Comments Add Comment

कांग्रेसमा अनुशासनको कारबाही : देउवा र पौडेलको स्वार्थ मिल्यो !

११ साउन, काठमाडौं । नेपाली कांग्रेसको अनुशासन समितिमा १२ सय बढी उजुरी परेको थियो । स्वयं पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध पनि उजुरी परेको थियो ।

तर, अनुशासन समितिमा पूर्वमन्त्रीद्धय गोविन्दराज जोशी, पुस्करनाथ ओझा र डडेल्धुरा कांग्रेसका कार्यालय सचिव रामबहादुर विष्टलाई पार्टीबाट निस्काशन गर्ने निर्णय गर्‍यो भने अरुलाई सचेत गराएर छाड्यो ।

अरुलाई माफी दिएको कांग्रेसले किन तीन नेतालाई मात्र कारबाही गर्‍यो त ? नेताहरु भन्छन्, ‘आन्तरिक राजनीतिमा दुई धारमा रहेका सभापति र वरिष्ठ नेताको स्वार्थ मिल्यो ।’

सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेलको सहमतिमा अनुशासनको कारबाही भएको सन्देश गएको गुनासो पौडेल समूहमा सुनिएको छ । आइतबार बसेको पौडेल समूहका शीर्ष नेताहरुको बैठकमा सहभागीहरुले असन्तुष्टि जनाएका थिए । एक नेता भन्छन्, ‘हामीले त छोडिदिनुस् भनेका हौं तर, रामचन्द्र दाइले व्यक्तिगत इस्यु बनाउँदा सभापतिलाई अप्ठ्यारोमा पार्ने एउटा ठाउँ हामीले गुमायौं ।’

नेताहरुका अनुसार पौडेलकै जोडबलमा पूर्वसहमहामन्त्री जोशीलाई ५ वर्ष पार्टीबाट निस्काशन गरिएको हो । पौडेल र जोशी प्रतिनिधिसभा सदस्यको टिकटका दावेदार थिए । पौडेल तनहुँ १ मा उम्मेदवार भएपछि जोशीले पनि उम्मेदवारी दिए तर निर्वाचन आयोगले उनको उम्मेदवारी बदर गर्ने निर्णय गर्‍यो ।

आफ्नो उम्मेदवारी नै खारेज भइरहेको अवस्थामा बागी उम्मेदवार बनेको आरोपमा कारबाही गर्नु उपयुक्त नहुने जोशीको तर्क थियो ।

तर अनुशासन समितिले पौडेललाई भोट नमागेको र जिल्लामा समानान्तर कमिटी बनाएको भन्दै कारबाही गरेको छ । ‘प्राप्त प्रमाणहरुका आधारमा उहाँलाई कारबाही गर्ने निर्णय गरिएको हो’ आयोगका सदस्य धनराज गुरुङले अनलाइनखबरसँग भने ।

यस्तै पुस्करनाथ ओझा र रामबहादुर विष्टमाथि गरिएको कारबाही भने देउवाको चाहनाअनुसार भएको छ ।

देउवा पत्नी आरजु राणा कैलाली ५ मा उम्मेदवार बनेकी थिइन्, जहाँ २०७० सालको उपनिर्वाचन जितेका पूर्वमन्त्री जोशी पनि टिकटको आकांक्षी थिए । सभापति पत्नी टिकट लिएर आएपनि उनी खुलेर प्रचारमा आएनन् ।

तर, उनीमाथि आरजुलाई हराएको आरोप लाग्यो । अडियो प्रमाण समेत आएकाले कारबाही गरेको अनुशासन समितिको दाबी छ । तर, कैलालीमा ओझा पक्षीय नेताहरुले पूर्वाग्रही ढंगले कारबाही गरेको भन्दै फिर्ता गर्न माग गरिरहेका छन् ।

आरजुलाई धनगढीमा स्थापित गर्ने उद्देश्यले ओझालाई कारबाही गरेको कैलाली कांग्रेसका सचिव पूर्ण कुँवरले बताए । ‘आरजू म्याडमले आˆनो लागि क्षेत्र तयार गर्न खोज्नुभएको हो’ उनले भने, ‘यो दीर्घकालमा उहाँकै लागि पनि घातक हुन्छ ।’

विद्रोही उम्मेदवार र ओझालाई एउटै कारबाही गरिएको ओझा पक्षका नेताहरुको गुनासो छ । ‘उम्मेदवार चित्त नबुझे घरमा बस्छु भन्न पाइन्छ । घरमा बस्यो भन्दैमा कारबाही गर्न पाइँदैन’ उनले भने ‘यो कारबाहीले कैलालीमा मात्रै होइन, सुदूरपश्चिम प्रदेशमै कांग्रेसलाई प्रतिकुल असर पर्छ ।’

उनले सोमबार यस विषयमा छलफल गर्ने बताए । ‘ क्षेत्रका साथीहरूसँग छलफल गरेर हामी अगाडि बढ्छौँ’ उनले भने ‘यो निर्णय तत्काल फिर्ता हुनुपर्छ ।’

डडेलधुराका कार्यालय सचिव रामबहादुर विष्टमाथिको कारबाही पनि देउवा र आरजुकै चाहना अनुसार हो । डडेलधुरामा देउवा र जिल्ला सभापति कर्ण मल्लको विवाद छ र त्यस कारण विष्टमाथि कारबाही भएको नेताहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment