Comments Add Comment

कर्णालीमा ठूलो समूहमा देखियो सलह, बाली जोगाउनै मुस्किल

सलहले भोकमरी पर्ने डर भयो : कृषीमन्त्री केसी

वीरेन्द्रनगरका कृषक धुँवाले सलह भगाउँदै ।

२ साउन, सुर्खेत । कर्णाली प्रदेशमा ठूलो समूहमा सलह किरा देखिएको छ । यसअघि प्रदेशका विभिन्न स्थानमा सानो समूहमा देखिएको सलह शुक्रबार दिउँसो प्रदेश राजधानी वीरेन्द्रनगरमा ठूलो संख्यामा देखिएको हो ।

बिहीबार पूर्वी सुर्खेत र सल्यानका केही स्थानमा देखिएको सलह किराको समूह शुक्रबार वीरेन्द्रनगर पुगेको कृषि विकास निर्देशनालय सुर्खेतका बागवानी अधिकृत याम रानाले जानकारी दिए ।

वीरेन्द्रनगरको सुब्बाकुना हुँदै देखिएको सलह पिपिरा, नेवारे, इत्राम हुँदै उपत्यकाका विभिन्न ठाउँमा पसेको छ । ठूलो संख्यामा सलह पसेपछि कृषकहरु थाल बजाउँदै, आगो बाल्दै खेतबारीमा पुगेका छन् ।

कृषि मन्त्रालयका प्रवक्ता तथा वरिष्ठ कृषि विज्ञ हरि पण्डितले सलह ठूलो संख्यामा आएकाले थाली र ड्रम बजाएर सलह भगाउन कृषकलाई आग्रह गरेका छन् ।

 वीरेन्द्रनगरको कालुङचोकमा  ड्रम र डेग बजार सलह भगाइदै –

ठूलो संख्यामा सलह देखिएकोले नियन्त्रण गर्न विषादी प्रयोग गर्नुपर्ने भए पनि यो उपयुक्त समय नभएको उनको भनाइ छ ।
अहिले मकै र धानको ब्याड हुने भएकाले सलह किराको जोखिम त्यसमा बढ्न सक्ने अनुमान गरिएको उनले बताए । ‘हाम्रो प्रदेशमा अरुभन्दा पनि मकै र धानको ब्याडमा सलहको प्रभाव पर्ने जोखिम छ,’ उनले भने, ‘हामीले कृषकहरुलाई थाली बजाएर ध्वनी निकाल्दै मकै र ब्याड बचाउन भन्ने सुझाव दिएका छौं, यसबारेमा अरु पनि हामीले छलफल गरिरहेका छौं ।’

कर्णालीका ९ जिल्लामा पुग्यो सलह

कृषि मन्त्रालयका अनुसार कर्णाली प्रदेशका नौं जिल्लामा सलह देखिएको छ । प्रदेशका १० जिल्लामध्ये मुगुमा हालसम्म नदेखिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता तथा वरिष्ठ कृषि विज्ञ हरि पण्डितका अनुसार दाङ हुँदै सलह कर्णालीका विभिन्न जिल्ला पसेको हो ।

बाली जोगाउन मुस्किल

शुक्रबार ठूलो संख्यामा प्रवेश गरेको सलह किराले वीरेन्द्रनगरको पिपिरा, नेवारे, इत्राम हुँदै उपत्यकाका विभिन्न ठाउँमा बाली खान थालेको छ ।

सलह किराले मकै, धानको बिउ र तरकारी नष्ट गर्न थालेपछि किसान समस्यामा परेका छन् । सलह बारीमा पसेपछि बाली बचाउन हम्मेहम्मे परेको वीरेन्द्रनगर-१२ नेवारेका सन्त सारुले बताए ।

उनका अनुसार बाली र तरकारी बचाउन किसानले पहरा दिन थालेका छन् । ‘कतै बाली लगाएको ठाउँमा आगो लगाएका छौं भने केही ठाउँमा थाल र टिन बजाएर धपाउने प्रयास गरेका छौं,’ उनले भने, ‘बाली नष्ट पार्न थालेपछि यस वर्ष उत्पादन घट्ने निश्चित छ ।’

सलहले भोकमरी हुने डर भयो : मन्त्री केसी

कणर्ाली प्रदेशमा सलह किराको प्रवेशसँगै किसानले ठूलो क्षति बेहोर्नुपर्ने प्रदेश सरकारले अनुमान गरेको छ ।

सामान्य अवस्थामै खाद्य संकट भोग्दै आएको कर्णालीमा यो वर्ष भने कोरोनाको महामारी र सलहले गर्दा भोकमारी नै पर्ने हो कि भन्ने डर भएको कणर्ाली सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीले बताइन् ।

सलहले क्षति पुगेका किसानलाई राहत उपलब्ध गराउने तयारीसमेत भैरहेको मन्त्री केसीको भनाइ छ । ‘सलहले क्षति पुगेका किसानलाई राहात दिने विषयमा छलफल भैरहेकोे छ,’ मन्त्री केसीले भनिन, ‘हामी एउटा विशेष टिम नै बनाएर फिल्डमा पठाउँछौं । क्षतिको आधारमा केही राहतको व्यवस्था गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment