Comments Add Comment

रुपन्देहीमा चल्न थाल्यो सार्वजनिक बस

२८ असार, बुटवल । रुपन्देहीमा आइतबारदेखि सार्वजिनक बस सञ्चालनमा आएको छ । लकडाउन सुरु भएपछि साढे तीन महिनासम्म ठप्प सार्वजनिक बस रुपन्देहीमा पहिलोपटक लुम्बिनी मेट्रोसिटी प्रालिले सुरु गरेको हो । आइतबार बिहान बुटवलको गोलपार्कबाट भैरहवासम्म ४६ सिटे वातानुकलित बसहरु चल्न थालेका हुन् ।

सरकारले तोकेका स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर प्रालिले दैनिक ८ वटा वातानुकूलित बस आधा घण्टाको फरकमा चलाउन थालेको प्रालिका अध्यक्ष धनबहादुर अधिकारीले बताए ।

‘बसका सहचालकलाई व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) र थर्मल गनको व्यवस्था गरी यात्रुको ज्वरो नापेर, यात्रुलाई मास्क र सेनिटाइजर अनिवार्य गरी यातायात सेवा सुचारु गरिएको हो,’ प्रालिका अध्यक्ष अधिकारीले भने, ‘प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्रीसँग छलफल गरेर बर्दघाटसम्म पनि यातायात सञ्चालन गर्ने तयारी छ ।’

कन्ट्याक्ट ट्रेसिङ गर्न सजिलो होस् भनेर बसमा यात्रा गर्नेको नाम ठेगाना र मोबाइल नम्बर रजिस्टरमा टिपोट गरेर अनिवार्य राख्ने व्यवस्था समेत गरिएको छ । चलाउनुअघि बस पूर्णरुपमा डिसइन्फेक्सन गरिने, ४६ सिटे बसमा बढीमा २३ जना यात्रु मात्र राखेर सामाजिक दूरी कायम गरिने अधिकारीले बताए ।

विभिन्न माग राखेर नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले बस नचलाउने निर्णय गरेको अवस्थामा यात्रुको सुविधाका लागि आफूहरुले सेवा सुचारु गर्न थालेको प्रालिका सचिव चक्रपाणी भण्डारीले बताए ।

महासंघले सरकारसँग राखेका माग र शर्त नाजायज नभएपनि विश्वव्यापी कोरोना महामारीका कारण सरकार नै अप्ठेरोमा परेका बेला सरकारलाई सघाउ पुर्‍याउनु व्यवसायीको पनि दायित्व सम्झेर सेवा सुचारु गर्न थालिएको भण्डारीले बताए । ‘वातानुकूलित बस भएकाले बुटवल–भैरहवाको ९० रुपैयाँ र भैरहवा–बर्दघाटसम्मको भाडा दर २ सय १० रुपैयाँ भाडा लिने निर्णय गरेका छौं,’ उनले भने ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले सरकारले तोकेको मापदण्ड पूरा गरेर बस सञ्चालन गर्न उक्त प्रालिलाई स्वीकृति दिइएको बताए । ‘लामो समयसम्म बस नचलेको अवस्थामा सेवा सुचारु गर्नु राम्रो हो तर सरकारले तोकेका मापदण्ड पूरा गर्नुपर्छ,’ उनले भने ।

सार्वजनिक यातायात सेवा सुचारु भएपछि निजी सवारी साधन नहुने सर्वसाधारण लाभान्वित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment