Comments Add Comment

चन्द्रागिरिमा ‘एक घर, एक स्नातक’  कार्यक्रम 

चन्द्रागिरि नगरपालिका कार्यालय भवन

१२ साउन, काठमाडौं । चन्द्रागिरि नगरपालिकाले ‘एक घर, एक स्नातक’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

काठमाडौँ उपत्यका प्रवेशको मुख्य नाकामा रहेको चन्द्रागिरिले नगरपालिकाभित्रका सबै जनतालाई शिक्षित बनाउन उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो । चन्द्रागिरिले आर्थिक वर्ष २०७७/७८ को बजेटमा समेत उक्त कार्यक्रमलाई अगाडि सारेको छ ।

चन्द्रागिरिले नगरपालिकाभित्र रहेका विद्यालय तथा क्याम्पसको गुणस्तरीय शैक्षिकस्तरमा एकरूपता कायम गर्न सहकार्य गर्ने, नगरस्तरीय पाठ्यक्रम निर्माण गरी अध्यापन गराउने, सामुदायिक विद्यालयलाई शैक्षिक गुणस्तरमा सुधार गर्ने नीतिलाई निरन्तरता दिँदै शिक्षक, विद्यालय व्यवस्थापन समिति र अभिभावकको क्षमता अभिवृद्धि गर्ने भएको छ ।

प्राविधिक शिक्षालाई प्राथमिकता दिन चन्द्रागिरिले नगरस्तरीय प्राविधिक शिक्षालयको निर्माण गर्ने, बाल कक्षा सञ्चालनका लागि अनुदान रकम उपलब्ध गराउने, नगरपालिकाभित्र खेलकूद मैदान निर्माण गर्ने, खेल क्षेत्रको विकासका लागि नगर खेलकूद समिति गठन गर्ने, वडास्तरीय मेयर कप फुटबल प्रतियोगिता आयोजना गर्ने, ‘ए’ डिभिजन फुटबल सञ्चालन गर्ने जनाएको छ ।

चन्द्रागिरिभित्र रहेको मदन भण्डारी खेल मैदानलाई अन्तर्राष्ट्रियस्तरको खेल मैदानका रूपमा विकास गर्नाका साथै नैकाप, मातातीर्थ र वनदेवी खेल मैदानलाई राष्ट्रियस्तरको खेल मैदानका रूपमा विकास गर्ने बताइएको छ ।

विदेशबाट फर्किने र स्वदेशमै रहेका युवालाई रोजगारीका लागि सीपमूलक तालीम दिइने, गरिब, जेहेन्दार, दलित, जनजाति, महिला, मधेशी पिछडिएको वर्ग, अपाङ्गलाई निश्चित कोटा निर्धारण गरी जीवन निर्वाह छात्रवृत्ति प्रदान गरी अध्ययनको पहुँच विस्तार गर्ने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयको स्तरवृद्धि गरी कक्षा १ देखि १० सम्म सञ्चालित विद्यालयमध्ये सक्षमता र उपयुक्तताका आधारमा कक्षा १२ सम्मको अनुमति प्रदान गर्ने, सामुदायिक विद्यालयका छात्रछात्रालाई दिवाखाजा र छात्रालाई सेनिटरी प्याड वितरण गर्ने, शैक्षिक विज्ञको सेवा लिने नीतिलाई अवलम्बन गर्ने भएको छ ।

नगर प्रमुख घनश्याम गिरीले नगरभित्र बसोबास गरी सरकारी सेवा र सुविधा लिने राष्ट्रसेवक तथा जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्यरूपमा सरकारी विद्यालयमा अध्यापन गराउने व्यवस्था नगरपालिकाले अगाडि सारेको जानकारी दिए ।

चन्द्रागिरिले नगरस्तरीय प्रगतिशील पाठशाला सञ्चालनमा ल्याउने, युवालाई उद्यमशील र रोजगार बनाई विदेश पलायन रोक्न र आयात घटाउन परियोजना प्रस्ताव लिई सहुलियत दरमा कर्जा प्रदान गर्ने, युवाको विकास र परिचालन गर्न टोल तथा वडास्तरमा युवा क्लब गठन गर्ने भएको छ ।

यसैगरी सीप तथा क्षमता अभिवृद्धि गर्न र परम्परागत सीपलाई पुनःजागरण गर्न तथा शैक्षिक क्षेत्रको गुणस्तरलाई वृद्धि गर्न नगरभित्र सिकाइ अध्ययन केन्द्र सञ्चालनमा ल्याउने चन्द्रागिरिले तयारी गरेको छ ।

‘चन्द्रागिरि नगरको इच्छा, छोरीबुहारीलाई उच्च शिक्षा’ भन्ने नारालाई सार्थक बनाउन नगरका छोरीबुहारीलाई उच्च शिक्षा प्रदानका लागि उपमेयर छात्रवृत्ति प्रदान गर्ने, नगरस्तरीय महिला भलिबल प्रतियोगिता सञ्चालन गर्ने, चन्द्रागिरि पर्वतीय साइक्लिङ दौड प्रतियोगिता आयोजना गरिने भएको छ ।

नगरपालिकाले विभिन्न खेलकूदका लागि नगरबाट खेलाडी उत्पादन गर्न विशेष प्रक्रिया चाल्नुका साथै विद्यालय तथा सिकाइ केन्द्रमा कोभिड–१९ बाट बच्ने उपायको सचेतना अभिवृद्धि गर्ने भएको छ । चन्द्रागिरिले आव २०७७/७८ का लागि रु एक अर्ब ४९ करोड ६२ लाख बराबरको बजेट विनियोजन गरेको छ । नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकता दिएर बजेट विनियोजन गरेको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment