Comments Add Comment

चन्दा संकलन गरेर किनेको पीसीआर मेसिन जडान, सरकारले खरिद गर्ने भनेको मेसिन अझै आएन

१८ असार, कैलाली । मुलुकभित्र र बाहिर रहेका नेपालीले चन्दा संकलन गरेर खरिद गरिएको पीसीआर मेसिन डडेल्धुरा अस्पतालमा जडान गरिएको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीश विष्टले बुधवार मेसिन जडान गरेर नमुना परीक्षण गरिएको र बिहीबारबाट नियमित परीक्षण सुरु हुने जानकारी दिए । हिँजो नमुना परीक्षण सफल भएको छ,उनले भने, ‘आजबाट नियमित परीक्षण सुरु हुन्छ ।

नागरिकले चन्दा संकलन गरेर खरिद गरेको पीसीआर मेसिनले दैनिक ९० जनाको कोरोना परीक्षण गर्न सक्ने विष्टले बताए ।

पीसीआर मेसिनको अभाव हुँदा यसअघि प्रदेशका सबै जिल्लाको स्वाब धनगढी पठाउने गरिएको थियो । धनगढीमा पनि चाप बढेपछि काठमाडौँ पठाउने गरिएको थियो । काठमाडौँमा स्वाब धेरै भएपछि रिपोर्ट आउन समय लाग्ने गरेकोमा अब डडेल्धुरामा अर्काे मेसिन थपिएपछि केही सहज हुने अपेक्षा गरिएको छ ।

अस्पतालका निमित्त मेसु विष्टले डडेल्धुरामा जडान गरिएको पीसीआर मेसिनले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा सहजता ल्याउने दाबी गरेका छन् । कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा यसले प्रत्यक्ष फाइदा पुराउँछ, उनले भने ।

करिब ९६ लाख रुपैयाँमा स्थापना भएको पीसीआर मेसिन खरिद गर्न ह्युमानिटी फाउन्डेसनले चन्दा संकलन गरेकोे थियो । जनताको चन्दा संकलन, संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको पहल र उनका स्वकीय सचिव हितेश ओझाको सक्रियताले डडेल्धुरामा पीसीआर मेसिन स्थापना भएको ह्युमानिटी फाउन्डेसनले जनाएको छ ।

सरकारले खरिद गर्ने भनेको मेसिन अझै आएन

नागरिकले चन्दा संकलन गरेर पीसीआर मेसिन खरिद गरे पनि प्रदेश सरकारले यसअघि नै खरिद गर्ने भनेको पीसीआर मेसिन अझै जडान हुन सकेको छैन ।

प्रदेश सरकारले प्रदेशका ३ स्थानमा पीसीआर मेसिन जडान गर्ने निर्णय गरेको थियो । तर, निर्णय भएको ३ महिला पुग्नै लाग्दा पनि अझैसम्म पीसीआर मेसिन आउन सकेको छैन ।

धनगढी, बैतडी र डोटीमा जडान गर्ने भनिएको पीसीआर मेसिन जडान नहुँदा परीक्षणको दायरा बढ्न सकेको छैन ।

गत चैत २५ गते धनगढीस्थित सेती प्रादेशिक अस्पताल तथा पहाडी जिल्लाहरूमा बैतडी र डोटीका जिल्ला अस्पतालमा प्रयोगशाला स्थापना गर्ने प्रदेश सरकारको निर्णय अलपत्र परेको छ । वैशाखभित्रै जडान गर्ने प्रतिबद्धता जनाएको सरकारले मध्य असारसम्म पनि जडान गर्न सकेको छैन ।

सरकारले निर्णय गरेको ३ महिनासम्म पनि उपकरण नपुग्दा समस्या भएको जिल्ला अस्पताल बैतडीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. वसन्त राज जोशीले बताए । मेसिन कहिले आउँछ भनेर कुरेर बसेका छौँ, उनले भने, ‘उपकरण नहुँदा बैतडीका मात्रै ४ सय बढीको नतिजा आउन बाँकी छ । यता डोटीबाट संकलन गरिएको २६ सय स्वाबमध्ये अझै ६ सय ८२ जनाको रिपोर्ट आउन बाँकी छ ।

पीसीआर मेसिन जडान नहुँदा संकलित स्वाबहरूको रिपोर्ट आउन पनि ढिलाइ भइरहेको हो । प्रदेश सरकारले डोटीमा पीसीआर मेसिन जडान गरे निकै सहज हुने  जिल्ला अस्पताल डोटीका मेसु डाक्टर ज्योति पाण्डेले बताइन् । अहिलेसम्म हामीलाई निकै समस्या परेको छ, उनले भनिन्, ‘आफ्नै जिल्लामा पीसीआर मेसिन जडान भयो भने परीक्षणको दायरा बढ्छ । रिपोर्ट पनि तत्काल सार्वजनिक गर्न सकिन्छ । यस्तो भयो भने कोरोनाको संक्रमणलाई नियन्त्रण गर्न सकिन्छ ।

सामाजिक विकास मन्त्रालयले भने मेसिन खरिदको प्रक्रिया अन्तिम चरणमा रहेको जनाएको छ । ३ वटा उपकरण खरिदको तयारी अन्तिम चरणमा पुगेको छ, सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य महाशाखा प्रमुख तथा प्रवक्ता नरेन्द्र सिंह कार्कीले भने, ‘सम्झौता भइसक्यो अब आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment