Comments Add Comment
निबन्ध :

घरले बोलायो आमा !

‘सुनेँ सधैँ, आज मलाई सुन्नुस् !’
‘हो आमा, मलाई सुन्नै पर्छ तपाईंले । कत्ति अत्तालिनु भएको ! पख्नुस्, एकछिन पर्खनुस् । सुनेर मात्र जानुस् । आज मेरा कुरा सुन्नै पर्छ । जतिसुकै हतारो भए नि नसुनी हुन्न तपाईंले आज मलाई ।’
‘लाखौं किलोमिटर पर छु । हजारौं पहाड नाघेर यो बिरानो ठाउँमा छु । सयौं खोलानाला पार गरेर यो भूमिमा पुगेको छु । सात समुद्र काटेर यहाँ पुगे पनि मन त सातै सेकन्डमा तपाईंछेउ पुगिहाल्दो रै’छ !’

‘आमा ! रोगले संसारै निलिसक्यो । तपाईं खाली कुदेकोकुदेकै गरेको सुन्छु । चुप्प लागेर तपाईं पिँढीमै बस्नुस् । मनग्गे कुद्नु भो । घरमै थन्काउनस् आफूलाई अब । सधैँ बित्यो–बित्यो भनेर हुर्दुराउनु भो । सधैँ ‘ढिलो भो–ढिलो भो’ भनेर अत्तालिनु भो । सधैँ ‘बियाँलो भो– बियाँलो भो’ मात्रै भनिरहनु भो । के भो त, ती सबै अबेर, ढिलो र बियाँलोले ?’
‘आमा, ढिलो भएकै छैन । बस्नुहोस् घरमै ।’

‘हामीलाई पाउँदा–पाउँदा तपाईंको आधा उमेर बित्यो । सात जना छोराछोरी जन्माउन, हुर्काउन, बढाउन र निरोगी पार्न खट्ता–खट्ता तपाईंलाई सधैँ हतारै मात्र त भो । कतिखेर बित्थ्यो रात, दिन कतिखेर चिप्लिन्थे । साँझ कतिखेर बेगिन्थे । बिहान कतिखेर हराउँथे । तपाईंले समात्नै नपाई समयको भर्भराउँदो ज्यान फेरिइसक्थ्यो । फुस्रो काँचुली मात्र सम्झनाको तिखो र खल्लो रूप भएर बसिरहन्थ्यो तपाईंको हत्केलामा !’

०००

‘आमा, सुन्नुस् त !’
‘अघौटे धान गोड्ने बेला भइसक्यो, असारे बोडी टिप्न ढिलो भो भन्नु हुन्छ रे । घिरौंलालाई थाङग्रा नहाली भएन भन्दै कुद्नु हुन्छ रे । काँक्रालाई थाङग्रा पुगेन भनी हाम्फाल्दै झटारिनु हुन्छ रे ।’
‘त्यता सबै छोडिदिनुस् । भुलिदिनुस् जम्मै कुरा यतिबेला । सम्झिनु आफूलाई मात्र !’
‘म त मस्यौरा पार्न छिमेकीका घरमा नगई भएन भन्ने ठूलै पिरलो पोख्नुहुन्छ । ओखलमा दाँत हाल्ने चिन्ता देखाइरहनु हुन्छ । छोडिदिनुस्— यी सबै मिसमासे कुरा !’

‘आमा, तपाईंको नङ्ग्राले मात्र यो खेत खनिँदैन उर्बर हुन । तपाईंका औँलाले हाल्दा मात्र गरा हौसिने र जल–मल हुने सोच्नु पिलपिले माया हो आमा । तपाईंको स्याहारले मात्र धान्ने कतिन्जेल ? तपाईंको रेखदेखले मात्र थेग्ने कतिन्जेल ?’

‘आमा, छोडिदिनुस् यी खेत, गरा, आलीलाई । कतै राखिदिनुस् यी पाखा, फाँट र सिमखेतलाई !’
‘घरमा बस्नुस् है । घरले धेरै भो तपाईंलाई नदेखेको । आमा, आँगन छोडेर कति बाहिरै जान खोज्नुभएको ? कति पिँढी परको गोरेटोतिर हुत्तिनुभएको !’

‘केही दिन घरै हेर्नुस् । घरका अङ्ग–अङ्ग हेरेर चुप लगाउनुस् आफूलाई । घरले तपाईलाईं चिनाजानी गर्न खोज्याखोज्यै छ ।’

‘यो घर बनाउन खुबै पसिना बगाउनुभो । हातखुट्टा गलेर फतक्कै भएका थिए तपाईंका । घर बनेदेखि नै तपाईंलाई खेत, वन, दाउराले बोलाएकाबोलाएकै गरिरहे । घर ठडिएदेखि नै तपाईंलाई घाँस, पराल, खनजोत र मलबीउले डाकेकाडाकेकै गरिरहे ।’
‘आमा, तपाईंले यो घर राम्रोसँग हेर्नै पाउनुभएको छैन !’

०००

‘मेरा कुरा मन खन्याएरै सुन्नुस् त !’
‘तपाईंले लिपेका आँगन कस्तोबाट कस्तो भइसक्यो । दैलो, अगेनो पोतपात गर्न मात्र तपाईं हतारिनुभयो । तपाईंले गोबर, माटो मिलाएर पोतेका भित्ताहरू हेर्नु भएकै छैन । तपाईंले कमेरो, रातमाटो, कालीमाटीले रङ्गाएका पेटी, झ्याल र बुइँगल निहाल्नु नै भएको छैन । तपाईंले सिँगारेका ती भित्ता, बार्दली र बुर्जासँग आँखा जुधाएर खोई गफ गरेको आमा ? तपाईंले यिनलाई किन नदिने जीवनको एक छटाक समय ?’

‘तुलसीको मोठ छ एक कुनामा । वर्षमा दुई पटक तपाईं तीसँग नजिकिनु हुन्छ । नजिकै छ परालको माच । त्यसले पनि नपर्खेको होइन तपाईंलाई । मूल ढोकामा कुशको मुठो छ । आमा, यीसँग तपाईंले गहिरेर कुरै गर्नु भएको छैन । आग्लो, चुकुल, घोप्टे पनि खिन्न छन् तपाईंले समय नछुट्याएकोमा । आजभोलि समय दिने मौका आएको छ ।’

‘आमा, घरमा बसेर कुनाकानी हेर्नुस् । वरपर निहाल्नुस् र छेउकुनाको दुनियाँ पर्गेल्नुस् । किनभने यिनैमा समयका सुकिला शब्द लुकेका छन् !’

‘आमा, तपाईंलाई लाग्ला बाहिरको काममा म नजोतिएर हँुदैन । केही दिनलाई नजोतिनुस्— के समाप्त हुँदो रहेछ हेरौंल । हामी सन्तानलाई बढाउँदा जेठालाई कपाल नकोर्दैमा उसको टाउको रोगायो ? हामी सन्ततिलाई हुर्काउँदा जेठीलाई नङ पालिस नदली दिँदैमा माइलीको औँला बुच्चै भए त ?’

‘आमा, समयको गतिलाई हामी जित्दैनौं । हाम्रो पराजय आफ्नै ताल र शैलीबाट भएको हुन्छ । त्यो सामान्य हो । त्यसलाई पराजयको बिख मानेर घटघटी पिउनु पर्छ भन्ने ठान्नु पनि हुँदैन !’
‘हेरी मात्र दिए पनि कतिपय दृश्यलाई न्याय हुन्छ । ध्यान दिएर हेर्दा मात्रै पनि कति विषयलाई आदर गरेको ठहरिन्छ । आमा, तपाईंले त्यसलाई गहिरेर हेर्नु भएको छ त ?’

‘आमा, घर अगाडिको भोगटेको बोट हेर्नुस् । बोटसँग जोडिएको मौसमले ल्याइरहेको उज्यालो र सुवास अमूल्य छ । चराचुरूङ्गीका गुँड र लटरम्मै फल्ने फलले दिने ज्ञानसँग नजिकिनुस् आमा । ती छिप्पिरहेका हाँगामा समयका सबै उमेर आँख्ला–आँख्ला भएर बढेको देख्न सकिन्छ । आमा, तपाईंले हाँगा मात्र काट्नु भएको बकाइनो, पिपल र किम्मुका बोट छेउमा गएर उभिनुस् त । कति चोखो सास फेर्दा रै’छन् रूखले । तिनलाई नभेटे पनि कोठाबाटै सुन्नुहोस् ।’

०००

‘आमा, तपाईंले ऊ बेलै जाँतो, भकारी, ढिकी, टाट्नो र जुठेल्नोसँग कति बिताउनुभयो समय । हिजोआज ती सबै तपाईंबाट भएका छन् पर–पर । आमा, केही दिन यिनलाई हेर्नुस् नजिकबाट । छेउबाटै तिनको संसारलाई पढ्नुस् । एकदमै अँगालिएर तिनको मन र तनसँग गाँसिएर दिनहरू काट्नुस् ।’

‘घरसँग कत्ति कुरा छन् कत्ति । आमा, कति तपाईंले जन्माउनुभयो । कति बुबाले निर्माण गर्नुभो । कति आमा र बुबाका मेलजोलबाट बनेका सामग्री छन् । आमा, तपाईंले जन्माएका निधिलाई हेर्ने जिम्मेवारी पनि आफ्नै हो । बुबाले बनाएका सरसामानको हेरविचार पनि तपाईंकै हो । तपाईं र बुबाले सँगसँगै जन्माएका सरसामानको पालनपोषणको काम पनि तपाईंले नै गर्नुपर्ने मान्दै आएको छ संसारले ।’

‘आमा, यी सत्यबाट पर–पर नहुनु होला । समय यतिखेर तपाईंलाई यही कुरा भन्न खोजिरहेको छ ।’

‘बाहिर नजानुस् । बाहिरबाटै व्याधि पस्छ घरमा । तपाईंका पटुकीमा बेर्रिएर पस्छ । तपाईंका हत्केलामा कोचिएर भित्रिन्छ । आमा, घरमै बसेर ती व्याधिलाई पर–परै पार्नुस् । अहिलेसम्म जितेको तपाईंको शरीरले यो वृद्धकालमा किन हार्ने ? आजका मितिसम्म विजयी भएको तपाईंको ज्यानले यो कमजोर कालबेलामा किन पराजित हुने ?’
‘आमा, आफूलाई जित्न पनि बलेँसीतिर नजानुस् !’

०००

‘रोपोमा भल पस्यो नभन्नुस् । बारीमा मल अपुग भो नभन्नुस् । ड्याङमा उम्रेका झारपात उखेल्न र उकेरा लाउन ढिला भो नभन्नुस् आमा । तिनै खेत, बारी र ड्याङमा छोपिएको रोगले अँठ्यायो भने फेरि घरले तपाईंलाई गुमाउनेछ ।’

‘आमा, घरमा हरेक कोठा तपाईंसँग लाडिन, अँगालिन र छोइन खोजिरहेका छन् । तपाईं घर छोडेर बाहिर ननिस्कनुस् । बिर्सिदिनुस् बाहिरको संसार । घरको भित्र मात्र सम्झिदिनुस् । अहिले घरैको भित्रले तपाईंलाई आफन्ती र बाहिरले परचक्रीको व्यवहार देखाएको कल्पिनुस् ।’
‘त्यो कल्पाइले तपाईंलाई लामो आयु दिनेछ आमा । तपाईंको दीर्घायु नै हाम्रो निरोगिताको प्रमाणपत्र हो । एउटा गतिलो लाहाछाप हुन्छ त्यो । एउटा बलियो दस्तखत हुन पुग्छ त्यो । एउटा अकाट्य र असीमित पन्जापत्र हुन्छ— तपाईंको घर बसाइ ।’

‘आमा, मेरा कुरा सुन्नुस् । आफ्नो पाइलालाई मनैदेखि भर्‍याङतिर नझार्नुस् । भर्‍याङका सिँढीले झर्न र उकालिन सघाउँछ । सधैँ चढिदैन मात्र झरिन्छ पनि त्यत्तिकै । यतिखेर त्यही भर्‍याङबाट हामी सबै झरेर छरिएका छौँ संसारभरि । घरको सिँढी चढ्ने र उक्लने बाआमाले मात्रै त गर्नु हुन्छ ।’

‘आमा, अरूले के भने थाहा छैन । म भन्छु— सिँढी छैन भन्ने ठानेर घरमै बस्नुस् !’

०००

‘सुनिरहनु भएको छ नि आमा !’
‘सुन्नुस्, पैताला जमिनमै गाडेर पनि सुन्नुस् । शरीरलाई अरिमट्ठे बनाएरै पनि सन्नुस् । अस्थिर मनलाई चाम बाँधेरै भए पनि थिर गराई–गराई सुन्नुस् । आँखा, कान र मुखलाई फकाई–फकाई भए नि सुन्नुस् ।’

‘आमा, नङ काट्नै बिर्सेर पनि मल छर्न, बाली भित्र्याउन र गोडमेलमा जट्नु भो । अहिले समयले आफ्ना नङहरू हेर भनिरहेको छ । आमा, फुटेका हत्केलाले आली, ब्याड र आँगनको अन्नबाली थन्काउन जुट्नु भो । आज युगले आफ्ना चर्केका हत्केलामा मल्हम दल भनिरहेछ । आफ्नो संसार हिजो त्यत्तिकै पर–पर धकेल्नु भयो तपाईंले । तर आफैंले माया नगरे अरूबाट मनग्गे प्रेम नपाइने ज्ञान आजको कालले भनिरहेको छ ।’

‘आफूलाई हेर्न, माया गर्न र रहरले निहाल्न पनि भनिरहेको छ तपाईंलाई आमा !’
‘कहिल्यै गाजल, रातो लाली, सेतो फा देखिनँ । सधैँ लत्पतिएको माटो, गोबर, ध्वाँसो र लेघ्रो टाँसिन्थ्यो अनुहारमा । सधैँ लतपत र लेस्याइलो मयलले तपाईंको उज्यालो अनुहार पनि मलीन लाग्थ्यो । अब घर बसेर मुख धुनुस् । फुर्सदमा आफ्नो अनुहारसँग गराउनु छ ऐनाको देखादेख । ऐनाले भुलिसकेको भए एक पटक रमाएर तपाईंको अनुहार हेर्ने छ ।’

‘आमा, मलाई सबै रूपवतीले राम्रो भन्छन् । मेरो रूपको धुपमा ती धेरै चोटि पग्लेका छन् । मैले बल, बैँस र रूप पाएकै तपाईंकै कोख र छातीबाट । संसारले बाहिर नजा, नजा भनिरहँदा मैले पनि त्यही रूप नधमिलियोस् भनेर हात जोडिरहेको छु— बाहिर पाइला नचाल्नुस् !’
‘हेर्नुस् त घर छेउका बोटमा हरिया पातहरूमा रङ चढेकोचढेकै छ । दुबोमा केही थोपा बस्न नपाउँदै मौरी, पुतली र भँवरा आएर नुहाइधुवाइ गरेका । आमा, तपाईंले हाम्रा सन्तान बढेको देख्नु भयो । करेसाबारीमा सर्वदा, पारिजात, चमेली जगमगाएको ख्यालै गर्नु भएन । अब घरै बसेर यिनलाई मनैदेखि सँुघ्नुस् ।’

‘आमा, कसिङ्गरले घर पुरियो भने कसरी बस्ने ? कसिङ्गरबाटै त मलजल हुँदो रै’छ रोगको । आमा, तपाईंले बढारेर बाहिर फालेको फोहोर घरभित्रबाट सडकमा पुगेको हो । सडकमा तपाईं जाने बित्तिक्कै त्यही फोहोरले तपाईंलाई साथी बनाएर अँगालो हालेर घरभित्र पसिहाल्छ ।’
‘मन अडिदैन भन्नुभएको हो आमा ?’

‘त्यसो नभन्नुस् । तपाईंले हामी यति धेरै सन्तानलाई गर्भमा कसरी राखेर थिर हुनुभयो ? कसरी शान्त पार्नु भो चित्त ? कसरी आँखा, कान र मुखलाई थान्कोमा राखेर हाम्रा चकचकलाई हराउनु भो ?’

०००

‘आमा, तपाईं घरमै बस्नुस् । घरका खाँबा, दलिन, भर्‍याङ र खापाहरूसँग नाच्नुस् । संसारसँग नाच्नुभन्दा घरसँग हाँस्नु ठूलो कुरा रहेछ । यही घर बनाउन कति ठाउँमा नुहनु र भत्किनु परेको छ । अब घरसँग टाँसिनु आमा ।’

‘आमा, घरमा मान्छे बाहेक परेवा, भँगेरा हुन्छन् । अहिले त बच्चा कोरल्न आएका गौथली पनि थपिएका छन् । तिनका चालढाल र आनीबानीले कत्ति कुरा सिकाउँछ । तपाईंले एक पटक तिनलाई पनि हेर्नु न !’

‘आमा, म बसेको ठाउँमा रोग छैन । यो देशै धनी छ । अरू धेरै कुरा धनधान्य छ यहाँ । समय तन्नेरी छ, तपाईं हुनुहुन्छ वृद्ध । रोगको यो दौडमा आमा तपाईं हार्नुहुन्छ ।’
‘फोन राख्नुअघि फेरि भन्छु— महामारी उर्लेकै छ !’

‘सुन्नु त, चराचुरूङ्गीतिर हेर्न मन नभए घरका भित्तामा कुद्ने साङ्ला, माउसुली र भुसुनाहरू हेर्नू ।’
‘आखिर संसार त्यहाँ पनि त छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment