Comments Add Comment

सिराहाको विद्यालयमा आइसोलेसन, न चर्पी न पानी

१८ असार, वीरगञ्ज । आइसोलेसनमा राखेको १८ घन्टासम्म खाना र पानी नदिएको भन्दै सिराहाको चन्द्र माविस्थित आइसोलेसनका संक्रमितले ८ असारमा नाराबाजी गरे ।

बिहानको खाजा पिउने पानीसमेत नपाएको भन्दै उनीहरुले नाराबाजी गरेका थिए । आइसोलेसनमा रहेका ७२ जनामध्ये चार जना स्वास्थ्यकर्मी, एक जना चालक र अरु सर्वसाधारण छन् । ७२ मध्ये ६७ जनाको त दोस्रो रिपोर्ट नेगेटिभ आइसकेको छ ।

नाराबाजी गरेको १० दिन बित्दा पनि अवस्थामा सुधार नभएको उनीहरुको गुनासो छ । कुनै अपराध गरेर बसेको जस्तो भान भएको एक संक्रमित बताउँछन् । ‘विरोध गरेपछि खानेकुरामा थोरै सुधार आयो । तर रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुराको प्रबन्ध हुन सकेन’ एक संक्रमितले भने ।

एउटा कोठामा ६ जनाको दरले राखिएको छ । आफ्नो कोठामा चार वटा पंखा भए पनि तीनवटा खराब रहेको अर्का एक संक्रमितले बताए ।

आइसोलेसनमा संक्रमित स्वास्थ्यकर्मीलाई छुट्टै राखिएको छ । उनीहरु र आफूहरुले पाउने सुविधा फरक रहेको संक्रमितहरु बताउँछन् । ‘स्वास्थ्यकर्मीलाई मिनरल वाटर र फलफुल दिन्छन्, हामीकँहा आउँदैन’ एक संक्रमितले गुनासो गरे ।

एउटा कोठामा ६ जनाका लागि एउटा बाल्टी र जग छ, सबैले त्यही प्रयोग गर्नुपर्छ । आफूहरुले घरबाट खानेकुरा र पानी तताउन हिटर मगाएको उनले बताए । ‘संक्रमितले तातोपानी खानुपर्छ भनिन्छ, यहाँ त्यस्तो कुनै व्यवस्था छैन, दुई जना साथीले घरबाट हिटर मगाएको छ, त्यसैमा पानी तताएर पिउने गरेका छौं’ उनले भने ।

आइसोलेसन व्यवस्थापन गरिरहेको सिराहा अस्पतालले व्यवस्थापनमा बाथरुम र शौचालयबाहेक अरु समस्या नभएको दावी गरेको छ । अस्पतालका प्रमुख डा. नागेन्द्र यादव भन्छन् ‘सरकारले बनाएको गाइडलाइनमा ट्वाइलेट, बाथरुम छुट्टाछुट्टै हुनुपर्छ भनेको छ तर हामीसँग त्यस्तो व्यवस्था थिएन, फलफुल सिजन अनुसारको दिएका छौं, अण्डा र दुध पनि दिइरहेका छौं ।’

७२ जना संक्रमितमध्ये ६७ जनाको दोस्रो रिपोर्ट नेगेटिभ आएको छ भने तेस्रो पटक परीक्षणका लागि स्वाब संकलन गरिएको छ । उनीहरुको डिस्चार्जका लागि तेस्रो रिपोर्ट पर्खिएको डा. यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment