Comments Add Comment

कक्षा ११ का विद्यार्थीले ‘डी प्लस’ ल्याउनैपर्ने

८ साउन, काठमाडौं । कक्षा १२ को परीक्षामा सहभागी हुन विद्यार्थीले कक्षा ११ का हरेक विषयमा सैद्धान्तिक तर्फ ‘डि प्लस’ ग्रेड ल्याउनै पर्ने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डद्वारा जारी ‘कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन तथा प्रमाणीकरण कार्यविधि’ मार्फत सैद्धान्तिकमा ‘डि प्लस’ र प्रयोगात्मक विषयमा न्यूनत्तम ‘सी’ ल्याउनै पर्ने व्यवस्था गरिएको हो ।

यसअघि बोर्डले लिँदै आएको कक्षा ११ को वार्षिक परीक्षा सम्बन्धित विद्यालयले नै लिने भएपछि त्यसका लागि कार्यविधि जारी गरिएको हो । शिक्षा ऐनमा कक्षा ११ को परीक्षा बोर्डले लिनै पर्ने व्यवस्था थिएन ।

सम्बन्धित विषय पठनपाठन गर्ने शिक्षक, प्रधानाध्यापक र विद्यालयलाई नै उत्तरदायी बनाएर परीक्षा सञ्चालन गरिने कार्यविधिमा उल्लेख छ । कार्यविधिमा प्रधानाध्यापक अध्यक्ष, सम्बन्धित कक्षा शिक्षक र विषयगत शिक्षकहरू मध्येबाट प्रधानाध्यापक/प्राचार्यबाट मनोनीत शिक्षक सदस्य रहने गरी परीक्षा तथा प्रमाणीकरण समिति गठनको व्यवस्था गरिएको छ ।

सैद्धान्तिक र प्रयोगात्मक दुबै परीक्षाको मूल्यांकनको अधिकार पनि प्रधानाध्यापक नेतृत्वको यही समितिलाई दिइएको छ ।

यसैबीच, आगामी शैक्षिक सत्रदेखि विद्यालयबाट ‘पास आउट’ भएका विद्यार्थीको लब्धांक पत्रमा कक्षा १२ को मात्रै अंक राखिने भएको छ । बोर्डले सञ्चालन गरेको कक्षा ११ को परीक्षा दिइसकेका विद्यार्थीले भने ११ र १२ कक्षाकै मार्कसिट सहितको प्रमाण पत्र पाउने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment