Comments Add Comment

प्रधानमन्त्री शीतलनिवासबाट फर्किए, बालुवाटारमा मन्त्रीहरुसँग छलफल

२० असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार शीतलनिवास पुगेर राष्ट्रपतिसँग भेटवार्ता गरेका छन् । राष्ट्रपतिसँगको भेटपछि बालुवाटारमा मन्त्री र राज्यमन्त्रीहरुसँग प्रधानमन्त्रीले छलफल गरेका छन् ।

प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँग के विषयमा कुराकानी गरे भन्ने खुलेको छैन ।  साथै मन्त्रीहरुलाई बालुवाटार बोलाउनुको कारण स्पष्ट नहुँदा पार्टीभित्र र बाहिर अनेक अड्कलबाजी भएका छन् ।

नेकपा नेताहरुका अनुसार शनिबार अपरान्ह ४ बजे बालुवाटारमा ओली र प्रचण्डवीच छलफल गर्ने कार्यसूची तय भएको थियो । दुई अध्यक्षको भेटपछि खुमलटारमा प्रचण्ड-माधव पक्षीय सचिवालय सदस्यहरुको छलफल तय भएको थियो ।

तर, प्रचण्ड बालुवाटार जान नभ्याउँदै प्रधानमन्त्री ओलीले आफू शीतलनिवास जान लागेकाले आज छलफल गर्न नभ्याइने खबर  प्रचण्डलाई पठाए । साथै मन्त्रीहरुलाई साँझ ७ बजे बालुवाटार बोलाइएको खबर पनि सँगसँगै बाहिरियो ।

प्रधानमन्त्री शीतलनिवास जान लागेको खबर पाएलगत्तै खुमलटारमा सचिवालयका ६ जना नेताहरु भेला भए । कतिपयले प्रधानमन्त्री ओली राजीनामा दिनका लागि शीतलनिवास गएको आशंका गरे भने केहीले अध्यादेश जारी गर्न वा संकटकाल लगाउन पो प्रधानमन्त्री शीतल निवास जान लागेका हुन् कि भन्ने आशंका गरे ।

तर, शनिबार साँझ प्रधानमन्त्रीले बोलाएर बालुवाटारमा पुगेका मनत्रीहरुका अनुसार त्यहाँ प्रधानमन्त्रीले कुनै गम्भीर प्रस्ताव ल्याएका छैनन् । सामान्य विषयहरुमा छलफल जारी छ ।

शीतलनिवासमा पनि प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँग सामान्य राजनीतिक विषयमा छलफल गरेको स्रोतले बतायो ।

पछिल्लो समय नेकपामा चर्किएको अन्तरविरोधका कारणमा एकअर्कावीच आंशका र अविश्वास बढ्दै गएको छ । प्रधानमन्त्री र अध्यक्ष दुबै पद नछाड्ने अडानमा रहेका प्रधानमन्त्री ओलीले अध्यादेश जारी गरेर दल विभाजन गर्ने पो हुन् कि भन्ने आशंका पार्टीभित्रको अर्को पक्षमा बढेको छ ।

प्रधानमनत्री ओलीले सहमतिमा आउन नमानेपछि स्थायी कमिटीको बैठक सोमबार सम्म स्थगन गरिएको छ । बैठक रोकेर शनिबार ओली-प्रचण्डवीच छलफल गर्ने भनिए पनि प्रधानमन्त्रीले त्यसलाई टारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment