Comments Add Comment

डोटीमा समुदायस्तरमा कोरोना परीक्षण सुरु : २२० नमुना संकलन

७ साउन, डोटी । डोटी जिल्लामा समुदायस्तरमा कोरोना फैलिएको/नफैलिएको जानकारी लिन स्वाब संकलन सुरु भएको छ ।

स्वास्थ्य कार्यालय, डोटीका प्रमुख रमेश मलासीले दिएको जानकारी अनुसार जिल्लाका नौवटै स्थानीय तहहरुबाट प्रतिनिधिमूलक तरिकाले समुदायस्तरमा स्वाब संकलनको कार्य सुरु भएको छ ।

‘प्रत्येक पालिकालाई चार क्लस्टरमा विभाजन गरेका छौं,’ मलासीले भने, ‘भारतबाट आएकाहरुको संख्या बढी भएको क्षेत्र र कम भएको क्षेत्रहरुलाई क्लस्टिरिङ्ग गरिएको छ,’ उनले ठुलो क्लस्टरबाट प्रति क्लष्टर २५ जना र सानो क्लस्टरबाट प्रतिक्लस्टर २० गरी एक स्थानीय तहबाट ९० जनाको स्वाव संकलन गर्ने लक्ष्य लिएको बताए ।

‘हामीले करिब नौ सय स्वाब संकलन गर्ने योजना बनाएका छौं,’ मलासीले भने, ‘दुई चार तलमाथि हुने सम्भावना छ ।’ उनले ट्राभल हिस्ट्री नभएका, समुदायमै रहेका र परीक्षण निर्देशिका अनुसारको मापदण्डमा नपरेका व्यक्तिहरुको स्वाब संकलन भइरहेको बताए ।

उनले बुधवारसम्म केआई सिंह गाउँपालिकाबाट ७०, पूर्वीचौकी गाउँपालिकाबाट एक सय र शिखर नगरपालिकाबाट ५० नमुना संकलन गरी डडेल्धुरा अस्पतालको प्रयोगशालामा पठाइएको जानकारी दिए ।

यो स्वाबको नतिजा आएपछि मात्रै समुदायस्तरको कोरोनाको अवस्थावारे जानकारी हुने मलासी बताउँछन् ।

क्वारेन्टिनमा बसेका १२५२ को रिपोर्ट आउन बाँकी

भारतका विभिन्न शहरबाट आई क्वारेन्टिनमा बसेका एक हजार २५२ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख मलासी बताउँछन् । विभिन्न स्थानीय तहमा रहेका क्वारेन्टिनबाट स्वाब संकलन गरी पठाइएको उनले बताए ।

जिल्लाका नौ स्थानीय तहमध्ये आठ स्थानीय तहका क्वारेन्टिनहरुमा हाल ४८९ महिला र एक हजार ६४ पुरुष गरी एक हजार ५५३ जना रहेका छन् । सबैभन्दा बढी आदर्श गाउँपालिकामा ५२० जना क्वारेन्टिनमा रहेका छन् ।

यस्तै सायल गाउँपालिकामा ४८५, शिखर नगरपालिकामा ४७८, दिपायल सिलगढी नगरपालिकामा ३९, के.आई.सिंह गाउँपालिकामा १४, जोरायल गाउँपालिकामा १२, बोगटान फुड्सिल गाउँपालिकामा तीन र बडीकेदार गाउँपालिकामा दुई जना क्वारेन्टिनमा रहेका छन् । जिल्लामा भारतबाट आउने क्रम रोकिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment