
News Summary
Generated by OK AI. Editorially reviewed.- १८ र १९ असोजको अविरल वर्षापछि आएको बाढी र पहिरोले ६० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
- बाढीले दूषित खानेपानी र अव्यवस्थित बसोबासले संक्रामक रोगको जोखिम बढाएको जनस्वास्थ्यविद्हरूले बताएका छन्।
- सरकारले महामारी फैलिन सक्ने सम्भावना अनुसार तीनै तहका सरकारले चनाखो भएर काम अघि बढाउन निर्देशन दिएको छ।
२२ असोज, काठमाडौं । १८ र १९ असोजको अविरल वर्षापछिको बाढी र पहिरोले विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको छ ।
इलाम, पाँचथर, उदयपुर र रौतहट लगायतका जिल्लामा बाढी र पहिरोले घरहरू भत्किएका छन् । सडकहरू अवरुद्ध भएका छन् । कयौं मानिस विस्थापित भएका छन् ।
प्रारम्भिक विवरणअनुसार, १९ पुरुष, २६ महिला र १५ नाबालकसहित ६० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाममा ३७, पाँचथरमा ८, उदयपुरमा ३, खोटाङमा २, सुनसरीमा १, रौतहटमा ३, मोरङ, महोत्तरी, सिन्धुपाल्चोक र सिन्धुलीमा १-१ र काभ्रेमा २ जनाको मृत्यु भएको छ ।
तर, यो प्राकृतिक विपद्को असर यतिमै सीमित छैन । बाढीपछिको दूषित खानेपानी, फोहोर र अव्यवस्थित बसोबासले प्रभावित क्षेत्रहरूमा संक्रामक रोगको जोखिम उच्च हुन्छ ।
संक्रामक रोगको जोखिम
बाढीपछि संक्रामक रोगले महामारी फैलाउने जोखिम रहेको जनस्वास्थ्यविद्हरू बताउँछन् ।
बाढीपहिरो र डुबान प्रभावित क्षेत्रमा पानीका स्रोत प्रदूषित हुने भएकाले पानीजन्य रोगबाट जोगिन सर्तकता अपाउनुपर्ने हुन्छ । जनस्वास्थ्यविद् प्राकृतिक विपद्लगत्तै महामारीको जोखिम सधैं रहने भन्दै केही दिनभित्रै संक्रामक रोग फैलिने चेतावनी दिन्छन् ।
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन दूषित खानेपानी र खानेकुराका कारण प्रभावित क्षेत्र संक्रामक रोगको जोखिममा रहेको बताउँछन् ।
समयमै सतर्कता नअपनाउँदा आगामी एक महिनामा यी रोगहरूले महामारीको रूप लिन सक्ने डा. पुनको चेतावनी छ ।
बाढीका कारण पानीजन्य रोगहरू झाडापखाला, हैजा, टाइफाइड, डेंगु, लेप्टोस्पाइरोसिस, भाइरल हेपाटाइटिस र छालासम्बन्धी रोगहरू फैलिने जोखिम उच्च हुन्छ । यस्ता रोगहरू एक हप्ताभित्रै प्रकोपको रूपमा देखिन सक्छन् ।
‘पानीको मुहान दूषित हुँदा झाडापखाला, हैजा र टाइफाइड जस्ता रोगहरू सजिलै फैलिन्छन्,’ डा. पुन भन्छन् ।
बाढीले निम्त्याउने स्वास्थ्य संकट
जनस्वास्थ्य विशेषज्ञहरूका अनुसार, अव्यवस्थित शहरीकरण, उचित ढल निकासको अभाव र खानेपानी आपूर्ति प्रणालीको अपर्याप्तताले असुरक्षित पानीको प्रयोग गर्नुपर्ने बाध्यता छ ।
यस्तो परिस्थितिले संक्रामक रोगहरू फैलिन अनुकूल वातावरण सिर्जना गर्छ । जसको एक ज्वलन्त उदाहरण हो– पर्सामा फैलिएको हैजा ।
पर्सामा खानेपानी र ढल पाइप एकै ठाँउमा छ । ढलको दूषित पानी मिसिँदा एक महिनादेखि हैजा नियन्त्रण हुन सकेको छैन ।
चिकित्सकका अनुसार पानीजन्य रोगमा सबैभन्दा गम्भीर रूपमा हैजा देखा पर्छ । हैजाको ब्याक्टेरिया पनि संक्रमितको दिसाबाट पानीमा मिसिएर फैलने गर्छ ।
जनस्वास्थ्य विद् डा. बाबुराम मरासिनीले काठमाडौ लगायत देशका ठूला शहरमा ढल र खानेपानीको पाइप एकै ठाउँमा रहने समस्याले पानी प्रदूषित हुने सम्भावना बढाएको बताए ।
‘बाढीले फोहोर बगाएर ल्याउँछ । जसले गाउँ–गाउँका पानीका मुहान दूषित बनाउँछ । यस्तो अवस्थामा पानीजन्य र फोहोरजन्य रोगहरूको प्रकोप बढ्छ,’ डा. मरासिनी भन्छन् ।
बाढी आएसँगै खानेपानी प्रदूषित भई हैजाको जोखिम झन् बढाएको छ । डा. पुनले भने, ‘एक महिनादेखि पर्सामा हैजा नियन्त्रण हुन सकेको छैन । बाढी, डुबानले हैजा प्रकोप फैलिन सक्ने देखाएको छ ।’
हैजाका लक्षणमा लगातार पखाला, मांसपेसी बाउँडिने र बान्ता हुने समावेश छन् । यी लक्षणहरू सामान्यतया संक्रमण भएको १२ घण्टादेखि ५ दिनभित्र (प्रायः २–३ दिनमा) देखिन्छन् । बाढी प्रभावित क्षेत्रमा पिउने पानीको शुद्धीकरण र व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने विज्ञ बताउँछन् ।
यस्तै बाढीले गर्दा विभिन्न भागमा पानी जम्ने हुन्छ । यस्तो जमेको पानीमा लामखुट्टेले सहजै प्रजनन गर्नसक्ने भएकाले डेंगु रोगको जोखिम पनि बढाउँछ ।
बाढीले शहरका विभिन्न भागमा पानी जम्ने समस्या बढाएको छ। यस्तो जमेको पानीमा लामखुट्टेको प्रजनन सहज हुने भएकाले डेंगुको जोखिम बढेको छ ।
यो डेंगु फैलाउने लामखुट्टेको लागि अनुकूल वातावरण हो । यस वर्षको बर्खामा नै काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँमा गरी ५ हजारभन्दा बढी डेंगु संक्रमित भेटिएका छन् ।
बाढीले यो अवस्थालाई थप भयावह बनाउन सक्ने विज्ञहरूको चेतावनी छ ।
वर्षायामको समयमा थुप्रिने फोहोरले पानी दूषित गर्ने र त्यसको कारण सरुवाजन्य रोग फैलिन्छन् । बाढीमा फोहोरका जीवाणु हुन्छन्, जुन फैलिएर हावा तथा पानीको मुहान दूषित हुन्छ । जसले गर्दा खानेकुरा र श्वासप्रश्वासको माध्यमबाट शरीरमा संक्रमण फैलिन्छ ।
जनस्वास्थ्य विज्ञ डा. मरासिनीका अनुसार बाढी आएका बेला पानीको स्रोतमा विभिन्न किसिमका केमिकल र रसायन पदार्थहरू मिसिएका हुन्छन् । यसबाट झाडापखाला, टाइफाइड, जन्डिस जस्ता सरुवा रोगहरु मात्र नभई छालासम्बन्धी समस्या र केही नसर्ने रोगहरू पनि लाग्न सक्छ ।
बाढीपछिको अवस्थामा विशेषगरी लेप्टोस्पाइरोसिस रोगको जोखिम उच्च हुन्छ ।
लेप्टोस्पाइरोसिस ब्याक्टेरियाबाट सर्छ र प्रायः संक्रमित जनावरको पिसाबबाट दूषित पानी वा माटोको सम्पर्कमा आएर मानिसमा फैलिन्छ । डा. पुनका अनुसार, शरीरमा घाउ वा खुला छाला भएमा वा दूषित पानी पिएमा यो रोग छिट्टै सर्न सक्छ ।
डा. पुन भन्छन्, ‘शरीरमा घाउ भएमा, छाला काटिएर खुला वा संक्रमित पानी पिएमा संक्रमण मानिसमा छिट्टै फैलिन सक्छ । यो रोग बाढीपहिरो जाँदा फैलिने गरेको उदाहरण छन् ।’
नेपालमा भने यस्तो प्रकोपको पर्याप्त अनुसन्धान नभए पनि गर्मी सिजनमा केही बिरामीमा यो रोग देखिने गरेको छ । ज्वरो आउने, टाउको दुख्ने, आँखा रातो हुने, बिबिरा र जटिल अवस्थामा जण्डिस वा मिर्गौलामा समस्या देखिन सक्छ । लेप्टोस्पाइरोसिसको लक्षण सामान्यतया २ देखि ३० दिनमा देखा पर्छ ।
लेप्टोस्पाइरोसिसका लक्षणहरू टाइफाइडसँग मिल्दाजुल्दा हुन्छन् । ज्वरो आउने, टाउको दुख्ने, मांसपेसी र जोर्नी दुख्ने, आँखा रातो हुने, पेट दुख्ने, झाडापखाला र बिमिरा देखिने हुन्छ । यदि समयमै उपचार नभएमा यसले कलेजो, मिर्गौला र स्नायु प्रणालीमा गम्भीर असर पारी र मृत्युसमेत हुन्छ ।
टाइफाइड पनि बाढीपछिको प्रमुख स्वास्थ्य चुनौती हो ।
टाइफाइड दूषित पानी र खानेकुराबाट सर्छ । घर भत्किएका छन्, शौचालय छैनन् । ‘जहाँ पायो त्यहीँ खानेपानी प्रयोग गर्नुपर्ने बाध्यता हुन्छ । यस्तो अवस्थामा टाइफाइडको जोखिम झनै बढ्छ,’ डा. मरासिनी भन्छन् ।
ज्वरो आउनु, टाउको तथा पेट दुख्नु, वाक–वाक लाग्नु, कब्जियत वा पखाला लाग्नु र कसै–कसैलाई छालामा बिबिरा देखिनु टाइफाइडका प्रारम्भिक लक्षण हुन् ।
डा. पुनका अनुसार समयमा पहिचान र उपचार नगरिए आन्द्रामा प्वाल पर्ने, आन्द्रामा रक्तश्राप हुनेलगायत अरू अंगहरूमा पनि जटिलता देखिने गर्छ । जटिलता सामान्यतय लक्षण देखिन थालेको २–३ हप्तामा देखिन्छ । टाइफाइड संक्रमण भएको सामान्यतय ६ देखि ३० दिन भित्रमा लक्षण देखा पर्छ ।
यस्तै, छालाको संक्रमणले पनि बढी सताउने गर्छ । छालारोग विशेषज्ञ डा. प्रज्ज्वल पुडासैनीका अनुसार, वर्षायाममा ओसिलो वातावरण र भिजेका लुगा वा जुत्ताले ढुसीजन्य (फंगल) संक्रमणको जोखिम बढाउँछ । वर्षायाम दिनहुँ जस्तो पानी पर्दा जमिनको सतह ओसिलो भएको हुन्छ । जहाँ ढुसीहरू पलाउने र विकास हुने गर्छ । जमिनमा ओसिलोका कारणले मात्र नभई शरीर भिज्दा पनि ढुसी आउन सक्छ । पानीले भिजिरहने खुट्टा, जुत्ता र लुगा भिजे पनि नफेरी बस्ने, चिसै लुगा लगाउने गर्दा ढुसी शरीरमा फैलिन सक्छ ।
फंगल भनेको एक प्रकारको परजीवी (जीवाणु) हो । यो बासी, सडेगलेका खानेकुरा, कुहिएको वस्तु र ओसिलो क्षेत्र (भिजिराख्ने ठाउँ)मा सक्रिय हुन्छ ।
‘छाला चिलाउने, पोल्ने र बिमिरा आउने समस्याहरू वर्षायाममा बढ्छन् । फंगस ओसिलो ठाउँमा सक्रिय हुन्छ र छालामा टाँसिएर असर गर्छ,’ डा. पुडासैनी भन्छन् ।
विज्ञ भन्छन् : पानी र खानेकुरामा विशेष ध्यान दिऔं
बाढी, डुबान प्रभावित क्षेत्रमा स्वास्थ्य सेवालाई सुदृढ गर्न र संक्रामक रोग नियन्त्रणका लागि तत्काल कदम चाल्नुपर्ने विज्ञहरूको जोड छ ।
स्थानीय तह, स्वास्थ्य संस्था र सरकारी निकायहरूले समन्वय गरी स्वच्छ खानेपानीको व्यवस्था, फोहोर व्यवस्थापन र रोगको निगरानी गर्नुपर्ने विज्ञको सुझाव छ ।
जनस्वास्थ्यविद् डा. मरासिनीले स्वास्थ्य संस्था र स्थानीय तहले तुरुन्तै रोकथामका लागि समन्वयात्मक रूपमा काम गर्नुपर्ने बताउँछन् ।
उनी भन्छन्, ‘सरुवा रोग फैलन सक्ने सम्भावित ठाउँहरूको अध्ययन गरी तत्काल रोकथामको काम गर्नुपर्छ । स्थानीय तहले जनचेतनाको साथसाथै रोग नियन्त्रणका लागि सक्रियता साथ कदम चाल्दा रोग फैलिनबाट धेरै हदसम्म रोक्न सकिन्छ ।’
बाढीपछिको संकटले स्वास्थ्य प्रणालीमाथि ठूलो चुनौती थप्ने भन्दै समयमै उचित कदम चाल्न विज्ञको सुझाव छ ।
सरकारले विपद्पछि महामारी फैलिन सक्ने सम्भावना रहेको भन्दै यसका लागि तीनै तहका सरकारले चनाखो भएर काम अघि बढाउन निर्देशनसमेत दिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को मंगलबार पत्रकार सम्मलेन गर्दै महामारी फैलिन सक्ने सम्भावना रहेकोले सरकारको संयुक्त पहलमा संकट आउन नदिन आवश्यक काम अघि बढाउने जनाएको छ ।
बाढीपहिरो प्रभावित क्षेत्रमा महामारीजन्य रोग फैलन नदिन स्वच्छ खानेपानीको व्यवस्था, सम्भाव्य जोखिमयुक्त स्थानहरूमा जनचेतना, स्वास्थ्य शिविर, मनोसामाजिक परामर्श लगायतका कार्यक्रम गर्न आवश्यक हुन्छ ।
विज्ञहरू पानीजन्य रोगबाट बच्न स्वच्छ खानेपानी र ताजा खाद्य पदार्थको प्रयोग गर्न र सतर्कता अपनाउन सुझाव दिन्छन् । पानीजन्य रोगबाट बच्न शौचालयमा मात्रै दिसापिसाब गर्ने, शहरको बाहिरी फोहोर व्यवस्थापन उचित ठाउँमा गर्ने, दिसा र पिसाबपछि राम्रोसँग मिचिमिची साबुन पानीले हात धुने, खाना बनाउनुअघि साबुन पानीले हात धुने, पानी सधैं उमालेर खाने, काँचै खाने तरकारी तथा सलाद सफा पानीले धोइपखाली खानुपर्ने चिकित्सकको सुझाव छ ।
‘हात, खानेकुरा र पानी सफा राखेमा धेरैजसो सरुवा रोगबाट बच्न सकिन्छ । फोहोरबाट धेरै रोग सर्छ, त्यसैले सफा उमालेको पानी र ताजा खानेकुराको प्रयोग गर्नुपर्छ,’ डा. पुन भन्छन् ।
प्रतिक्रिया 4