Comments Add Comment

बोक्सी आरोपमा दुर्व्यवहार, जनप्रतिनिधिविरुद्ध जाहेरी

३ साउन, वीरगञ्ज । पर्सामा एक महिलालाई बोक्सीको आरोपमा अर्धनग्न बनाई, मोसो र जुत्ताको माला लगाइदिएर गाउँ परिक्रमा गराइएको छ ।

छिपहरमाई गाउँपालिका ३ बस्ने छोटकी जयमंगलापुरकी ४८ वर्षीया एकल महिलालाई गाउँलेले कुटपिट गर्दै पेटिकोटमै गाउँ परिक्रमा गराएका हुन् ।

जुत्ताको माला लगाइदिएर उनलाई गाउँ घुमाउँदा अन्य गाउँले तमासा हेरेर बसे । उनको देब्रे कुम, ढाड लगायत शरीरको विभिन्न भागमा कुटपीटका कारण बनेको निलडाम देखिन्छ ।

उनीमाथि गत असार ३१ गते दुर्व्यवहार भएको हो ।

गाउँपालिकाका कार्यपालिका सदस्य सुवास साह कानुलगायत आठ जनाविरुद्ध उनले जिल्ला प्रहरी कार्यालय पर्सामा अमानवीय व्यवहार कसुरमा उजुरी दिएकी छन् । बुधबार आरोपीहरुले पीडितलाई गाउँ घुमाइसकेपछि केही स्थानीयले प्रहरीलाई गोप्य रुपमा खबर गरेका थिए । बुडगाइँ प्रहरी चौकीबाट प्रहरी टोली गएर महिलाको उद्धार गरेको थियो ।

‘गाउँबाटै निकाल्न खोजेका रहेछन्, प्रहरी समयमै नपुगेको भए उनलाई भारततिर खेद्ने उनीहरुको योजना रहेछ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने ।

सात महिना पहिले पनि पीडित महिलामाथि बोक्सीको आरोप लागएर दुर्व्यवहार भएको थियो । एकल महिला भएका कारण उनको पक्षमा बोलिदिने कोही नभएपछि गाउँघरको मामला भन्दै घटनालाई गाउँमै दबाइएको थियो

आरोपित मध्येका ५५ वर्षीय मुन्नीलाल परदेशी भनिने मुन्नीलाल साह कानु, ४० वर्षीय राजदेव शर्मा ठाकुर, ३५ वर्षीया इन्दुदेवी ठाकुर र ३२ वर्षीया सन्ध्या देवीलाई प्रहरीले बुधबार नै नियन्त्रणमा लिएको छ । पर्सा जिल्ला अदालतमा उनीहरुविरुद्ध मुद्दा दर्ता गरी म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गाउँपालिका सदस्य सुवास साह कानुलगायत फरार अभियुक्तहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

श्रीमानपछि छोरा गुमाउने चिन्ता

तीन वर्षअघि उनले श्रीमान गुमाएकी थिइन् । त्यसपछि तीन वर्षको अवधिमा उनले तीन पटकसम्म यस्तै दुर्व्यवहार सहनु परेको छ । अघिल्ला घटना भने गाउँमै गुपचुप तरिकाले मिलाइएको थियो ।

पाँच छोरी र एक छोराकी आमा उनी सासू, दूधे बालकसहितकी छोरीसहित घरमै बस्थिन् । अन्य चार छोरीको बिहे भइसकेको छ । गत बुधबार भएको घटनामा एक वर्षदेखि माइतमै बस्दै आएकी जेठी छोरीलाई समेत कुटपीट गरिएको छ ।

आमालाई बचाउन जाँदा आफूमाथि कुटपिट भएको उनले बताइन् । ‘आमालाई बचाउन जाँदा मलाई पनि कुटे,’ उनले भनिन् । नाबालक छोरासहित न्यायका लागि उनी पनि जिल्लामा आएकी छन् ।

पीडित महिलाको १४ वर्षका छोरा छन् । उनी मकवानपुरको हेटौंडामा ज्याला मजदुरी गर्थे । आमामाथि दुर्व्यवहार भएको थाहा पाएपछि उनी साइकल चढेर हेटौंडाबाट वीरगञ्ज आए । लकडाउनका कारण सार्वजनिक गाडी नचलेपछि उनी साइकलबाटै यात्रा गर्न बाध्य भएका हुन् । आमासँगै उनी पनि न्यायका लागि प्रहरी प्रशासन धाइरहेका छन् ।

छोरालाई पनि कुटपीट गरेर मारिदिन्छन् कि भन्ने डरले घर आफू जानसमेत नसकेको पीडित महिला बताउँछिन् । न्याय पाउने आशमा तीन दिनदेखि सदरमुकाममा बस्दै आएकी उनी भन्छिन्, ‘श्रीमान भएको भए मेरो यस्तो अवस्था आउने थिएन । घर जाउँ भने भएको एउटा छोरालाई पनि कुटेर मारिदिन्छन् की भन्ने चिन्ता लाग्छ ।’

जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेर उनले आफूलाई दुर्व्वहार गर्नेहरुलाई हदैसम्मको कारबाही हुनुपर्ने माग गरिन् । ‘कुनै सौखले म वीरगञ्ज आएको छैन । मलाई डाइन (बोक्सी) भन्दै केहीले कपाल काटे, दुवै हात गोडा बाँधेर, शरीरको कपडा फुकालेर घिसारे । बोक्सी गाउँमा रहन हुँदैन भनेर कुटपीट गरे,’ उनले भनिन्, ‘उनीहरुलाई जसरी पनि कारबाही हुनुपर्छ ।’

दुर्व्यवहारमा जनप्रतिनिधिको समर्थन

सात महिना पहिले पनि पीडित महिलामाथि बोक्सीको आरोप लागएर दुर्व्यवहार भएको थियो । एकल महिला भएका कारण उनको पक्षमा बोलिदिने कोही नभएपछि गाउँघरको मामला भन्दै घटनालाई गाउँमै दबाइएको थियो ।

तीन वर्षमा उनीहरुले तीन पटक यसैगरी कुटपीट र दुर्व्यवहार गरेको पीडित महिलाको भनाइ छ । ‘दुई ठाउँमा घर छ, भाँडा माझेर घर व्यवहार चलाएकी छु । म गल्ती गरुँ भनेर उनीहरु खोजी रहन्छन्,’ उनले भनिन्, ‘तीन वर्षमा तीन पटक यस्तै दुर्व्यवहार गरिसकेका छन् ।

गाउँका जनप्रतिनिधिहरु पीडित महिलाको पक्षमा लाग्नुको सट्टा उल्टै आरोपीलाई छुटाउन पैरवी गरिरहेको उनको भनाइ छ । ‘घरमा मालिक छैनन्, छोरा पनि बाहिर हुन्छ । आमा, छोरी र बुढी सासू छन् । दुई–चार जना छिमेकी हाम्रो घरमा कसरी घुस्न सक्छन् ?’ उनले भनिन्, ‘बाहिरबाट कसैले तागत दिएको छ र त उनीहरु यसरी पटक–पटक मेरो घरमा आउँछन् । ’

महिला अधिकारकर्मीको चासो

पीडित महिला आफूमाथि भएको दुर्व्यवहारबारे जानकारी दिने क्रममा आँसु थाम्न सक्दिनन् । उनका ओठ सुकिसकेका छन् । लामो कपाल काटिएको छ । साडीको आँचलले टाउको छोपेर बस्छिन् । घरी खुट्टाको चोट देखाउँछिन्, त घरी कुटपीटका कारण शरीरमा बनेका निल डाम देखाउँछिन् ।

उनी मानसिक रुपमा विक्षिप्त भएको शंका लागेपछि महिला अधिकारकर्मी र पत्रकारहरुले उनलाई भेटेर सम्झाएका छन् । उनलाई हिम्मत नहार्न र बयान नफेर्न सल्लाह दिँदै अधिकारकर्मीले प्रहरीले गरिरहेको अनुसन्धान र कारबाहीबारे चासोसमेत राखेका छन् ।

महिला अधिकारकर्मी कोपिला चौलागाईले भनिन्, ‘प्रहरी कार्यालयबाटै पीडित महिलाले बोली फेरिरहेको भन्ने जानकारी आयो, मानसिक रुपमा विक्षिप्त भएकोले होला भन्ने भयो । उनलाई काउन्सिलिङ गरेर फर्केका छौं । घटनालाई प्रहरीले कसरी हेरिरहेको छ भनेर पनि जानकारी लियौं ।’

प्रहरी अनुसन्धानमा लापरबाही नहोस्, अभियुक्तहरुलाई सजायमा कमी नहोस र पीडितलाई दबाव र प्रभावमा पारेर बयान फेर्ने कोसिस नहोस् भनेर आफूहरुले निरन्तर चासो लिने उनको भनाइ छ ।

नेपाली कांग्रेसका जिल्ला सदस्य नविन सिंहले पनि महिलामाथि भएको दुर्व्यवहारको घटनाका आरोपीहरुलाई कानुनको दायरामा ल्याउनुपर्नेमा जोड दिए ।

‘गरिब एकल महिला अर्काको घरमा भाँडा माझेर जीविकोपार्जन गर्दै आएका छन् । ४८ वर्षको उमेर छ, उनीमाथि चरित्रहिन र बोक्सीको लान्छना लगाएर अमानवीय दुर्व्यवहार गरिएको छ,’ उनले भने, ‘यस्ता निर्दयी मानिसहरुलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ । ताकि यसको डरबाट आगामी दिनमा अन्यत्र पनि यस्तो अमानवीय घटना नहोस् ।’

दोषीलाई कारबाही गर्छौं : प्रहरी

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता मनोजीत कुँवरले महिलामाथि अमानवीय व्यवहार गर्ने जो कोहिलाई कारबाहीका लागि कुनै कसर बाँकी नराख्ने बताए । ‘मान्छे भएर मान्छेलाई गर्न नहुने व्यवहार आरोपीहरुले गरेको पाइएको छ,’ उनले भने, ‘पीडितको  तर्फबाट जाहेरी आइसकेको छ । बयान लिईसकेका छौं । घटनामा संलग्न चार जनालाई पक्राउ गरेर अदालतबाट म्याद थप गरेर अनुसन्धान शुरु गरिसकेका छौं । घटनामा संलग्न जोसुकैलाई कारबाहीको दायरामा ल्याउँछौं ।’

निर्दोष नफसुन् र दोषी नउम्किउन् भनेर प्रहरी सचेत रहेको बताउँदै उनले घटनाका प्रत्यक्षदर्शीहरुसँग समेत सोधपुछ गर्ने बताए ।

मुलुकी ऐनको फौजदारी संहितामा कसैलाई अपमानजनक वा अमानवीय व्यवहार गरे कसुर गर्ने व्यक्तिलाई ५ वर्षको कैद र ५० हजारसम्मको जरिवाना हुने उल्लेख छ । त्यति मात्रै होइन, कसुर गर्ने व्यक्तिबाट पीडित व्यक्तिलाई पुगेको क्षति वा पीडा बापत मनासिब क्षतिपूर्ति भराइदिनु पर्ने उल्लेख छ । यस्तो घटनामा कसुर भए गरेको थाहा पाएको मितिले छ महिनाभित्र उजुरी दिन पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment