
२२ असार, काठमाडौं । अस्ट्रेलियामा चिनियाँ भिडियो एप टिकटकमाथि प्रतिबन्ध लगाउनुपर्ने माग उठेको छ । टिकटकमा मानिसहरूको व्यक्तिगत डेटाहरूको सुरक्षा नहुने भन्दै यो एपमाथि प्रतिबन्धको लागि आवाज उठेको हो । चिनियाँ कम्पनी बाइटडान्सको यो एप अस्ट्रेलियामा १६ लाखभन्दा धेरै मानिसले प्रयोग गर्छन् ।
स्थानीय सञ्चारमाध्यमहरूका अनुसार अहिले अधिकारीहरूले नै मानिसहरूबाट प्रतिबन्ध लगाउनुपर्ने दबाबको सामना गरिरहेको एक सांसदले बताएका छन्। यसैबीच सरकारले पनि डेटा सुरक्षाको विषयमा टिकटकसँग सोधपुछ गर्ने बताएको छ । टिकटकले प्रत्यक्ष रूपमा डेटाहरू चीन सरकारलाई बुझाउने गरेको आरोप लाग्दै आएको छ । अघिकारीहरूले भने टिकटकले अस्ट्रेलियाको नियम तथा कानुनको पालना गर्ने र अस्ट्रेलियाको डेटाहरूको सुरक्षाको प्रतिबद्धता पनि पालना गर्ने विश्वास व्यक्त गरेका छन् ।
समाचारमा उल्लेख गरिएअनुसार अस्ट्रेलियाको रक्षा बलले पनि यस वर्षको सुरुमा सुरक्षासँग सम्बन्धित कुनै पनि एपको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
भारतले टिकटकलाई डेटा सुरक्षाको कारण देखाउँदै प्रतिबन्धको निर्णय गरेसँगै अस्ट्रेलियामा पनि यो एपको विषयमा प्रतिबन्धको आवाज उठेको हो । कोरोना भाइरसको महामारी सुरु भएपछि चीन र अस्ट्रेलियाको सम्बन्ध पनि चिसिएको छ ।
प्रतिक्रिया 4