+
+
Shares

पर्सामा तीन दिनमा दुई बलात्कार र एक यौन दुर्व्यवहारका घटना सार्वजनिक

प्रहरी उपरीक्षक पन्त भन्छिन्- सामाजिक चेतनास्तर कमजोर देखियो

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ३ गते ८:००

३ साउन, वीरगञ्ज । पर्सा जिल्लामा पछिल्लो तीन दिनमा दुई वटा जबरजस्ती करणी र एउटा यौन दुर्व्यवहारको घटना भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले तीन वटै घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

पर्साको जगरनाथपुर गाउँपालिकामा १४ वर्षीया बालिकामाथि जर्बजस्ती करणी भएको गुनासो आएको छ । जर्बजस्ती करणी गरेको भनिएका पुरुष फरार छन् । राजनीतिक संरक्षणमा उनलाई भगाएको आशंका गरिएको छ ।

किशोरीको मेडिकल जाँचपछि महिला तथा बालबालिका सेवा केन्द्रमा राखिएको छ । बालिकाको तर्फबाट जाहेरी भने आइसकेको छैन । जानकारी पाएदेखि नै प्रहरीले अभियुक्तको खोजी गरिरहेकोे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी मनोजित कुँवरले जानकारी दिए ।

यसैगरी असार ३१ गते जिराभवानी गाउँपालिकामा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी भएको उजुरी आएको छ । गाउँकै १७ वर्षीय किशोरले उनीमाथि जबरजस्ती करणी गरेको उजुरी परेको हो । आरोपीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया शुरु गरिएको प्रहरीले जनाएको छ ।

‘केटा र केटीबीच पहिलेदेखि नै चिनजान रहेछ, केटाले जबरजस्ती करणी गरेको उजुरी परेको छ,’ डिएसपी कुँवरले भने, ‘केटीको मेडिकल जाँच गर्नुको साथै केटालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेका छौं ।’

त्यसैगरी बहुदरमाई नगरपालिकामा ७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ७५ वर्षीय वृद्ध पक्राउ परेका छन् । साउन १ गते भएको घटनाबारे थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक गंगा पन्तले महिलासँग सम्बन्धित घटनामा प्रहरीले अझ सुक्ष्म ढंगले अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउने बताइन् । ‘पर्सामा सामाजिक चेतनास्तर कमजोर देखियो । महिलामाथि भएका जघन्य अपराधिक घटनामा पनि राजनीतिक आस्थाका आधारमा पक्ष–विपक्षमा लाग्ने रहेछन्,’ पन्तले भनिन्, ‘तर कुनै पनि हालतमा प्रहरीले दोषीलाई उम्कन दिने छैन, निर्दोष नफसुन् भनेर पनि प्रहरी त्यतिकै सचेत छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?