Comments Add Comment

केन्द्रीय कमिटीको डरले केपी ओली ‘वन स्टेप ब्याक’

कुर्सी भाँचिदिने चेतावनीदेखि बहुमत फुटाउने प्रयाससम्म

२ साउन, काठमाडौं । असार १० देखि जारी स्थायी कमिटीको बैठक रोकेर भदौको पहिलो साता केन्द्रीय कमिटीको बैठक बोलाउन केपी ओली, प्रचण्ड र माधव नेपाल बिहीबार बालुवाटारमा सहमत भएका थिए । शुक्रबार ११ बजे स्थायी कमिटीको बैठक बस्ने र त्यहीँबाट केन्द्रीय कमिटीको मिति तोक्ने तीन नेतावीच सहमति भएको थियो ।

तीन नेताको ‘जेन्टलमेन एगि्रमेन्ट’पछि शुक्रबार बेलुकै प्रचण्डनिवास खुमलटार र प्रधानमन्त्रीनिवास बालुवाटारमा दुई गुटका बेग्लाबेग्लै बैठकहरु बसे ।

आफ्नो गुटको भेलामा प्रचण्ड-माधव समूहका नेताहरुले केन्द्रीय कमिटीको बैठक बोलाउनु उपयुक्त हुने निश्कर्ष निकाले । तर, बालुवाटारमा बसेको ओली गुटको बैठकले भने अहिलेको अवस्थामा केन्द्रीय कमिटीको बैठकमा जाँदा आत्मघाती हुन सक्ने निश्कर्ष निकाल्यो ।

स्थायी कमिटीको निर्णयलाई त केन्द्रले अनुमोदन गर्नुपर्छ भनेर केही समय टार्न सकिएला, तर केन्द्रीय कमिटीले जे निर्णय गर्छ, प्रधानमन्त्रीले त्यसलाई मान्नैपर्ने हुन्छ भन्दै ओली पक्षका नेताहरुले ओलीलाई सतर्क गराए ।

बिहीबार राति बालुवाटारमा प्रधानमन्त्री ओलीले पोखरेलसहित महासचिव बिष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङसहित प्रदीप ज्ञवाली, विष्णु रिमाल लगायतका नेताहरुसँग छलफल गरेका थिए ।

छलफलमा अर्को पक्षको सम्भावित कदम र त्यसको सामना गर्ने रणनीतिका ओलीले परामर्श गरेका थिए । केन्द्रीय कमिटीको बैठक बोलाउन प्रधानमन्त्रीले दिउँसो गरेको सहमति उचित नभएको उनी निकटका नेताहरुले सुझाएपछि ओली अघिल्लो दिनको सहमतिबाट एकाएक ‘ब्याक’ भए ।

शुक्रबार बिहान ११ बजे बस्ने भनिएको स्थायी कमिटीको बैठक दिउँसो ३ बजेलाई सारिएको सूचना आयो । तर, ३ बजे पनि बैठक बसेन र आइतबार दिउँसो ३ बजे बस्ने गरी स्थायी कमिटीको बैठक एकै दिन दुईचोटि सारियो । यसवीचमा शनिबार सचिवालय बैठक बस्ने सूूचना आयो ।

आखिर भदौमा केन्द्रीय समितिको बैठक राख्ने विहीबारको त्रिपक्षीय सहमतिबाट प्रधानमन्त्री ओली किन ‘ब्याक’ भए ? यसको खास कारण बाहिर आइसकेको छैन ।

तर, यो परिघटनाका पछाडि दुईवटा कारणहरु हुन सक्ने नेकपाका नेताहरुको विश्लेषण छ । नाम उल्लेख नगर्ने शर्तमा एकजना स्थायी कमिटी सदस्यको विश्लेषण यस्तो छ-

प्रथम- प्रधानमन्त्री ओली स्थायी कमिटीलाई छल्नका लागि केन्द्रीय कमिटीको बैठकमा जान सहमत हुनुभएको थियो । तर, बेलुका बालुवाटारमा भेला भएका उहाँका निकटस्थहरुले त्यसबाट प्रधानमन्त्रीकै विपक्षमा निर्णय आउन सक्ने त्रास देखाइदिए ।

दोस्रो- केन्द्रीय कमिटीको सामना गर्न नसक्ने अवस्थामा पुगेपछि प्रधानमन्त्री ओली एक कदमपछि हटेको अर्थमा पनि यसलाई लिन सकिन्छ । र, सचिवालयमै छलफल गरेर प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद छाड्नुपर्ने उहाँले भित्रैबाट महसुस गर्नुभएको पनि हुनसक्छ ।’

आखिर प्रधानमन्त्री ओलीले किन केन्द्रीय कमिटी बैठकको साटो सचिवालय र स्थायी कमिटीको बैठक नै रोजे त ? केन्द्रीय कमिटीलाई टार्नका लागि मात्र हो या कुनै निकास दिनका लागि ? यसको संकेत सम्भवतः शनिबारको सचिवालय बैठक पछि नै आउला ।

तर प्रधानमन्त्री ओली केन्द्रीय कमिटीको सामना गर्ने आँट गर्न नसकेर एक कदम पछि हटेको तथ्यचाहिँ शुक्रबार दिनभरिको परिघटनाले नै पुष्टि गरिसकेको प्रचण्ड-माधव पक्षका नेताहरुको तर्क छ । तथापि वीच धारका नेताहरुचाहिँ केन्द्रीय कमिटीको बैठकमा विना एजेण्डा जानु उचित नहुने भएकाले सचिवालय र स्थायी कमिटीले केन्द्रीय कमिटीको बैठकका लिखित एजेण्डा तय गर्न आवश्यक रहेको बताउँछन् ।

कुर्सी भाँचिदिने ओलीको चेतावनी !

नेकपाका सीमित नेताहरुलाई मात्र थाहा भएको एउटा प्रसंग छ, जसले असार १० बाट शुरु भएको स्थायी कमिटी बैठक ‘न मरीजाने, न गरीखाने’ अवस्थामा पुर्‍याइदिएको थियो ।

प्रसंग हो, स्थायी कमिटीमा अल्पमतमा परेका प्रधानमन्त्री केपी ओलीले बहुमत पक्षका नेताहरुलाई दिएको कडा चेतावनी । आफूलाई प्रधानमन्त्री वा अध्यक्षबाट गलहत्याएर निकाले कुर्सी भाँच्दिन्छु, हात छाडे (कुनै एक्सन लिए) उठ्नै नसक्ने गरी जवाफ फर्काउँछु भनेर प्रधानमन्त्री ओलीले प्रचण्ड पक्षका नेताहरुलाई केही दिनअघि चेतावनी दिएका थिए ।

ओलीले पछिल्ला भेटमा प्रचण्ड लगायतका नेताहरुलाई भनेका थिए, म यो पदमा टाँसिएर बसिरहन्न । तर, गलहत्याएर निकाल्न खोज्नुहुन्छ भने तपाईहरुलाई दिन्न, यो कुर्सी भाँचिदिन्छु । म आफू हात छाड्दिनँ, तर तपाईहरुले हात छाड्नुभयो भने उठ्नै नसक्ने गरी जवाफ फर्काउँछु, त्यसको सामना गर्न तयार हुनुस् ।

आफू अल्पमतमा पर्दा पनि सचिवालय र स्थायी कमिटीलाई आफूविरुद्ध निर्णय गर्न नदिएका ओलीले अहिलेसम्म प्रचण्ड र माधव नेपाललाई भन्दै आएका थिए, ‘अध्यक्ष हुने भए महाधिवेशन पर्खिनुस, प्रधानमन्त्री हुने भए अर्को चुनावसम्म पर्खिनुस् । प्रचण्ड-माधव समूहको डर शुरुमा ओली हटाउने निर्णय गर्दा उनले संसद विघटन गर्ने, संकटकाल लगाउने, पार्टी फुटाउने जस्ता कदम चाल्छन् कि भन्ने थियो ।

केपी ओलीले भनेका कुर्सी भाँच्ने र हात फर्काउने दुई पदावलिभित्र नेकपाभित्रको संकट सुर्केनी लाग्दै आएको छ ।

बहुमतले निर्णय गरेर प्रधानमन्त्रीलाई हट्न भनेमा उनले नमान्ने घोषणा गरेका थिए । कुर्सी भाँच्छु भनेर उनले आफूलाई हटाए अरु कोही बस्न नसक्ने गरी देशलाई संवैधानिक संकटमा धकेल्छु भनेको अर्थमा प्रचण्ड माधव नेपाल पक्षका नेताहरुको बुझाइ थियो ।

यसको अर्थ ओली आफूलाई प्रचण्ड-नेपाल पक्षले निर्णय गरेर हटाउन् भन्ने चाहन्थे । त्यसैले बारम्बार उनले आफूले दुवै पद नछाड््ने भन्दै जे गर्ने हो गर्नू भनेर चुनौति दिइरहे । यद्यपि बहुमत पक्षका नेताहरु भने केपी ओलीको चेतावनीसामु झुकेको नभई पार्टी विभाजन हुन नदिन आफूहरु हदैसम्म लचिलो बनेको तर्क गर्छन् ।

प्रचण्ड-माधवको गठबन्धन भत्काउने प्रयास

यसबीचमा केपी ओलीले बहुमत पक्षभित्रै खेलेर गठबन्धन भत्काउन प्रयास पनि गरे । यसबाट उनी आफ्नो पदको सुरक्षाका लागि सबै विकल्पको सामना गर्ने तयारीमा छन् भन्ने बुझ्न सकिन्छ । तर, अन्ततः उनले केन्द्रीय कमिटीको बैठकको सामना गर्ने आँट गरेनन् र पछि हटे । प्रचण्ड र माधव नेपाल पक्षले केपी ओलीलाई दुईमध्ये एक पदबाट राजीनामा गर्न दबाब दिइरहेका बेला ओली पक्षले भने असार १० यता लगातार अध्यक्ष र प्रधानमन्त्री दुवै पद नछाड्ने बटमलाइन बनाइरह्यो ।

यसवीचमा प्रधानमन्त्री ओली स्थायी कमिटीका सदस्यहरुसँग सम्पर्कमा रहे । उनले गत वैशाखमै स्थायी कमिटी बैठक माग गरेर लिखित निवेदन दिने २० जनामध्येका कतिपय नेताहरुसँग भित्रभित्रै निकटता बढाए । घनश्याम भुसाल, योगेश भट्टराई लगायतका नेताहरुले पनि यसवीचमा बालुवाटारमा बाक्लै आउजाउ गरे ।

यसवीचमा ओली पक्षले स्थायी कमिटीमा अल्पमत र बहुमतको आधारमा निर्णय गर्ने प्रक्रियामा गए दुवै पक्षमा नलाग्ने सदस्यहरुको संख्या निणर्ायक हुने आशा गरेको देखिन्छ । बैठक माग गर्ने २० मध्ये कम्तिमा ५ जना सदस्यहरुलाई पछिल्लो समय ‘न्युट्रलाइज्ड’ गर्न सफल भइएको ओली पक्षका नेताहरुको दाबी छ । पछिल्लो समय टोपवहादुर रायमाझी, हरिबोल गजुरेल, मणि थापा, देवेन्द्र पौडेल लगायतका स्थायी कमिटी सदस्यहरु केपी ओलीप्रति नरम बनेको ओली निकट नेताहरुको दाबी छ । यसरी ओलीले स्थायी कमिटीमा आफू अल्पमतमा परेपछि अर्को पक्षको बहुमत तोडफोड गर्दै केही नेतालाई ‘न्युट्रलाइज’ गर्न खोजेको आशंका प्रचण्ड-माधव पक्षको छ ।

ओली पक्षले फेरि गृहमन्त्री बादल आफूहरुसँगै रहेको दाबी गर्न थालेको छ । ओली पक्षका नेताहरु त शनिबारको सचिवालय बैठकसम्म पुग्दा नेकपाको समीकरण फेरि अर्कैतिर पल्टिने दाबी गर्छन् ।उनीहरुको संकेत बादल र बामदेवमाथि छ । यद्यपि बादलले झम्सीखेल बैठकमा भनेका थिए, केपी ओलीको नेतृत्वमा मुलुक प्रतिक्रान्तितर्फ जान्छ, हामी समाजवादतर्फ जानुपर्छ ।

संसदीय दलमा पनि ओलीको कसरत

केपी ओली पक्षले संसदीय दलमा पनि आफ्नो बहुमत कायम गर्ने प्रयास यसवीचमा जारी नै राखेको छ । बालुवाटारमा विभिन्न सांसदहरुलाई बोलाएर छलफल चलिरहेको छ । दुवै पक्षले यसअघि नै सांसदहरुको हस्ताक्षर गराइसकेका छन् । केही सांसदले दुईतिर हस्ताक्षर गरेका छन् भने केहीले दुवैतिर गरेका छैनन् ।

आखिर, स्थायी कमिटीमा करीब दुईतिहाई बहुमत रहेको प्रचण्ड-माधव नेपाल समूह किन केपी ओलीको हठ सामु रक्षात्मक बनिरहेको छ ? स्थायी कमिटीका बहुमत सदस्यहरुले प्रधानमन्त्री ओलीलाई किन हटाउन सकेनन् ? तीन सातासम्म बैठक किन सरेको सर्‍यै गर्‍यो ? साउन २ गते स्थायी कमिटीको बैठक बसेर भदौको पहिलो साता केन्द्रीय कमिटीको बैठक राख्ने सहमति आज एकाएक किन उल्टियो ? फेरि किन दुई अध्यक्षकै वीचमा छलफल गर्ने र सचिवालय बैठक बस्ने भनियो ?

यी विविध प्रश्नहरुको एकमुष्ट जवाफ सम्भवतः शनिबार बस्ने भनिएको सचिवालय वा आइतबारको स्थायी कमिटी बैठकबाट आउला ।

तेस्रो धार भन्छ- ओलीले एउटा पद छाड्नैपर्छ

यसैवीच, प्रधानमन्त्री ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पद नछाड्ने अडान लिइरहेका बेला घनश्याम भुसालको पहलमा संगठित बनेको तेस्रो धारले पनि दुईमध्ये एक पद छाडेर प्रधानमन्त्री ओलीले निकास दिनुपर्ने निचोड निकालेको छ ।

पूर्वएमाले र पूर्वमाओवादीका ११ जना स्थायी कमिटीका सदस्यहरु सम्मिलित तेस्रो धारका एक नेताले अनलाइनखबरसँग भने, ‘निकास दिने काम अध्यक्ष एवं प्रधानमन्त्रीकै हो, उहाँले दुईमध्ये एक पद छाडेर निकास दिनैपर्छ र पार्टीको एकता बचाउनुपर्छ ।’

आफ्नो पक्षमा बहुमत जुटाउन हरप्रकारका प्रयासहरु गर्दा पनि सफलता हात नलागेपछि अन्ततः प्रधानमन्त्री ओली एक कदम पछाडि सर्दै दुईमध्ये एक पद छाड्न नरम देखिएको नेकपाको उच्च स्रोतले अनलाइनखबरलाई बतायो । यद्यपि यसको पुष्टिका लागि भने शनिबारको सचिवालय बैठकसम्म कुनैपर्ने ती नेता बताउँछन् । प्रधानमन्त्री ओलीले शनिबार पनि निकास दिएनन् भने आइतबारको स्थायी कमिटी बैठकले भदौको पहिलो साता बस्ने गरी केन्द्रीय कमिटी बैठकको मिति तय गर्ने ती नेताको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment