News Summary
Generated by OK AI. Editorially reviewed.- एमालेमा केपी ओलीको नेतृत्व बदल्ने बहस मत्थर हुँदा विद्यादेवी भण्डारी पार्टीभित्र प्रवेश गरेकी छन्।
- केन्द्रीय कमिटी बैठकले ओलीको राजनीतिक प्रतिवेदन पारित गर्दै उनको नेतृत्व हटाउने प्रस्ताव अघि बढाएन।
- ओलीले केन्द्रीय समितिमा १० प्रतिशत मनोनयन गरे र स्थायी कमिटीमा ईश्वर पोखरेललगायतलाई प्रवेश गराए।
८ असोज, काठमाडौं । एमालेमा गत वर्षको जेनजी आन्दोलपछि तीब्र सुरू भएको केपी ओलीको नेतृत्व बदल्ने बहस अब तत्कालका लागि मत्थर भएको छ । पार्टी रुपान्तरणको मुद्दा उठाइरहेकी पूर्वराष्ट्रपति समेत रहेकी एमालेकी पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारी समेत अब पार्टीभित्रै प्रवेश गरेकी छन् ।
अब एमालेमा ओली बदल्नु पर्छ भन्नेहरूले वैधानिक रुपमै पार्टी कमिटी भित्रै विद्या भण्डारीको अभिभावकत्व पनि पाएका छन् । ओलीलाई नियन्त्रण र सन्तुलनमा राख्न भण्डारीको प्रवेशले सहज हुने उनीहरूको ठम्याइ छ । जेनजी आन्दोलन लगत्तै ओलीको नेतृत्व असफल भएको भन्दै एमालेमा चर्को आवाज उठेको थियो ।
त्यही आवाजलाई सम्बोधन गर्न गत वर्ष मंसिरमा एमालेले निर्धारित समय भन्दा दुई वर्ष अगावै पार्टीको महाधिवेशन गरेको थियो । उक्त महाधिवेशनमा ओलीलाई हटाउने प्रयास भएपनि ओली झन् ठूलो शक्ति आर्जन गर्दै अध्यक्षमा दोहोरिए । विद्यादेवि भण्डारी समेतको समर्थनमा बनेको ईश्वर पोखरेलको प्यानलबाट जम्मा दुई जना मात्र पदाधिकारीले जिते। ओली पक्षकै नेताहरूको महाधिवेशनमा एक छत्र भएको थियो ।
तर अध्यक्षमा पुनरागमन गरेर आएका ओलीको नेतृत्वमा नै चुनावमा जाँदा गत फागुन २१ को चुनावमा एमाले शर्मनाक रुपमा हार्यो । त्यसपछि एमालेमा विस्तारै ओलीको नेतृत्वमा पुन पार्टी अघि बढ्न नसक्ने धारणा बन्न थाल्यो ।
त्यसको नेतृत्व गत महाधिवेशनमा ओलीलाई नै अध्यक्ष दोहोर्याउन मुख्य भूमिका खेल्ने उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले नै गरे । निर्वाचनको समीक्षाका नाममा एमालेको पुनर्गठन र रुपान्तरणको एजेण्डा उठ्न थाल्यो । त्यसलाई सम्बोधन गर्न तल्लोतहबाटै पार्टीले सुझाव संकलन गर्यो । प्रत्येक प्रदेशबाट आएका सुझावहरुमा एमालेको वैचारिक रुपान्तरण देखि अध्यक्ष ओलीको नेतृत्व फेर्नुपर्ने सम्मका धारणा थिए ।
ती सबै धारणाहरूलाई एकीकृत बनाएर प्रतिवेदन पेश गर्नका लागि उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा एउटा कार्यादल नै बनेको थियो । तर उक्त कार्यदलभित्र नै दुई समूह भएपछि विवाद उत्पन्त भयो । थापाले एउटा र महासचिव शंकर पोखरेलले अर्कै प्रतिवेदन तयार गरे । थापाको प्रतिवेदनमा ओलीको अत्यधिक बचाउ गरिएको थियो । पोखरेलको प्रतिवेदनमा ओलीको रुपान्तरण हुनुपर्ने धारणा थियो । दुवैको प्रतिवेदनलाई मिलाएर एकरुपता दिने कोसिस भएपनि विवादका कारण त्यो सम्भव भएन ।
ओलीले आफू कमजोर हुने भएपछि नेता प्रदीप ज्ञवालीलाई अघि सारेर अर्को तेस्रो प्रतिवेदन पारे । तीनवटा प्रतिवेदनहरूलाई एक ठाउँमा राखरे गत सोमबार अध्यक्षलाई प्रतिवेदन बुझाइएको थियो । तर केन्द्रीय समितिमा अध्यक्ष ओलीले उक्त प्रतिवेदन नै पेश गरेनन् । बरु आफ्नो छुट्टै राजनीतिक प्रतिवेदन ल्याए ।
उनले ल्याएको राजनीतिक प्रतिवेदनमा विगतमा कमीकमजोरीहरू रहेको भन्दै केही रियलाइजेसन छ । ओलीले सच्याएर र समीक्षा गरेर जान सकिने धारणासहितको प्रतिवेदन ल्याएका थिए । तर ओलीले आफू वैधानिक रुपमा महाधिवेशनबाट अध्यक्ष बनेको र त्यसरी निर्वाचित भएको एक वर्ष नपुग्दै आफूलाई हटाउने कुराको तीव्र विरोध गरेका छन् । प्रतिवेदनमै उनले यस्ता प्रयासहरूप्रति आपत्ति प्रकट गरेका छन् । जुन प्रतिवेदनलाई बिहीबार सकिएको केन्द्रीय कमिटी बैठकले पारित गरेको छ ।
ओलीले केन्द्रीय कमिटी बैठकको उद्घाटनको दिन सोमबार सुरूमै कडा रुपमा सम्बोधन गरेका थिए । आफूलाई हटाउनुपर्छ भन्ने सम्भावित स्वरलाई चर्को हुन नदिने गरी उनले बैठकमा अनुशासनको कुरा गरेका थिए । बैठकको सुरुवातै उनले गरेका थिए । विगतमा जस्तो बैठक सञ्चालनको काम महासचिव शंकर पोखरेललाई दिएनन् ।
बैठकको उद्घाटनमा महासचिवलाई पनि भूमिका दिने विगतको परम्परा तोड्दै उनले विधानले दिएको अध्यक्षको अधिकार प्रयोग गरेको भन्दै एकल प्रस्तुति दिएका थिए । सोमबारको ओलीको शैलीमा चित्त नबुझाएका महासचिव शंकर पोखरेलले सोमबार साँझ नै गुण्डु पुगेर अध्यक्षसँग कुराकानी गरे । त्यही कुराकानी पछि मंगलबारबाट एमाले बैठकको दृश्य बदलियो ।
महासचिव पोखरेलले अध्यक्ष ओली तत्कालै हट्नुपर्छ भन्ने धारणा राखेनन् । पोखरेलले व्यक्ति पदमा रहने नरहने भन्दा पनि पार्टीको वैचारिक रुपान्तरण र सांगठनिक रुपान्तरणका कुरालाई सैद्धान्तिक हिसाबले राखेका थिए । उनले कार्यदलले प्रतिवेदनको स्वामित्व लिएरै यसले औंल्याएका समस्याहरूको निराकरणको कुरा गरेका थिए । उनले अध्यक्षलाई हटाउने खालका विशेष महाधिवेशन र प्रस्तावहरू आफूले नल्याउने धारणा पनि राखेका थिए ।
महासचिव पोखरेलकै लयमा उपाध्यक्ष विष्णु पौडेलले पनि कुरा राखेका थिए । दुई मुख्य नेताहरूले नै मध्यमार्गी धारणा राखेपछि एमाले बैठकमा बहुसंख्यक नेताहरूले मध्यमार्गी धारकै कुरा गरेका थिए । अब स्थानीय तहको चुनावमा लाग्ने पार्टी एकताबद्ध भएर अब संगठनको काम गर्ने धारणा राखेका थिए । तर बैठकमा उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विस्ट, रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई लगायतका पदाधिकारीहरूले अध्यक्षले मार्ग प्रशस्त गरेर अघि बढ्दा मात्र एमाले अघि बढ्न सक्ने धारणा राखेका थिए । तर यस्तो धारणा राख्नेहरू निर्णायक अवस्थामा पनि पुगेनन् ।
केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओलीले सुरूकै दिनमा केन्द्रीय सदस्य मनोनीत स्थायी समिति बनाउने लगायतका एजेण्डा ल्याएका थिए । बिहीबार उनले केन्द्रीय समितिमा १० प्रतिशत मनोनयन गरे । स्थायी कमिटीमा पनि ईश्वर पोखरेल लगायतका नेताहरूलाई प्रवेश गराए । मुख्य कुरा त उनले पार्टीभित्र विद्या भण्डारीलाई आफूपछिको पोजिसन दिएर भित्राएका छन् । यसले तत्काललाई एमालेमा विद्या भण्डारी सहितको बाहिरी समूह पनि पार्टीमै समाहित भएको छ ।
प्रतिक्रिया 4