
जेनजी आन्दोलनले ल्याएको राजनीतिक उथलपुथलपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने मुद्दाले यतिखेर सबैको ध्यान आकृष्ट गरेको छ । तर किटजन्य रोगहरूको बढ्दो आक्रमणका बारेमा ध्यान लगभग शून्य देखिन्छ ।
पछिल्लो समय डेंगु र स्क्रबटाइफसको रफ्तार एकै साथ अस्वाभाविक रूपमा बढेको देखिन्छ । केही दिनअघि मात्र एकै परिवारका दुईजनामा उस्तैखाले लक्षण देखिएपछि रगत परीक्षण गरियो । रगतको परीक्षणमा डेंगु र स्क्रबटाइफसको दोहोरो संक्रमण पुष्टि भयो ।
अस्पतालमा पनि ज्वरो आएर भर्ना भएका कतिपय बिरामीमा दोहोरो संक्रमण (भाइरस र ब्याक्टेरियासँगै) पुष्टि हुने गरेको देखिन्छ । अर्थात्, काठमाडौंमा हाल भाइरस (डेंगु) र ब्याक्टेरिया (स्क्रबटाइफस) ले एकै व्यक्तिलाई संक्रमण गर्ने ट्रेन्ड बढ्दो देखिन्छ। सम्भवत: स्क्रबटाइफसले भने काठमाडौंमा लामो समयपछि यसरी तीव्रता लिएको लेखकको अनुभव छ ।
‘चिगर माइट’ को टोकाइबाट ‘ओरियनटा सुसुगामुसी’ नामक ब्याक्टेरियाको कारणले मानिसमा स्क्रबटाइफस रोग लाग्छ ।
उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको सेतो भाग रातो देखिनु, लिम्फ ग्रन्थी सुन्निनु, शरीरमा स-साना बिबिरा देखिनु, पसिना आउनु जस्ता लक्षण स्क्रबटाइफसका प्रारम्भिक मुख्य लक्षण हुन् ।
चिगर माइटको टोकाइपछि देखिने घाउलाई ‘स्कार’ भनिन्छ । यदि बिरामीलाई ज्वरोसँगसँगै स्कार घाउ पनि देखिएको छ भने स्क्रबटाइफसको सम्भावना प्रबल हुने गर्छ ।
स्कार घाउ सबैमा नदेखिन सक्ने र बाँकी माथि उल्लेखित लक्षणहरू पनि अरू संक्रामक रोगहरूसँग मिल्दोजुल्दो हुँदा रगतको परीक्षण अनिवार्य हुन्छ । तर रगतको प्रयोगशाला परीक्षण सबै ठाउँमा नहुन पनि सक्छ ।
भर्ना भएका बिरामीहरूसँग रोगको इतिहासबारे बुझ्दा श्वाँ-श्वाँ हुने अर्थात् श्वासप्रश्वासमा हल्का अवरोध हुने सबैभन्दा बढी साझा समस्याको रूपमा देखिएको थियो। यो समस्या अरू किटजन्य रोगभन्दा फरक पहिचानको रूपमा लिन सकिन्छ ।
यसर्थ, मनसुन सिजनमा उच्च ज्वरोसँगसँगै श्वासप्रश्वासमा पनि हल्का अवरोध महसुस भएमा सम्भवत: त्यो स्क्रबटाइफस संक्रमणको सम्भावना उच्च हुनेछ । यसमा स्कार घाउ देखिए स्क्रबटाइफस हुनसक्ने थप सम्भावना रहन्छ । यद्यपि, निश्चित निदान भने रगत परीक्षणबाट नै गरिन्छ ।
छिटो पहिचान गरी औषधि-उपचार गरेमा औसतमा ४८ घण्टाभित्रमा ज्वरो कम हुँदै जानेछ र पूर्ण रूपमा निको हुन्छ । तर लामो समय उपचार गरिएन भने बिरामीको मृत्युसमेत हुनसक्छ । नेपालमा पनि वर्षेनी स्क्रबटाइफसको कारणले केहीको मृत्यु हुने गरेको तथ्यांक देखिन्छ ।
एडिस जातको लामखुट्टेको टोकाइबाट डेंगु भाइरसको संक्रमण हुन्छ । नेपालमा २० वर्षअघि पुष्टि भएको यो भाइरस हाल नेपालमा रैथाने रोगको रूपमा स्थापित भइसकेको छ।
डेंगु काठमाडौंमा सन् २०१९ र २०२२ मा ठुल्ठूला महामारीको रूपमा देखिएको थियो । सन् २०२२ मा ८८ संक्रमितको मृत्यु भएको आधिकारिक तथ्यांक देखिन्छ भने हजारौं संक्रमित भएका थिए । नेपालको तथ्यांक हेर्ने हो भने केही वर्षको अन्तरालमा डेंगुले प्रकोपको रूप लिएको देखिन्छ। र, त्यस्तो प्रकोप अघिल्लो प्रकोपभन्दा थप घातक र बढीलाई संक्रमित गराउने गरेको देखिन्छ ।
यो वर्ष पनि दुई जनाको मृत्यु डेंगुबाट भइसकेको छ । सामान्यत: संक्रमण भएको ४ देखि १० दिनसम्ममा लक्षणहरू देखापर्छ । ज्वरो आउनु, आँखाको गेडी खस्ला जस्तोगरी दुख्नु, शरीरमा स-साना बिबिरा देखिनु, जोर्नी असाध्य दुख्नु यसका केही मुख्य लक्षण हुन् ।
डेंगुमा ‘फियर अफ फुड’ अर्थात् खानेकुराको नाम लिने बित्तिकै बान्ता होला जस्तो हुने समस्या विशेष रूपमा देखिने गरेको छ । ज्वरो आउने, जिउ/जोर्नी असाध्य दुख्ने अनि फियर अफ फुड भएमा त्यो डेंगु संक्रमणको प्रबल सम्भावनाको रूपमा लिन सकिन्छ । यद्यपि, यसको पनि अन्तिम पुष्टि भने रगत परीक्षणबाट नै गरिन्छ ।
पछिल्लो समय काठमाडौँमा डेंगु फैलिरहेको भए पनि संक्रमितहरू खासै अस्पताल आउने गरेको पाइँदैन । यसबाट नेपाली समाजमा यो संक्रमणप्रति हेर्ने दृष्टिकोणमा ठूलो परिवर्तन आएको देखिन्छ । यसको मुख्य कारण भनेको डेंगुको निश्चित औषधि नहुनु पनि हो ।
संक्रमितमध्ये केहीमा भने डेंगुले जटिल अवस्था निम्त्याउन सक्छ । संक्रमित भइसकेपछि पनि चिकित्सकको सल्लाह नलिने प्रचलन बढ्दै जाँदा डेंगुको ‘वार्निङ साइन’ को बारेमा व्यापक प्रचार गर्न सके डेंगुबाट हुनसक्ने मृत्युलाई धेरै हदसम्म रोक्न सकिनेछ ।
तारन्तार बान्ता हुने, नाक/गिजाबाट रगत आउने, पेट असाध्य दुख्ने, अति अलस्य हुने जस्ता समस्या डेंगुको वार्निङ साइनका केही महत्वपूर्ण लक्षण हुन् । रगतमा प्लेटेलेट्सको संख्या तीव्र गिरावट, पेट वा छातीमा पानी जम्नु, तथा कलेजो सुन्निनु डेंगुको वार्निङ साइनका थप संकेतहरू हुन् । त्यसैले डेंगुको वार्निङ साइनको बारेमा व्यापक प्रचार गर्नु आवश्यक देखिन्छ ।
डेंगु भाइरस र स्क्रबटाइफसको ‘ब्याक टु ब्याक’ प्रकोपले काठमाडौंमा हाल मानिसहरू बिरामी हुने क्रम जारी छ । एकै व्यक्तिमा भाइरस र ब्याक्टेरियाको मल्टिपल संक्रमित हुनेको ग्राफ बढ्नु आफैंमा आश्चर्यजनक तर गम्भीर अवस्था हो ।
डेंगु र स्क्रबटाइफस संक्रमित बिरामीलाई पछि स्वास्थ्यमा कस्तो दीर्घकालीन असर पर्न सक्छ भन्ने स्पष्ट र यकिन जानकारी छैन । तर डेंगु भाइरसको एकल संक्रमण भइसकेपछि (विशेषत सन् २०२२ को डेंगु प्रकोपपछि) भने धेरै मानिसमा मानसिक तथा शारीरिक समस्या उत्पन्न भएको देखिएको छ । यद्यपि, यसबारे दीर्घकालीन अनुसन्धान हुन जरुरी देखिन्छ ।
कतिपय अनुसन्धान लेखहरूमा डेंगु भाइरस र स्क्रबटाइफसले एकै व्यक्तिलाई संक्रमित गरे स्वास्थ्यमा थप जटिलता देखिन/आउन सक्ने निष्कर्षहरू निकालेका छन् ।
तसर्थ, काठमाडौंमा एकै व्यक्तिमा भाइरस र ब्याक्टेरिया संक्रमणको ग्राफ उकालो लाग्दै गर्दा यस्तो अवस्थाबाट हुनसक्ने सम्भावित मानवीय क्षतिको बारेमा सजगता अपनाउनु जरुरी देखिन्छ ।
(डा. पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन् ।)
प्रतिक्रिया 4