताहरू र अरू स्थायी कमिटीका साथीहरूको बीचमा अलिकति आरोप प्रत्यारोप गर्ने काम भयो । यसले पार्टीलाई संवेदनशील पनि बनायो । देशभरका पार्टी सदस्यहरू स्तब्ध भए । हिजोको बैठकको सिन हेर्दा पार्टी आन्तरिक रुपमा निकै संकटमा छ भन्ने सहजै बुझिन्छ । यसको समाधान स्वयं पार्टीले नखोजी अरू कसैले गरिदिने होइन ।

सम्भवत: यही जिम्मेवारीलाई महसुस गर्दै अहिलेको संकट कसरी हल गर्ने भनेर प्रधानमन्त्री र पार्टी अध्यक्ष केपी ओलीले स्थायी कमिटीका सदस्यहरूलाई परामर्श गर्न बोलाउनुभयो । उहाँले पार्टीभित्र चुलिँदै गरेको समस्या, अन्तरविरोधलाई सविस्तार राख्नुभयो । कुनकुन नेताहरूका बीचमा कसरी छलफल हुँदै आएको छ भन्ने घटनाक्रम पनि राख्नुभयो ।

त्यसक्रममा सहभागी स्थायी कमिटी सदस्यहरूले पार्टी संकटमा छ तर ऐतिहासिक हिसाबले हामीले जुन जनमत पाएका छौं, त्यसको रक्षा गर्नुछ । पार्टी एकतालाई अझ सुदृढ गर्नुछ । यस्तो बेलामा नेताहरूको एकताले मात्र पार्टी एकतालाई सुदृढ गर्न सक्छ । त्यसैले हामीले उहाँलाई केही सुझाव दिएका छन् ।

पहिलो : अहिले जुन ब्लेम गेम, प्रोक्सी वार चलिरहेको छ, त्यसलाई अन्त्य गर्नुपर्छ ।

दोस्रो : घटनाक्रम हेदा पार्टीको उच्च नेतृत्व तहमा चरम विश्वासको संकट उत्पन्न भएको देखिन्छ । यसको समाधान पनि तपाईंहरूले आपसी सम्वादबाहेक अन्त्यत्र खोज्न सकिँदैन । त्यसेले पहिलो दुई अध्यक्षको बीचमा हार्दिक सम्बन्ध हुनुपर्छ । पार्टीको सचिवालयका सदस्यहरूबीच, स्थायी कमिटी र सिङ्गो केन्द्रीय कमिटी र पार्टी पङ्क्तिमा हार्दिकता विकास गर्नुपर्छ । त्यसका लागि पार्टी अध्यक्ष र प्रधानमन्त्रीको रूपमा तपाईंले ज्यादा पहल लिनुस् ।

तेस्रो : यति समस्या आइसकेपछि जारी स्थायी कमिटी बैठकमा उठेका मुद्दाहरूलाई पार्टी सचिवालयमा ल्याएर छलफल गर्नुस् । साझा धारणा, प्रस्ताव बनाउन सकिन्छ भनेर बनाएर ल्याउनुस् ।

चौथो : एकताबाट भाग्ने छुट कसैलाई पनि छैन । यसले दुर्घटना मात्र हुन्छ। त्यसैले अहिले उठेका समस्याहरू हल गर्दै नयाँ जगमा पार्टीलाई एकताबद्ध बजाउनुपर्‍यो । नेताहरूको बीचमा छलफल गर्नुपर्‍यो, विश्वास कायम हुनुपर्‍यो । पार्टी र सरकारको बीचमा समन्वयात्मक सम्बन्ध स्थापित हुनुपर्‍यो । सरकारले पार्टीलाई सघाउनुपर्‍यो र पार्टीले सरकारको अपनत्व दिनुपर्‍यो।

हामीले प्रष्ट भनेका छौं, यो पार्टीको अघिल्लो पुस्ताले जे योगदान गरेको छ, त्यसको उच्च सम्मान पार्टीले गर्छ । तपाईंहरूले आउने पुस्तालाई यो पार्टी सकुशल हस्तान्तरण पनि गर्नुपर्छ । केपी ओली गोलघरमा झण्डै ६ वर्ष बस्नुभयो । तपाईंले मृत्युलाई जितेर आउनु भएको छ । प्रचण्ड कमरेड पनि जुन घरमा बस्नु भएको थियो, त्यसको पल्लो घरमा बम विस्फोट भयो । उहाँले पनि मृत्युलाई जितेर आउनु भएको छ ।

यति धेरै मृत्युलाई जितेर आउने नेताहरूले आजका सानातिना समस्या हल गर्न सक्दैनौं र हामी विभाजनतिर जान्छौं भन्नुभयो भने तपाईंहरूको योग्यतामाथि गम्भीर प्रश्न उठ्छ । तपाई‌ंहरूलाई कार्यकर्ता मात्र होइन, जनताले पनि प्रश्न उठाउँछन् र तपाईंहरूको जीवनपछि पनि इतिहासले लखेटिरहन्छ । त्यसैले यस्तो कदम नेकपालाई स्वीकार्य छैन । तपाईंहरू सचेत हुनुस्, सम्वाद गर्नुस् र समाधान खोज्नुस् । यसका लागि हाम्रो कुनै सहयोग चाहिन्छ भने कुनै पनि बेला तयार छौं । त्यसमा प्रधानमन्त्रीले सकारात्मक कुरा गर्नु भएको छ । आजको परामर्शले परिस्थिति सकारात्मक दिशामा मोडिन्छ भन्नेमा म आशावादी छु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment