+
+
Shares

वर्षेनी बाढीको मारमा पर्ने भक्तपुरको एउटा अस्पताल

विश्वास खड्काथोकी विश्वास खड्काथोकी
२०७७ साउन २ गते २१:३९

२ साउन, काठमाडौं । भक्तपुर नगरपालिका-७, भिसेनस्थानको सिद्धि स्मृति महिला तथा बाल अस्पताल हरसाल बर्खा लागेसँगै बाढीको चपेटामा पर्छ । अन्धाधुन्ध सहरीकरणले अवरुद्ध हनुमन्ते खोलाले आफ्नो बर्खे स्वरूप देखाउन थालेपछि अस्पतालमा हाहाकार मच्चिहाल्छ ।

गैर-नाफामुखी संस्था सिद्धि स्मृति प्रतिष्ठानले एउटा कोठामा सुरु गरेको स्वास्थ्य केन्द्रले २०५४ सालमा अस्पतालको रूप लिएको थियो । अहिले ५० बेड क्षमता भएको यो अस्पतालमा १४ जना बाल रोग विशेषज्ञसहित २०० जनाले सेवा दिइरहेका छन् ।

२० भदौ २०७२ मा डुबानमा पर्दा डेढ करोड रुपैयाँ बराबरको क्षति भएको अस्पतालका निर्देशक डा. अनिल राजभण्डारी बताउँछन् । उनका अनुसार त्यो बेला बाढीको निकास थुनिँदा अस्पताल वरिपरि पूरा क्षेत्र डुबानमा परेको थियो ।

‘मानिसहरूले खोलाको बहाव क्षेत्र अतिक्रमण गरेर घरहरू बनाउनाले बर्खामा बाढी अट्न छाडेको छ”, डा. राजभण्डारी भन्छन्, ‘त्यसबेला पुल समेत भत्किएर खोला थुनिँदा बढी क्षति व्यहोर्ने हामी बन्यौं ।’

उनका अनुसार डुबानमा मानवीय क्षति नभए पनि अस्पतालको इमरजेन्सी, फार्मेसी र ओपीडीका सबै उपकरण ‘ड्यामेज’ भए । एक्सरे र अल्ट्रासाउण्ड मेसिन कामै नलाग्ने भए । भक्तपुरकै खरिबोटमा बालआश्रम खोलेको प्रतिष्ठानले यो अस्पताल हाताभित्र ६० बेडको वृद्धाश्रम पनि चलाएको छ । वृद्धवृद्धालाई हिँडडुल सहज होस् भने आश्रम भुइँतलामा राखिएको थियो ।

त्यसबेला वरिपरिका बासिन्दासमेत जुटेर वृद्धवृद्धालाई माथिल्लो तलामा उकालेको डा. राजभण्डारी सम्झन्छन् । उनी भन्छन्, ‘बाढीपछि अस्पताल सञ्चालन गर्न पूरा एक हप्ता लागेको थियो ।’

डुबानपछि अस्पतालले सकेसम्म सावधानी अपनाएको छ । जेठदेखि साउनसम्म वृद्धाश्रमलाई अर्को भवनको माथिल्लो तलामा सार्ने गरेको छ । भुइँतलामा सामानहरू मात्र राखिन्छ, त्यो पनि दुई फिट अग्लो टेको बनाएर ।

जेठ लागेपछि भुइँतलाको बाँकी भागमा तुरुन्त सार्न मिल्नेगरी अस्थायी सेवामात्र सञ्चालन गर्ने गरेको निर्देशक डा. राजभण्डारी बताउँछन् । २०७२ यता हरेक वर्ष अस्पतालले बाढीको मार खेप्नु परिरहेको छ ।

‘२०७५ सालमा छ फिट माथिसम्म बाढी आइपुग्यो । त्योबेला पनि धेरै उपकरण भिजेर ‘ड्यामेज’ भए’, उनी भन्छन्, ‘एक करोड ७० लाखभन्दा बढीको क्षति व्यहोर्नुपर्‍यो ।’

त्यतिबेला खोपका सबै सामान नष्ट भए । ओपीडीका धेरै सामान काम नलाग्ने भए । धन्न अल्ट्रा साउण्ड, एक्सरे मेसिन र स्टोरलाई चाहिँ माथिल्लो तलामा सारेकाले जोगिएको निर्देशक डा. राजभण्डारी बताउँछन् । त्यसबेला पनि डुबानपछि १५-२० शय्याबाट मात्र सेवा दिन सकेको बताउँदै उनले भने, ‘पूर्ण रूपमा सेवा दिन एक महिना लाग्यो ।’

उनका अनुसार डुबानले हुँदा ढल र प्लटिङ गरिएको माटो ल्याउँछ । पानीमात्रले भिजेको भए कतिपय सामान सुकाएपछि काम लाग्छ । तर ढल र माटोको लेदो परेको उपकरण बर्बादै हुन्छ ।

२०७५ को बाढीपछि अस्पतालले बाढी पस्ने भागतर्फ तटबन्धको काम गर्नेगरी पर्खाल लाउने योजना बनायो । नाफाविहीन सेवा दिने अस्पताल भएकाले स्वास्थ्य मन्त्रालयदेखि स्थानीय तहसम्मलाई आग्रह गरेको तर सुनुवाइ नभएपछि केही भागमा आफैंले पर्खाल लगाएको डा. राजभण्डारीले बताए ।

खोलातर्फ छ फिट अग्लो माटोको पर्खाल बनाइएको छ । सडकपटि्ट पनि पर्खाल लगाउने काम चलिरहेको छ । यो पर्खालले डरको मात्रा घटाएको बताउँदै डा. राजभण्डारी भन्छन्, ‘अब हामी ६० प्रतिशत कम जोखिममा छौं ।’

गत साता तीन दिन लगातार पानी पर्दा हनुमन्ते उर्लेर पर्खालसम्म आइपुगेको उनले बताए । ‘तर भित्र नपसेर बच्यौं’ उनी भन्छन्, ‘साउने र भदौरे झरी अझै बाँकी भएकोले त्रासबाट पूरै बाहिर निस्कन सकेका छैनौं ।’

पछिल्ला वर्षहरूमा झरीले पूरै भक्तपुरलाई त्रस्त पार्न थालेको छ । भक्तपुरका वडा नम्बर ५, ६, ७, ८ र ९ हनुमन्तेमा आउने बाढीको चपेटामा पर्न थालेको मेयर सुनिल प्रजापति बताउँछन् । उनका अनुसार वडा नम्बर १०, ६ र २ पनि बाढीबाट अछुतो छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?