+
+
Shares

७४ जिल्लामा फैलियो डेंगु, संक्रमित संख्या २ हजार ९५२

डेंगु ७४ जिल्लामा फैलिएको छ भने गत एक हप्तामात्र १८० नयाँ संक्रमित थपिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २९ गते १४:४२
डेंगु संक्रमित/ एआई निर्मित तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २०८१ पुसदेखि हालसम्म २ हजार ९५२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
  • डेंगु ७४ जिल्लामा फैलिएको छ र गत एक हप्तामा १८० नयाँ संक्रमित थपिएका छन्।
  • ईडीसीडीले यस वर्ष ६० हजारलाई डेंगु संक्रमण हुनसक्ने अनुमान गरेको छ।

२९ साउन, काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यका र देशका धेरै जिल्लामा डेंगुको संक्रमण बढ्दै गइरहेको छ ।

सन् २०२५ को सुरु अर्थात गत पुसको मध्यदेखि हालसम्म २ हजार ९५२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

डेंगु ७४ जिल्लामा फैलिएको छ भने गत एक हप्तामात्र १८० नयाँ संक्रमित थपिएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को पछिल्लो तथ्यांक अनुसार बागमती प्रदेशमा २९८, कोशीमा ४७, गण्डकीमा २७, सुदूरपश्चिममा २४, लुम्बिनीमा २२, मधेशमा १८ र कर्णालीमा ६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य विज्ञहरूले वास्तविक संक्रमितको संख्या रिपोर्ट भएकाभन्दा धेरै हुन सक्ने बताउँछन् । ईडीसीडीले उपलब्ध तथ्यांक राष्ट्रिय प्रणालीमा रिपोर्ट भएको सरकारी तथ्यांक वास्तविक डेंगु संक्रमणको एक सानो भाग मात्र भएको हो ।

चिकित्सकका अनुसार १० हजार मानिसलाई डेंगु भयो भने १ हजारमा मात्र लक्षण देखा पर्छन् ।

बाँकी ९ हजार मानिसमा लामखुट्टेलाई संक्रमण गर्न सक्ने क्षमता हुन सक्छ ।

सुरुमा भाइरस छिरेपछि शरीरमा रोगसँग लड्ने क्षमता (एन्टिबडी) नबन्दासम्मको समयमा लामखुट्टेले टोकेमा शरीरको भाइरसले लामखुट्टेमा संक्रमण हुन्छ ।

एक पटक लामखुट्टे संक्रमित भएपछि उसका वंशजहरूमा समेत संक्रमण हुने गर्छ ।

‘डेंगुका बिरामी लक्षण नदिखिने, स्वास्थ्य संस्थामा नजाने, परीक्षणमा नहुने वा रिपोर्ट पनि हुँदैन,’ ईडीसीडीका किट जन्य रोग नियन्त्रणका प्रमुख गोकर्ण डा. दाहालले स्पष्ट पार्दै भने, ‘सरकारी तथ्यांकभन्दा दशौं गुणा डेंगुका बिरामी समुदायमा छन् भन्ने बुझिन्छ ।’

धेरै बिरामीले लक्षण विहीन अवस्थामा समुदायमा अन्य व्यक्तिलाई संक्रमण सारिरहेको अवस्था रहेको डा. दाहालले बताए ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले डेंगुका लक्षण लिएर आउने संख्या बिस्तारै बढ्दै छ ।

टेकु अस्पतालमा उपचाररत डेंगुका बिरामीहरू/फाइल तस्वीर

‘टेकुमा बिहिबार तीन जना डेंगु संक्रमित बिरामी उपचाररत छन् । उनीहरूको जनर्रल वार्डमा राखेर उपचार भइरहेको छ,’ डा. बसौलाले भने, ‘ मनसुनपछिको अवधिमा संक्रमण बढ्ने भएकाले आगामी दिनमा डेंगु संक्रमित संख्या बढ्नसक्छ ।’

एडिस एजेप्टाई र एडिस एल्बोपेक्टस नामक लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु संक्रमण नेपालमा पहिलो पटक २००४ मा चितवनमा आएका एक विदेशी नागरिकमा भेटिएको थियो ।

त्यसपछि २००६ मा तराई र भित्री मधेशका केही जिल्लामा डेंगुका बिरामी भेटिएका थिए ।

२०२० मा धरानबाट फैलिएको डेंगुबाट १८ हजार मानिस संक्रमित भए, ४३ जिल्लामा फैलिएको डेंगुले १२ जनाको मृत्यु भयो । त्यसयता हरेक वर्ष ठूलो संख्यामा संक्रमित देखिन थालेको छ ।  अब यो रोग स्थानीय रूपमा फैलिने भएकाले वर्षभरि जोखिम रहिरहेको छ ।

सन् २०२२ मा डेंगु संक्रमित ७७ वटै जिल्लामा फैलिँदा ५४ हजारभन्दा बढी संक्रमित भए । उनीहरूमध्ये ८८ जनाको मृत्यु भएको थियो ।

२०२३ मा कोशी प्रदेशमा डेंगु फैलिएको थियो । २० जना मृत्यु हुँदा ५२ हजारभन्दा बढी संक्रमित भएका थिए ।

सन् २०२४ मा १५ जनाको मृत्यु  र ४१,८६५ जना संक्रमित भएका थिए ।

विश्व परिवेश र शहरीकरण कारण डेंगुलाई पूर्णत घटाउन गाह्रो हुने विज्ञ बताउँछन् । शहरी क्षेत्रमा डेंगु फैलिनुको प्रमुख कारण अव्यवस्थित फोहोर व्यवस्थापन हो ।

ईडीसीडीले यसवर्ष सबैभन्दा खराब अवस्थामा यस वर्ष ६० हजारलाई संक्रमण हुनसक्ने अनुमान गरेको छ ।

विज्ञका अनुसार पानी जम्मा गर्न राखिएका ड्रम र बाल्टीहरू, पुराना टायर र फोहोरमैला, कौसी खेतीका गमला, खुला खाल्डाखुल्डीमा जमेको पानी स्थानहरू एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस प्रजातिका लामखुट्टेका लागि प्रजनन् स्थल हुन् ।

विगत एक दशकमा तराईदेखि पहाडी जिल्लासम्म फैलिएको डेंगु अहिले जनस्वास्थ्यको प्रमुख चुनौती बनेको छ ।

दुई दशक अघिसम्म काठमाडौं उपत्यकामा विरलै मात्र लामखुट्टे लाग्थ्यो । पहाडी र हिमाली जिल्लामा कीराहरूबाट सर्ने ‘किटजन्य रोग’ सायदै फैलिने गरेको थियो । तर केही वर्षयता तराईका भू–भागमा मात्रै हुने भनिएका रोगहरू पहाड हुँदै हिमाली क्षेत्रसम्मै पुगिसकेका छन् ।

जनस्वास्थ्यविद्का अनुसार डेंगुको प्रकोप फैलिनुमा बढ्दो तापक्रम, जनघनत्व, अव्यवस्थित शहरीकरण, जलवायु परिवर्तन, लामो बर्खा, किटाणुमा कम तापक्रममा बाँच्न सक्ने क्षमताको विकास लगायत कारण हुन् ।

सामान्यतया १५ देखि ३५ डिग्रीको तापक्रममा लामखुट्टेको वृद्धि–विकास हुन्छ । डेंगु भाइरस फैलाउने लामखुट्टेका लागि भने १० देखि ४० डिग्रीसम्मको तापक्रम अनुकूल मानिन्छ ।

टेकु अस्पतालको ओपीडीमा उपचारका लागि आएका बिरामीहरू/फाइल तस्वीर

किट विज्ञहरूका अनुसार एउटा लामखुट्टेको सरदर आयु ३० देखि ४० दिनसम्म हुने भए पनि लामखुट्टेले पारेका अन्डा उपयुक्त वातावरण पाउँदा वर्षौंसम्म रहिरहन्छन् । पछि त्यही लार्भा बन्छ । लार्भा सातदेखि १० दिनसम्ममा वयस्क हुन्छ । डेंगु सार्ने लामखुट्टेले प्रायः दिउँसो मात्र टोक्छ । संक्रमित पोथी लामखुट्टेले न्यूनतम पाँच एमएलसम्म पानी जमेको र सफा पानीमा पनि फूल पार्न सक्छ ।

डेंगु नियन्त्रणका लागि सबैभन्दा प्रभावकारी उपाय ‘खोज तथा नष्ट अभियान’ नै हो । तर त्यसका लागि नागरिक स्वयं नै जिम्मेवार हुनुपर्छ ।

विज्ञका अनुसार डेंगु सार्ने लामखुट्टेले सफा पानी जमेको स्थानमा अन्डा पार्ने गर्छ । विशेषगरी वर्षाको पानी जम्ने ठाउँ, जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रा टायर, अलकत्रा वा खाली ड्रम, गमला, पानी ट्यांकी आदिमा यसले अण्डा पार्छ ।

शहरी क्षेत्रमा यस्ता वस्तुहरू थुप्रै हुने भएकाले पनि शहरमा बढी लामखुट्टे देखिने गर्छन् । डेंगुको कडा दुखाइ कम गर्ने प्रभावकारी औषधि भने छैन । त्यसैले कम्तीमा पनि हप्तामा एक पटक आ–आफ्ना कार्यस्थल वरिपरि लामखुट्टेको लार्भा नष्ट गर्न समय निकाल्नुपर्ने विज्ञ बताउँछन् ।

डेंगु संक्रमित बिरामीलाई २ देखि ७ दिनसम्म ज्वरो आउने गर्छ । ज्वरो घटेका बेला २४ देखि ४८ घण्टासम्मको समय जटिल क्रिटिकल मानिन्छ । यस्तो बेलामा कतिपय व्यक्तिको शरीरबाट रक्तस्राव हुने र केहीमा रक्तचाप घट्ने सम्भावना उच्च हुन्छ ।

संक्रमित व्यक्तिलाई श्वास–प्रश्वासमा कठिनाइ भएमा, पेट दुख्ने, गिजाबाट रगत बगे जस्तो हुने, कालो दिसा आउने, थकान महसुस हुने, वान्ता हुँदा रगत देखिने, बिरामी बेहोस हुने, नाकबाट रगत आउने लगायत लक्षण देखिएमा डेंगु संक्रमण जटिल भयो भनेर बुझ्नुपर्ने र तुरुन्तै अस्पताल जानुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?