Comments Add Comment

कोरोना महामारीमा कसरी हुँदैछ पाकिस्तानमा पढाइ ?

१३ साउन, काठमाडौं । १२ वर्षीया खैरुन्निसा हुसेन एक सातामा पाँच दिन बिहान ९ बजे जुन कन्फ्रेन्समा लग–इन गर्छिन् । चार घण्टासम्म उनी गणित, विज्ञान र फ्रेन्च वर्कसिटमा काम गर्छिन् । गत महिना आर्ट असाइनमेन्टमा उनलाई इमेलमा डेमियन हस्र्टको पेन्टिङ पठाइएको थियो । त्यसको नक्कल गरेर बनाउनुपर्ने थियो । प्रत्येक मंगलबार उनको पीईटी शिक्षकले योगाको भिडियो लिंक पठाउँछन् । उनीलगायतका विद्यार्थीहरुले भिडियो हेरेर त्यसको अभ्यास गर्ने गर्छन् ।

कोरोना भाइरसको कारण पाकिस्तानमा तीन लाखभन्दा धेरै विद्यालय मार्चदेखि बन्द छन् । लाहोरमा बस्ने हुसेनको विद्यालयका विद्यार्थीहरु भाग्यशाली छन् किनकी उनीहरुको पढाइ डिजिटल प्लेटफर्ममा चलिरहेको छ । तर, पाकिस्तानका लाखौं विद्यार्थीमाझ अहिले स्मार्टफोन र इन्टरनेटको पहुँच पुग्न सकेको छैन ।

कराँचीको इन्स्टिच्युट अफ बिजनेस एडमिनिस्ट्रेशनमा अर्थशास्त्रको अध्ययन गरिरहेका अतीक अली युनिभर्सिटी बन्द भएपछि आफ्नो सहर तुरबत गएका थिए । उनको सहरमा इन्टरनेट वा थ्रीजी/फोरजी सेवा छैन । उनी प्रत्येक दिन ५० डिग्री सेल्सियससम्मको तापमान हुने क्षेत्रमा एक घण्टा बाइक चलाएर आफ्नो साथीकोमा जान्छन् र त्यहाँ शिक्षकले पढाएको लेक्चर डाउनलोड गर्छन् ।

फोनबाट लिइएको अन्तर्वार्तामा उनी भन्छन्, ‘त्यहाँसम्म पुग्न निकै कठिनाइ पार गर्नुपर्छ, तर त्यहाँ पुग्दा कहिले बिजुली हुँदैन त कहिले इन्टरनेट ।’

अनलाइन पढाइ

पाकिस्तानका सात करोड बालबालिकामध्ये करिब दुई करोड २८ लाख विद्यालयभन्दा बाहिर छन् । कोरोना भाइरसले उनीहरुको बीचमा प्रविधिको असमानता उजागर गरेको छ ।

पाकिस्तान सरकारका वरिष्ठ शिक्षा सल्लाहकार उम्बरिन आरिफका अनुसार विद्यालय र विश्वविद्यालयहरुमा अध्ययन गर्ने पाँच करोडभन्दा धेरै विद्यार्थीहरु पछि पर्ने जोखिम बढेको छ ।

गत महिना विश्वविद्यालयमा अनलाइन कक्षा शुरु गर्ने फैसलाविरुद्ध सयौं विद्यार्थीहरुले प्रदर्शन गरेका थिए । पाकिस्तानमा खराब इन्टरनेट सेवा मुख्य समस्या हो । विशेषगरी बलुचिस्तान, खैबर पख्तूनख्वा र गिलगित–बाल्तिस्तानजस्ता विकट प्रान्तमा यो समस्या बढी छ ।

पाकिस्तानका ठूला सहरभन्दा बाहिर होम ब्रोडब्याण्ड महँगो छ । स्मार्टफोनमा पहुँच ५१ प्रतिशत छ । पाकिस्तान दूरसञ्चार प्राधिकरणका अनुसार विद्यालय जाने उमेरका केवल १० लाख बालबालिकामा डिजिटल उपकरण तथा ब्याण्डविथको पहुँच छ ।

टेलिभिजनमा पढाइ

पाकिस्तानमा करिब चार करोड बालबालिका टेलिभिजन हेर्छन् । त्यसैले सरकारले विकट गाउँमा पनि शिक्षाको पहुँच पु¥याउने रणनीतिमा टेलिभिजनलाई पनि समावेश गरेको छ । साथै टेलिस्कुल नाममा छुट्टै च्यानल पनि बनाइएको छ । विद्यालय बन्द भएपछि १३ अप्रिलमा यसको शुरुवात गरिएको थियो । यसलाई सरकारी पीटीभी होममा देखाइन्छ । यसलाई पाँच करोड ४० लाख मानिसले हेर्छन् । टेलिस्कुलमा एकदेखि १२ कक्षासम्मको पाठ्यक्रम पढाइन्छ । जसलाई पाकिस्तानका चार एडटेक कम्पनीले तयार पारेका हुन् ।

मे महिनाको अन्तिमसम्म यसमा साढे दुई लाख दर्शकसँग टेक्स्ट म्यासेजिङ सिस्टममा पनि जोडिएको थियो । जसको उद्देश्य अभिभावक र विद्यार्थीलाई शिक्षकसँग जोड्नु थियो ।

पाकिस्तानका शिक्षामन्त्री शफकत महमूदले सरकार विकट क्षेत्रहरुमा पनि पुग्ने उद्देश्यका साथमा रेडियो स्कुल पनि शुरु गर्न गइरहेको बताए । डिजिटल सामग्रीका साथै ई–लर्निङ पोर्टल र वञ्चित क्षेत्रको लागि नयाँ लोकल एरिया नेटवर्क सिस्टममा पनि काम भइरहेको छ । प्रधानमन्त्री इमरान खानलाई ‘विद्यार्थी राहत प्याकेज’ शुरु गर्ने प्रस्ताव गरिएको छ । जसमा सस्तो इन्टरनेट प्याकेज दिने र स्मार्टफोनको शुल्क घटाउने उपाय पनि सामेल गरिएको छ ।

आरिफका अनुसार टेलिस्कुलको शुरुवात विश्व बैंकले दिएको ५० लाख डलरको सहयोगमा गरिएको हो । विकासशील मुलुकमा बहुस्तरीय शैक्षिक प्लेटफर्मका लागि काम गरिरहेको ग्लोबल पार्टनरशिप फर एजुकेशनसँग पनि दुई करोड डलरको सहयोग लिइएको छ । पछि परेका क्षेत्रमा शिक्षालाई बढावा दिन विश्व बैंकसँग २० करोड डलरको दीर्घकालीन सहयोग लिने विषयमा पनि चर्चा चलिरहेको छ । अहिले भने पाकिस्तानका बालबालिकाहरु संघर्ष गरिरहेका छन् ।

१० विद्यार्थी एक स्मार्टफोन

पाकिस्तानको उत्तर–पश्चिमी जिल्लाको एक सरकारी स्कुलको सात कक्षामा पढ्ने एक छात्राले आफ्ना पिताको स्मार्टफोनमा होमवर्क पाउँथिन् । कार्यालय खुल्न थालेपछि उनका पिता काममा जान थाले । त्यससँगै उनको घरको एकमात्र इन्टरनेट उपकरण चार सय किलोमिटर टाढा गयो । त्यससँगै ती छात्रा अब आफ्नो लेखन शैली राम्रो पार्नेतर्फ लागेकी छन् ।

स्मार्टफोन भएका घरमा पनि समस्या छन् । लाहोरको एक स्कुलकी शिक्षक रहेकी महिलाका अनुसार उनीसँग एक स्मार्टफोन छ तर उनको संयुक्त परिवारमा १० बालबालिकाहरु छन् । ‘सबै फरक–फरक कक्षामा पढ्छन् र उनीहरुलाई फरक–फरक कुरा पढाउनुपर्ने हुन्छ । कहिलेकाहीँ हामीले हजुरबुबा र हजुरआमाको फोन प्रयोग गर्छौँ तर अधिकांश समय उनीहरु मेरै स्मार्टफोनको प्रयोग गर्छन् ।’

गुजरांवालामा बस्ने १५ वर्षीय एक बालक शैक्षिक भिडियो हेर्न आफूले दाइको स्मार्टफोनको प्रयोग गर्ने गरेको सुनाए । ‘तर, मेरो दाइ सधैँ टिकटकमा व्यस्त हुन्छन् र मैले उनको फोन माग्दा उनी रिसाउँछन्’, उनले भने ।

विद्यालय कहिले खुल्छन् ?

कोरोना भाइरसको कारण विद्यालयहरु बन्द भएसँगै अभिभावकहरु र शिक्षकको चिन्ता पनि बढेको छ । पहिला विद्यालयहरु १५ जुलाईदेखि खोल्ने तयारी थियो । तर, अहिले सरकारी अधिकारीहरु कोरोना भाइरसका संक्रमितको संख्याको आधारमा १५ सेप्टेम्बरदेखि विद्यालयहरु खुल्ने सम्भावना रहेको बताइरहेका छन् । यसैबीच अनलाइनको सामग्री पनि सकिँदै गएको छ ।

नयाँ लर्निङ एप लन्च गर्नु र अनलाइन सामग्री नियमित प्रवाह हुने सुनिश्चित गर्नु ठूलो चुनौती हो । शैक्षिक प्रविधि (एडटेक) का उद्यमीहरु महामारीलाई लामो समयदेखि उपेक्षित क्षेत्रमा विस्तार तथा लगानीमा मौकाको रुपमा हेरिरहेका छन् ।

तालिमाबाद एपका संस्थापक शहारुन यासिन भन्छन्, ‘मिस्टर रोजर्स र बालबालिकाको मिडियाको अग्रणी कम्पनीले अमेरिकाजस्तो मुलुकमा शिक्षाको परिदृश्य नै परिवर्तन गर्दा उनीहरुले सरकारबाट भरपूररुपमा समर्थन पाएका थिए ।’

तालिमाबाद एपमा प्राथमिक स्कुलका विद्यार्थीहरुलाई राष्ट्रिय पाठ्यक्रम पढाउनका लागि कार्टुन र गेम्सको प्रयोग गरिएको छ । यासिन भन्छन्, ‘पाकिस्तानमा सायदै कुनै शैक्षिक मिडिया होला, जसलाई सरकारबाट आर्थिक सहयोग मिलेको होस् ।’

प्रविधि प्राथमिकतामा छैन

सरकारी अधिकारीहरु उपकरण र इन्टरनेटको व्यवस्था राम्रो नभएको कारण सरकारको प्राथमिकतामा प्रविधिबाट पढाउने विषय नपरेको स्वीकार गर्छन् ।

प्राथमिक स्कुलका विद्यार्थीका लागि ल्याइएको लर्निङ एप म्युज सबकका सीईओ हसन बिन रिजवान पछिल्लो समय स्मार्टफोनको पहुँच भने विस्तार भइरहेको बताउँछन् ।

‘यस वर्ष प्रत्येक महिनामा १० लाख नयाँ कनेक्शन जोडिएका छन् । स्मार्टफोन कुनै दोस्रो डिभाइसभन्दा निकै तीव्र गतिमा अघि बढिरहेको छ’, उनले भने ।

यासिन पनि प्रविधिलाई रोक्न नसकिने र यो कहिले पनि नरोकिने बताउँछन् । यद्यपि स्मार्टफोन ९० प्रतिशत मानिसमा पुगिसकेपछि मात्र यस विषयमा काम शुरु गर्ने हो भने त्यतिबेला निकै ढिलो भइसक्ने उनको भनाइ छ । कोरोना भाइरसको कारण शैक्षिक प्रविधिको प्रयोगमा भने उल्लेख्य मात्रामा विकास भइरहेको छ । यस्तो अवस्थामा पाकिस्तानमा तालिमाबाद एपसँग जोडिनेको संख्या ६६० प्रतिशत बढेको छ भने म्युज सबक एपमा थप दुई सय प्रतिशत मानिस जोडिएका छन् ।

यस्तो अवस्थामा पाकिस्तानको सरकार र एडिटेक कम्पनीको बीचमा सहकार्य र लगानीको आवश्यकता रहेको विशेषज्ञहरु बताउँछन् ।

भविष्यको पढाइ

मुलुकको सबैभन्दा ठूलो दूरसञ्चार नेटवर्क जेज र एडटेक कम्पनी नलेजसँग मिलेर पाकिस्तान सरकारले इस्लामाबादमा ७५ हाइस्कुलमा पाइलट प्रोजक्ट चलाइरहेको छ । तर, यसको आकलन कहिले पनि गरिएको छैन । जेजका मुख्य कर्पोरेट तथा उद्यम अधिकारी अली नासीरका अनुसार यो प्रोजेक्टको कारण मेट्रिक परीक्षा दिने विद्यार्थीको अंकमा ३० प्रतिशतको सुधार आएको थियो । नासीर पनि कोभिड–१९ को संकटमा यो क्षेत्रमा सुधारको आशा देखेको बताउँछन् ।

मस्जिदमा लाउडस्पिकरबाट पढाइ

इस्लामाबादको एक उपनगरीय निजी स्कुलमा टिच फर पाकिस्तानकी प्रशिक्षिका रिदा रिजवी मोबाइल फोन नभएका विद्यार्थीलाई सहयोग गर्छिन् । उनी स्थानीय मस्जिदमा गएर लाउडस्पिकरमा तोकिएको स्थानमा गएर पाठ्यसामग्री लिन आग्रह गर्छिन् ।

बलुचिस्तानको अमिनाबादमा हाइस्कुलमा वाइफाइ कनेक्सनको माध्यमबाट वाट्सएप ग्रुपमा भिडियो शेयर गरिन्छ । प्रान्तीय सरकार र युनिसेफको समर्थनमा चलिरहेको कार्यक्रम ‘मेरा घर, मेरा स्कुल’ मा ३५ हजार विद्यार्थी जोडिएका छन् ।

यस्तो अवस्थामा केहीले भने अहिले देखिएको समस्यालाई लिएर अस्थायीरुपमा विचलित हुनुभन्दा शिक्षकमाथि लगानी बढाउनुपर्ने बताएका छन् । विशेषज्ञहरु भने प्रविधिको क्षेत्रमा गरिएको लगानी अस्थायी नहुने तर्क गर्छन् ।

शिक्षामन्त्री महमुद कोरोना भाइरसले आफूहरुलाई एक मौका दिएको र यसको फाइदा उठाउँदै दीर्घकालीन समाधान खोज्नुपर्ने बताउँछन् । उनले प्रविधिको विकास पाकिस्तानको लागि आगामी बाटो हुन सक्ने बताएका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment