Comments Add Comment

लकडाउन खुकुलो भएपछि चम्कियो दुई पांग्रे सवारी व्यापार

१२ साउन, काठमाडौं । असार १ मा सरकारले लकडाउनलाई खुकुलो (लुजडाउन) गर्ने निर्णय गरेपछि मोटरसाइकल सो–रुमहरु खुल्न थाले । सुरुमा नेपालमा मोटरसाइकल एसेम्बल र आपूर्ति गरेर बेच्ने सबै कम्पनीको लक्ष्य थियो, कम्तीमा सञ्चालन खर्च जुटाउन सक्ने गरी ब्यापार गर्ने ।

त्यसकै लागि कम्पनीहरुले ग्राहकका लागि ‘अफर’ ल्याए । असार महिना मोटरसाइकल किन्नेका लागि ‘अफ सिजन’ मानिन्छ । र पनि, केही कम्पनीले अफरका बलमा महत्वाकांक्षी लक्ष्य निर्धारण गरेर मार्केटिङ विभागलाई दबावमा पारे ।

एउटा कम्पनीले असारमा ३ हजार बाइक बिक्री गर्ने लक्ष्य राखेकोमा लकडाउन खुल्नासाथै ३३ सय हाराहारी बिक्री गर्न सफल भयो । लकडाउन खुकुलो भएपछि नेपालमा मोटरसाइकल बिक्री पुरानै अवस्थामा फर्किएको यसले देखाउँछ ।

सतुंगलस्थित दुई पांग्रे सवारी कार्यालयमा असारमा मात्र ६ हजार ३० वटा नयाँ मोटरसाइकल दर्ता भए । साउन लागेयता १८ सय वटा दर्ता भइसकेको कार्यालय प्रमुख दीपक पोखरेल बताउँछन् ।

‘हाम्रो कार्यालयमा सामान्य अवस्थामा महिनामा ५ हजारदेखि ८ हजार मोटरसाइकल दर्ता हुने गरेकोमा यसपाली असारमै ६ हजारभन्दा बढी दर्ता हुनुले दुई पांग्रे सवारीको बिक्री पुरानै अवस्थामा फर्किएको देखाउँछ,’ उनी भन्छन् ।

दशैंतिहारका बेला नयाँ मोटरसाइलको दर्ता बढी हुने उनको भनाइ छ । देशभरका अन्य यातायात कार्यालयमा कति दुईपांग्रे दर्ता भए भन्ने विवरण यातायात व्यवस्था विभागमा आइसकेको छैन ।

कुन कम्पनीको कस्तो व्यापार ?

लुजडाउनपछि दुई पांग्रे सवारी बिक्रेता कम्पनीले ब्यापार बढाउन ठूलो जोडबल लगाउनु परेन । शोरुमहरुमा ग्राहकको भिड लाग्न थालेपछि सेवा दिनै भ्याइनभ्याई भइदियो ।

नेपालमा धेरै बिक्री हुनेमध्येको मोटरसाइकल यामाहाको आधिकारिक बिक्रेता एमअएडब्ल्यु इन्टरप्राइजेजका प्रवन्ध निर्देशक विष्णु अग्रवाल लुजडाउनपछि अपेक्षा गरेभन्दा राम्रो ब्यापार भएको बताउँछन् ।

उनका अनुसार सामान्य अवस्थाको तुलनामा ७० प्रतिशतको व्यापार भइरहेको छ । यसलाई उनी कोभिड– १९ को महामारीबीचमा अपेक्षा गरिएको भन्दा धेरै भन्छन् ।

होन्डा मोटरसाइकलको आधिकारिक वितरक स्याकार ट्रेडिङ प्रालिका प्रवन्ध निर्देशक शौरभ ज्योतिलाई लागेको थियो, अब लामो समयसम्म मोटरसाइकल तथा स्कुटरको ब्यापार सामान्य अवस्थाको तुलनामा ३० प्रतिशतसम्म मात्रै कायम रहन्छ होला ।

तर, शो–रुम खुल्नासाथ मोटरसाइकल र स्कुटर किन्ने ग्राहकको संख्या देखेर उनी छक्क परे । उनका अनुसार, असारमा साधारण अवस्थाको जस्तै होन्डा मोटरसाइकलको व्यापार भयो, जुन क्रम जारी छ । दुई पांग्रे सवारीको व्यापार अरु क्षेत्रको भन्दा छिटो ‘रिकभर’ हुने देखिएको ज्योति बताउँछन् ।

बजाज बाइक बेचिरहेको ‘एचएच कम्पनी’को पनि अनुभव त्यस्तै छ । बजाजका मोटरसाइकलको ब्यापारले राम्रो ‘पिक–अप’ लिएको कम्पनीका एकजना बिक्री प्रतिनिधिले बताए । कम्पनीको ब्यापार विगतको वर्षायामका महिनाहरूको भन्दा ७० प्रतिशत बढी व्यापार भइरहेको छ ।

उनकाअनुसार लकडाउन सहज हुनासाथै यसरी ब्यापार उकासिएला भनेर कम्पनी व्यवस्थापनले सोचेको थिएन, तर शो–रुमहरु खुल्नासाथ ग्राहक आगमन राम्रो रह्यो ।

हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङले पनि असारमा अनपेक्षित ब्यापार गर्‍यो । लुजडाउनपछिका केही दिनमा ग्राहकले उत्साहजनक रुपमा मोटरासइकल र स्कुटर किनेको बताउँछिन्, कम्पनीकी मिडिया संयोजक शितल दाहाल ।

उनी भन्छिन्, ‘मोटरसाइकल बिक्रीको लागि असार ‘अफसिजन’ हो, र पनि ग्राहकको संख्या राम्रो देखियो ।’

किन झुम्मिए मोटरसाइकल क्रेता ?

मोटरसाइकलको ब्यापार बढ्नुको कारणबारे सबैजसो बिक्रेताको समान विश्लेषण छ– सरकारले असार १ पछि लागु गरेको जोर–बिजोर यातायात प्रणली । सार्वजनिक सवारी बन्द रहेको त्यो अवस्थामा तीन खाले ग्राहक मोटरसाइकल शोरुममा पुगे ।

घरमा एउटा मात्रै सवारी भएकाहरुलाई जोर–बिजोर दुबै हुने गरी व्यवस्थापन गर्नु थियो । एउटा मोटरसाइकल भएकाहरुले मात्र होइन, कार भएकाहरुले पनि अप्ठेरो पर्ने दिनका लागि बाइक वा स्कुटर किने ।

सार्वजनिक सवारीमै कार्यालय आउ–जाउ गर्नेहरुले पनि सार्वजनिक यातायात नचलेकाे समयमा कार्यालय जान मोटरसाइकल वा स्कुटर किने ।  सार्वजनिक सवारीमा भर परिरहेका कार्यालयमा काम गर्नेदेखि घरका कामकाजी महिलासम्मले मोटरसाइकल वा स्कुटर किनिरहेको बिक्रेताहरु बताउँछन् ।

अहिले लकडाउन खुलेर जोर–बिजोर प्रणाली हटिसकेको छ । सार्वजनिक सवारी पनि चलेका छन् । र पनि, मोटरसाइकल किन्नेको संख्या सन्तोषजनक रहेको बिक्रेता कम्पनीहरु बताउँछन् ।

‘कोभिड– १९ रहिन्जेल सकेसम्म सार्वजनिक सवारीमा नचढौं भन्ने मनसायले दुई पांग्रे सवारीको माग बढेको देखिन्छ,’ स्याकार ट्रेडिङका प्रवन्ध निर्देशक ज्योति भन्छन्, ‘अहिले पनि दुई पांग्रेको व्यापार सामान्य अवस्थाकै जस्तो हुनुले मान्छेहरु कोभिड– १९ प्रति सचेत भएर सवारीको जोरजाम गर्दैछन् भन्ने देखाउँछ ।’

सरकारले सवारी साधान किन्दा ५० प्रतिशत डाउन पेमेन्ट तिर्नुपर्ने व्यवस्था गरेको छ । यसलाई घटाएर बैंक तथा वित्तीय संस्थामार्फत सवारीमा हुने फाइनान्सिङ बढाउन सके ब्यापार अझै राम्रो हुने उनको भनाइ छ ।

‘बजारमा माग बढे अर्थतन्त्र सवल हुन्छ, यस्तो अवस्थामा मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रलाई पनि थोरै खुला गर्नुपर्थ्यो, ’उनी भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment