तिनै बर-पीपल
जहाँ म
रहरको पिंङ बाँधी मच्चिन्थें
र
खुसीको आकास छुन्थें कुनै बेला !
चाहनेहरूले भन्थे-
ख्याल गरेस् है सान्नानी, चोट लाग्ला !
नचाहाहरूले भन्थे-
चिन्तेका बोझहरू धेरै छन्
एउटा घटे पनि बेसै हुन्थ्यो बिचरा !
त्यही चौतारोमा आज,
चाहने-नचाहने दुवैको
एउटै आवाज छ:
कसको हो, भन् खुरुक्क !
किन बोल्दिनस्, बोल् फटाफट !
कसको हो खासमा…?
सर्वस्व सुम्पेको प्रेमीको ?
विश्वास गरेको साथीको ?
भरोसाको टेको दिलाएको हाकिमको ?
चकलेट दिएर पुलपुल्याउने छिमेकी अंकलको ?
फुर्क्याउँदै ज्ञान दिने स्कूलका मास्टरको ?
वा
जन्म दिएर हुर्काएका आफ्नै बाबुको ?
बलात्कृत हुँदै गर्दा मेरो अस्तित्व
कहाँ थिए आज प्रश्न सोध्नेहरू सब ?!
लाग्दैछ,
कुन्ती बनी जवाफ फर्काऊँ-
कर्ण कसको थियो ?
पार्वती बनी प्रश्न तेर्स्याऊँ-
गजाधर कसको भयो ?
छोडेर मध्यरातमा गौतम हिँडिदिए
राहुल कसको रह्यो ?
दिएर यशोदालाई कंशबाट बचाए,
राधेश्याम कसको भयो ?
द्रौपदी बनी प्रश्न सोधूँ-
म कसकी हुँ ?
या
सीता बनी दावी गरुँ-
म धर्तीकी हुँ !
झुकिरहेको शिर जुरुक्क उठाई
सयौं आँखासँग दुई आँखा जुधाई
चिच्याएर भनिदिन्छु एकै सासमा आज-
यो मेरो हो, मात्र मेरो
मैले बोकेको पेट…
कसरी कसैको हुन्छ ?
मात्र मेरो हो !
बरले-पीपलले
बनले-पाखाले
चुलोले-चौकाले
कचहरीले-बैठकले
सुनुन् सबले मेरो
चचहुई एकैसाथ !
म जस्ता हजारौं मले
‘मेरो हो’ भनेर दावी गर्न नसक्नाले
‘बाको नाम आमाले बताइदिन पर्ने’ हरूले
हरेक दिन
चौतारा, अड्डा, अदालत र संसदमा
नागरिकता नामको कागजको आडमा
प्रश्न गरिरहन्छन् जननीलाई-
भन्, यो कसको हो ?!
अबदेखि
एउटै मात्र जवाफ दिने गर चेली हो-
जसले बोक्यो त्यसको हो
यो भारी मात्र मेरो हो !!!
(हाल जापान)