Comments Add Comment

साम्राज्ञीको लाञ्छना, भुवन केसीको उत्तेजना !

मामुली विवादमा १० करोडको मुद्दा

१३ साउन, काठमाडौं । नेपालमा कोरोनाको सन्त्रास बढेदेखि नेपाली चलचित्र क्षेत्र सुनसान प्रायः छ । यद्यपि, यो सन्नाटामा पनि चलचित्रकर्मीहरुले सञ्चार माध्यमका ‘इन्टरटेनमेन्ट ब्यूरो’ लाई बिजनेसको कमी हुन दिएका छैनन् । चलचित्रकर्मीका एकपछि अर्को विवाद र स्क्यान्डलबाट सञ्चारमाध्यम मात्र होइन, सामाजिक सञ्जालले समेत खुराक पाइरहेको छ ।

सरकारले कोरोना रोक्नका लागि १० चैतमा देशव्यापी लकडाउन गर्यो । त्यसयताका चार महिना नेपाली चलचित्रका स्क्यान्डलमय बनेको छ । कुनै स्क्यान्डल एक–दुई दिनमा यत्तिकै सेलाए भने कुनैले राष्ट्रिय बहसकै रुप लिए ।

लकडाउनभित्र आएका स्क्यान्डल यस्ता छन् :

  • रिमा विश्वकर्माले लकडाउनमा कालो चिया बनाउन सिकिन्
  • नेपालले नयाँ नक्शा पारित गर्दा वर्ष राउतलाई आफ्ना भारतीय साथी रिसाउने चिन्ता
  • पूजा शर्माले नेपालको अञ्चल र जिल्लाको संख्या बताउन सकिनन्
  • अभिनेता भुवन केसीले आफूलाई कुदृष्टि लगाएको साम्राज्ञीको आरोप
  • दिपाश्री निरौलाले राजेश हमालको महानायक उपाधिमा प्रश्न उठाइन्
  • दुर्गेश थापाले नारायण गोपालको भन्दै भक्तराजको गीत गाए ।

यीमध्ये अरु सबै विषय लगभग सेलाए । तर, भुवन र साम्राज्ञीको विवादले चाहिँ नयाँ मोड लिएको छ ।

भुवन केसीले साम्राज्ञीविरुद्ध १० करोड क्षतिपूर्तिको मागदावी गर्दै अदालतमा मुद्दा दायर गरेपछि यो विवादले उछाल पाएको हो ।

भुवन–साम्राज्ञी विवादको अप्रत्यक्ष कनेक्सन भारतीय अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणसँग छ ।

यो पनि पढ्नुहोस साम्राज्ञी मेरी विद्यार्थीजस्ती, अझै माया लाग्छ : भुवन केसी

सुशान्तले आत्महत्या गरेलगत्तै बलिउडमा ‘नेपोटिज्म’ अर्थात् नातावादको बहस निकै चर्कियो । नातावादबाट प्रताडीत भएरै सुशान्त आत्महत्या गर्ने स्थितिमा पुगेको भन्दै केही चर्चित कलाकार मिडियामा मुखरित भए । उनीहरुमध्ये नायिका कंगनाको कडा अभिव्यक्तिले निकै चर्चा पायो । उनको भिडियो नेपालमा समेत भाइरल भएको थियो ।

बलिउडमा चलेको यही बहसको ज्वारभाटा नेपालसम्म आइपुग्यो । कंगनाबाट ‘इन्स्पायर्ड’ भएर वा उनको सिको गर्दै दुई नायिकाले कलिउडमा पनि ‘नेपोटिप्जम’ व्याप्त रहको दावी गरे । उनीहरु थिए, नम्रता सापकोटा र साम्राज्ञी राज्यलक्ष्मी शाह । नम्रताको अभिव्यक्ति व्यक्ति केन्द्रित नभएकाले खासै विवादमा आएन । तर, साम्राज्ञीको अभिव्यक्तिले भने चलचित्र नगरी ततायो ।

लहरो तान्दा पहरो

गत असार १३ गते इन्स्टाग्राममा भिडियो पोष्ट गर्दै साम्राज्ञीले आफूले काम गरेका तीनवटा चलचित्रमा काम गर्दा लैंगिक भेदभाव भोग्नुपरेको बताएकी थिइन् । कसैको नाम नलिए पनि उनका आरोपहरु भुवन केसी (ड्रिम्स), झरना थापा (ए मेरो हजुर २)  र रेनशा वान्तवा राई (इन्टुमिन्टु लन्डनमा) तर्फ लक्ष्यित रहेको बुझ्न कठिन भएन ।

भुवन केसीले निर्देशन गरेको फिल्म ‘ड्रिम्स’ बाटै साम्राज्ञीले २०७१ सालमा डेब्यू गरेकी हुन् । पहिलो चलचित्र नै सुपरहिट भएपछि साम्राज्ञी रातारात स्टार बनिन् । उनलाई निर्माता–निर्देशकले पछ्याउन थाले । त्यसयताका पाँच वर्षमा ८ वटा चलचित्रमा काम गरेकी छन् ।

साम्राज्ञीले आफ्नो भिडियोमा बताएअनुसार ड्रिम्सको सुटिङमा उनले लैंगिक भेदभावको सामना गरेकी थिइन् । चलचित्रका नायक अनमोल केसीको तुलनामा आफूले कम सम्मान पाएको आशय उनको अभिव्यक्तिमा झल्किन्छ ।

यसैगरी, झरनाले निर्देशन गरेको ‘ए मेरो हजुर २’ मा चाहिँ व्यवस्थापन राम्रो नभएको साम्राज्ञीले बताएकी छन् ।

झरना थापा

झरना थापाको नाम नलिइकन साम्राज्ञीले भनेकी छन्, ‘समयमा खाना र पानी समेत पाइँदैनथ्यो । मैले व्यवस्थापनको विषयमा गुनासो गर्दा उहाँ ममाथि अपशब्द बोल्दै झम्टिन आउनुभयो । म दुई घन्टासम्म रोएँ ।’

रेनशाको सन्दर्भमा चाहिँ उनले कुनै घटना उल्लेख गरेकी छैनन् । केवल आफ्नो विश्वासमा कुठाराघात भएको बताएकी छन् । ‘इन्टुमिन्टु लन्डन’ मा काम गरेपछि रेनशासित साम्राज्ञीको सम्वन्ध बिग्रेको चलचित्र क्षेत्रका धेरैलाई थाहा नै छ ।

साम्राज्ञीका यी आरोपहरु मिडियामा आएपछि चलचित्र क्षेत्रमा तरंग पैदा भयो । चलचित्रकर्मीहरुबीच कानेखुशी सुरु भए । तर, साम्राज्ञीको पक्ष वा विपक्षमा कसैले मुख खोलेनन् । झरना र रेनशा मौन रहे । तर, भुवन केसीले प्रतिक्रिया जनाए ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै भुवनले साम्राज्ञीलाई छुचो जवाफ फर्काएका थिए । भुवनले लेखेका छन्, ‘खान नपाएको भन्दै सामाजिक सञ्जालमा रोईकराई गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन् ? जुन थालमा खाने, त्यही थालमा दुलो पार्ने ? सामाजिक सञ्जालमा गर्ने बराबरको अभिनय फिल्ममा पनि गरे हुने नि ।’

भुवनको जवाफले साम्राज्ञीलाई थप भड्कायो । अर्को भिडियो पोष्ट गर्दै उनले भुवनमाथि नयाँ आरोप लगाइन् ।

उनले भनेकी छन्, ‘त्यो स्टाटस लेख्ने व्यक्तिले जापानमा अवार्ड कार्यक्रम हुँदा मलाई ‘बाबा हेर, तँ त मेरो प्रोडक्ट हो, त्यो पुरानो कुरा कोट्याएर के फाइदा, तँ एउटा ठाउँमा पुगिसकिस् भन्दै सम्झाउन खोज्नुभयो । तर, मलाई भित्र–भित्र घिन लागिरहेको थियो । उहाँ मसित टाँस्सिन खोज्दै गालामै मुख ल्याएर बोलिरहनुभएको थियो । उहाँलाई अंकल भनेको मन पर्दैन । मैले ‘हस दाई’ भनेर धकेलिदिएँ । उहाँ ‘टेक केयर’ भनेर जानुभयो । त्यसबेला उहाँले ‘पर्भट’ जस्तो व्यवहार देखाउनुभएको थियो । हि इज लिटरली अ पर्भर्टं ।’

२०७३ सालमा साम्राज्ञीले एक यूट्यूव च्यानलमा अन्तरवार्ता दिँदै ड्रिम्समा अभिनय गर्दा आफूले लैंगिक भेदभाव सहनुपरेको बताएकी थिइन् । सुटिङका बेला नायक अनमोल केसीलाई कुर्सीमा राखिँदा आफू लामो समय उभिनु परेको, अनमोललाई पटक–पटक जुस दिइएको आफूले पानीसमेत मागेर खानुपरेको, अनमोललाई छाता ओढाइँदा आफू घाममा टट्टिनुपरेको जस्ता आरोप उनले लगाएकी थिइन् ।

पछि जापानमा एउटा अवार्ड समारोहमा भाग लिन भुवन र साम्राज्ञी सँगै पुगेका थिए । त्यही बेला माथि उल्लेखित घटना भएको साम्राज्ञीको भनाइ छ ।

साम्राज्ञीको यो अभिव्यक्तिले भुवनलाई थप उत्तेजित तुल्यायो । आफ्नो मानहानी भएको भन्दै उनले मिडियाहरुमा अन्तरवार्ता दिन थाले । कलाकार संघमा उजुरी पनि हाले । कलाकार संघले छलफलका लागि साम्राज्ञीलाई बोलायो । तर, साम्राज्ञीले ‘म कलाकार संघको सदस्य होइन’ भन्दै पन्छाइन् । त्यसपछि भुवन अदालतको ढोका ढक्ढक्याउन पुगेका छन् ।

अहिलेसम्मको घटनाक्रम यही नै हो । भुवनले मुद्दा दायर गरेपछि साम्राज्ञीको नयाँ लाइभ भिडियो आएको छैन । बरु उनले एउटा टेलिभिजन च्यानलमा पुगेर अन्तरवार्ता दिएकी छिन् ।

साम्राज्ञीको आरोपमा कति दम ?

भुवन केसीले निर्माण र निर्देशन गरेको चलचित्र ड्रिम्सका मुख्य लगानीकर्ता थिए, रवि बस्नेत । उनी साम्राज्ञीको परिवारसँग निकट व्यक्ति हुन् । उनकै सिफारिसमा भुवनले साम्राज्ञीलाई ड्रिम्सको हिरोइन बनाएका थिए । पछि पैसा जुटाउन नसकेपछि रवि सो चलचित्रबाट बाहिरिए । साम्राज्ञीले चाहिँ बाहिरिनु परेन ।

ड्रिम्सको सुटिङमा आफूलाई भेदभाव भएको भनेर साम्राज्ञीले लगाएको आरोपमा खासै वजन छैन । उनले भनेका कुरा सत्य होलान् । तर, यथार्थ के हो भने चलचित्र क्षेत्रमा कलाकारको आ–आफ्नो हैसियत हुन्छ र त्यही हैसियतअनुसारको सम्मान उनीहरुले पाउँछन् । सुटिङ स्पटमा पनि, बाहिर पनि ।

भुवन केसी र अनमोल केसी

अनमोललाई दिइएको उच्च सम्मान उनी भुवन केसीको छोरा भएकाले मात्र होइन । ड्रिम्समा अभिनय गर्दासम्म उनी आफैं सुपरस्टार भइसकेका थिए । जब कि साम्राज्ञी एक ‘न्यू कमर’ थिइन् । अनमोलले जति सम्मान उनले पाइनन् नै होला । पारिश्रमिक पनि धेरै कम थियो होला । साथै, साम्राज्ञीले जति सम्मान र पारिश्रमिक अरु सहायक कलाकारहरुले पाएनन् होला ।

स्टार भ्यालुमा आधारित यस्तो अन्तराललाई साम्राज्ञीले स्वीकार्नुपर्छ । आफ्नो स्टार भ्यालु बढ्दै जाँदा अन्य चलचित्रमा बढि सम्मान पाएको महसुस उनलाई भएकै होला । फेरि, बस्न कुर्सी नपाएको, छाता नओढाइएको, र मिनरल वाटर भन्नेवित्तिकै उपलब्ध नगराइएको जस्ता विषयलाई कति संवेदनशील मान्ने ?  यी कुराहरु उनी आफैंले सजिलै ‘म्यानेज’ गर्न सक्थिन् ।

चलचित्रको सुटिङ स्पटमा कलाकारलाई गरिने सम्मानको अर्को पाटो पनि छ । कतिपय स्टार कलाकारहरु सुटिङमा प्राविधकहरुसँग विनम्र व्यवहार गर्छन्, जस्तो कि अनमोल । कसैलाई नबिझाउने खालको उनको स्वभाव छ । उनी स्पटव्वाईदेखि मेकअपम्यानसम्म सबैप्रति आदरभाव राख्छन् । त्यसैले अरुले पनि उनलाई सम्मान दिन्छन् । ड्रिम्समा काम गरेका एक कलाकारको अनुभवमा साम्राज्ञीको स्वभाव अलि रुखो थियो । उनी प्राविधिकहरुलाई खासै सम्मान दिन्थिनन् । त्यसैले प्राविधिकहरुबाट पनि अपेक्षित सम्मान नपाएको हुन सक्छ ।

साम्राज्ञीले भुवनमाथि लगाएको दोस्रो आरोप अलि गम्भिर छ । उनले भुवनलाई ‘पर्भर्ट’ अर्थात् ‘यौनपिपाशु’ संज्ञा दिएकी छन् । आफूलाई फिल्ममा डेब्यू गराउने हजुरबा उमेरको वरिष्ठ अभिनेतामाथि उनले यस्तो शब्द प्रयोग गर्नुपूर्व सयचोटि सोच्नुपर्थ्यो । यो शब्दलाई न्याय गर्ने कुनै बलियो आधार उनले अहिलेसम्म पेश गरेकी छैनन् । भुवनलाई बढि चोट पुर्याएको पनि सम्भवत यही शब्दले हो ।

‘टाँस्सिन खोजेको’, ‘कान नजिकै मुख ल्याएर बोलेको’ जस्ता कारणले मात्रै कसैलाई यौनपिपाशु ठहर्याउन सकिन्न । त्यो घटना हुँदा अरु व्यक्तिहरु पनि घटनास्थरमा रहेको कुरा बाहिर आएको छ । खुल्ला ठाउँमा अरु मानिसहरुका अगाडि एउटा प्रतिष्ठित अभिनेताले नवनायिकामाथि दुव्र्यवहार गरेको कुरा पत्यारिलो लाग्दैन । भुवनको बडिल्याङ्वेजले साम्राज्ञीलाई असहज लागेको हुन सक्छ । त्यस्तो लाग्दा उनले त्यति नै बेला सचेत गराउनुपर्थ्यो । कुण्ठा बोकेर बसिरहन हुन्नथ्यो ।

यदि साम्राज्ञीप्रति भुवनले कुदृष्टि राखेका थिए भने उनले ड्रिम्सको सुटिङका क्रममा नै त्यस्तो व्यवहार देखाउँथे होलान् । उनी चलचित्रका निर्माता मात्र नभएर निर्देशक पनि थिए । निर्देशकले नायिकालाई निर्देशन गर्दा भौतिकरुपमा नजिक हुनुपर्ने अवस्था धेरै आउँछन् । खराब नियत थियो भने त्यस्तो बेला पनि साम्राज्ञीले महसुस गर्न सक्थिन् । चलचित्रका अन्य कामहरुमा पनि भुवनले मौका खोज्न र पाउन सक्थे । त्यो सबै केही नभएर, दुई वर्षपछि त्यो पनि विदेशमा अवार्ड समारोहमा गएका बेला भुवनले मौका छोपे भन्ने कुरा पत्यारिलो लाग्दैन ।

भुवनले गरेका गल्ती

नि:शन्देह भुवन केसी नेपाली चलचित्र क्षेत्रका एक लिजेन्ड हुन् । वरिष्ठताको हिसाबले मात्र नभएर योगदानको हिसाबले पनि उनी उच्च सम्मानको हकदार छन् । संख्यात्मक हिसाबले राजेश हमाल अगाडि भए पनि गुणात्मकरुपमा भुवन अगाडि रहेको स्वीकार्न कर लाग्छ ।

सम्झना, कुसुमेरुमाल, साइनो, चिनो, दुई थोपा आँशु, दक्षिणालगायत थुप्रै कालजयी चलचित्र भुवनका नाममा छन् । त्यही भएर नेपाली चलचित्रका वास्तविक महानायक राजेश हमालभन्दा भुवन केसी हुन् भन्नेहरुको पनि कमि छैन । भुवन स्वयम् राजेश हमाललाई महानायकको उपाधि दिइँदा सन्तुष्ट थिएनन् । यद्यपि, अहिले महानायकको विवाद उत्कर्षमा पुग्दा उनले मुख खोलेका छैनन् ।

महानायकको उपाधि हमालले लगे पनि भुवनलाई ‘रोमान्स किङ’ को उपमा प्राप्त छ । धेरै चलचित्रमा रोमान्टिक भूमिकामा अभिनय गरेकाले मात्र होइन, पर्दा बाहिरको रोमान्समा पनि उत्तिकै ‘सफल’ रहेकाले उनलाई यो उपमा निकै सुट गर्छ । भुवनको ‘स्त्रीप्रेमी’ चरित्रलाई लिएर नायिका सारंगा श्रेष्ठले त यतिसम्म भनेकी थिइन्– भुवन केसी नभएको भए धेरै नायिकाहरु कुमारी हुन्थे ।

यही एउटा कमजोरीले गर्दा भुवन बारम्बार विवादमा मुछिइरहे । अरुको श्रीमती उडाउन खोजेको आरोप पनि उनीमाथि लाग्यो । छोरा अनमोल केसीको स्टारका रुपमा उदयदेखि उनले यस्तो मामलामा निकै सचेतता अपनाउने गरेको पाइन्छ । छोराको करिअरलाई असर नपरोस भनेर उनी हरेक खाले विवादबाट परै रहन खोज्छन् । उनको रोमान्स गरेर हिँड्ने उमेर पनि छैन ।

यी यावत कारणले अहिलेको विवादको तराजु अलिकति भुवनको पक्षमा ढल्किएको छ । तर, यो प्रकरणलाई उनले राम्ररी ह्याण्डलिङ गरिरहेका छैनन् । अनावश्यक उत्तेजना देखाइरहेका छन् ।

साम्राज्ञी राज्यलक्ष्मी शाह

साम्राज्ञीले पहिलो भिडियोमा सार्वजनिक गरेका कुराहरुले भुवनलाई खासै असर गर्दैनथ्यो । यी कुराहरुलाई कसैले गम्भीरतासाथ लिएका पनि थिएनन् । झरना र रेनिषा कुनै जवाफ नदिई मौन बसे । भुवन पनि चुप बसेको भए हुन्थ्यो । वा, साम्राज्ञीलाई एक फोन कल गरेर सम्झाएको भए हुन्थ्यो ।  तर, उनी सामाजिक सञ्जालमै जवाफ दिन तम्सिए, त्यो पनि कठोर शब्दमा ।

त्यसयता पनि भुवन यो प्रकरणलाई साम्य बनाउनभन्दा चर्काउन उद्यत देखिएका छन् । सामान्य विवादलाई अदालतमा लैजानु, त्यो पनि १० करोड मागदावीका साथ, भुवनको अनावश्यक आक्रामकता हो ।

साम्राज्ञीले लगाएको आरोपले भुवनको व्यक्तित्वमा १० करोडको क्षति पक्कै पुगेको छैन । आफूभन्दा निकै जुनियर कलाकारसँग यो लडाईं लड्न भुवनलाई सुहाएको पनि छैन । साम्राज्ञी उनका लागि केटाकेटी हुन् । भुवनले झिंगामाथि तोप पड्काउन खोजेका छन् ।

चलचित्रकर्मीको मौनता

भुवन र साम्राज्ञीको स्क्यान्डललाई लिएर चलचित्र क्षेत्रमा गहिरो मौनता छ । एकाध लो प्रोफाइलका व्यक्तिहरुले बाहेक अरुले मुख खोलेका छैनन् ।

यदि साम्राज्ञीले लगाएका आरोप गम्भिर प्रकृतिका हुन्थे भने कम्तिमा महिला कलाकारहरु उनको पक्षमा खुलेर उभिन्थे । निशा अधिकारी, केकी अधिकारी, रिमा विश्वकर्मा लगायतका नायिकाहरुले महिला कलाकारको हित संरक्षणका लागि भन्दै ‘जिरो टोलरेन्स’ अभियान चलाइरहेका छन् । तर, उनीहरु पनि साम्राज्ञीको पक्षमा खुलेका छैनन् ।

पुराना कलाकारहरु पनि यस विषयमा बोल्न चाहँदैनन् । भुवन केसीसँग थुप्रै चलचित्रमा काम गरेकी वरिष्ठ अभिनेत्री करिश्मा मानन्धरलाई फोन गरेर प्रसंग कोट्याउनसाथ ‘यसमा केही पनि बोल्न चाहन्न’ भन्दै फोन राखिन् ।

भुवन केसीले डेब्यू गराएका नायिकाहरु पनि मौन छन् । उपासना सिंह, अदिती बुढाथोकी जस्ता नायिकाहरु भुवन केसीलाई गडफादर मान्छन् । यदि साम्राज्ञीले भनेजस्तो भुवन ‘पर्भट’ नै हुन् भने सायद अन्य नायिकाहरुले पनि केही भोगेका हुन्थे । केही न केही पक्कै बोल्थे । तर, सबै चुपचाप छन् ।

भुवनको ‘क्याप्टेन’ बाट रजतपटमा आएकी नायिका उपासना सिंहलाई फोन गर्दा उनले टक्टकिँदै भनिन्, ‘अहँ, यो विषयमा बोल्नु छैन ।’

साम्राज्ञीले अन्य नायिकाहरुको साथ नपाउनुको अर्को पनि कारण छ । साम्राज्ञीको अधिकांश नायिकासँग सम्वन्ध सुमधुर छैन । उनी कोहीसँग पनि घुलमिल हुन्नन् । चलचित्र सम्वन्धि कार्यक्रमहरुमा पनि त्यति जान्नन् । तसर्थ उनलाई धेरैले एकलकाँटे र घमण्डी सोच्छन् । अरुलाई सम्मान दिन नजान्ने व्यवहारले गर्दा पनि साम्राज्ञी एक्लिएकी छन् ।

चलचित्र क्षेत्रमा आएको छोटो समयमा साम्राज्ञीले ठूलो चर्चा र सफलता पाइन् । सँगसँगै उनी बारम्बार विवादमा पनि आइरहेकी छन् । एकपछि अर्को व्वाइफ्रेन्ड फेर्ने, सामाजिक सञ्जालमा व्वाइफ्रेन्डसितका अन्तरंग र अर्धनग्न तस्वीर आफैंले सार्वजनिक गर्ने गरेर उनले आफ्नो छवि बिगारेकी छन् । चुरोट र रक्सीको कुलतले उनको छवि थप बिगारेको छ । अहिले धेरै दर्शक साम्राज्ञीको पक्षमा नदेखिनुको कारण उनको धुमिल छवि पनि हो ।

सुलहको बाटो

नेपालको चलचित्र नगरी सानो छ । यो सानो क्षेत्रको इज्जत र मर्यादा कायम गर्ने दायित्व कलाकारहरुको हो । कलाकारको इज्जत घट्दा चलचित्र क्षेत्रकै इज्जत घट्छ । बढ्दा बढ्छ ।

अहिले पनि धेरै बाबुआमा आफ्ना छोराछोरीलाई चलचित्र क्षेत्रमा जान अनुमति दिँदैनन् । समाजले अझै पनि चलचित्र क्षेत्रलाई राम्रो दृष्टिले हेर्दैन । तसर्थ यस क्षेत्रलाई सेनिटाइज गरेर कसरी सुशिक्षित युवायुवतीहरुलाई आकर्षित गर्ने भन्ने अहिलेको चुनौति हो । सानातिना इस्यूहरुलाई ठूला स्क्यान्डल बनाउने, सामाजिक सञ्जालमा आरोप–प्रत्यारोप गर्ने, मुद्दा–मामला गर्ने कार्यले अन्ततः चलचित्र क्षेत्रप्रति नै जनतामा वितृष्णा बढाउने छ ।

भुवन र साम्राज्ञीको विवाद अदालतले निरुपण गर्नुपर्ने खालको हुँदै होइन । सकेसम्म दुईजनाले आपसी संवादको माध्यमबाटै हल गर्दा राम्रो हुने हो । त्यो नभए कलाकारहरुको साझा संस्था कलाकार संघले मध्यस्थता गर्नुपर्छ ।साम्राज्ञीले भुवनविरुद्ध प्रयोग गरेको ‘पर्भर्ट’ शब्द फिर्ता लिने र भुवनले अदालतबाट मुद्दा फिर्ता लिने बाटो नै दुवैको हितमा छ । समग्र नेपाली चलचित्रको पनि हितमा छ ।

झरना थापा भन्छिन्- साम्राज्ञी छोरीजस्तै हो, अवहेलना कसरी गर्न सक्छु ?

साम्राज्ञीले आरोपित गरेका तीनजनामध्ये एक हुन् झरना थापा । उनले अहिलेसम्म साम्राज्ञीका अभिव्यक्तिलाई लिएर कुनै प्रतिक्रिया जनाएकी छैनन् ।

अनलाइनखबरसँगको कुराकानीमा झरनाले साम्राज्ञी आफ्नो छोरीजस्तै भएको भन्दै उनीसँग मुख लाग्न आफूलाई नसुहाउने बताइन् ।

‘म आरोप–प्रत्यारोपमा उत्रिन चाहन्न ।  तर, मैले उनलाई छोरीजस्तै मानेको थिएँ । छोरीकै व्यवहार गरेको थिएँ,’ उनले भनिन् ।

अहिले साम्राज्ञीले दिइरहेको अभिव्यक्ति उनको अपरिपक्वताको उपज भएको झरना बताउँछिन् ।

‘मेरो अनुभवमा उनी कामप्रति एकदमै जिम्मेवार र मिहिनेति केटी हुन् । जोखिम मोलेर पनि काम गर्न तयार हुन्छिन् । धेरै सम्भावना बोकेकी नायिका हुन् । तर, परिपक्वताको अलिकति कमी छ । यसमा सुधार गर्नुपर्छ,’ झरनाले भनिन् ।

‘ए मेरो हजुर २’ को सुटिङका क्रममा साम्राज्ञीसँग कुनै तनाव नभएको पनि झरनाले बताइन् ।

उनी भन्छिन्, ‘सुटिङमा उनले राम्ररी काम गरेको हो । मेरो कुनै गुनासो छैन । केही कुराहरुमा उनको चित्त दुखेको रहेछ । व्यवस्थापनमा कति कमीकमजोरी भए पनि होलान् । विभिन्न परिस्थिति हुन्छन् । कहिले भनेजस्तो खानेकुरा पाइँदैन । कहिले राम्ररी सुत्न पाइँदैन । हाम्रो पेशा नै यस्तै छ । हामी पनि सबै दुख सहेर यहाँसम्म आएका हौं ।’

‘तर, मेरोतर्फबाट के चाहिँ भन्छु भने, साम्राज्ञीलाई मात्रै फरक व्यवहार भएको थिएन । हामीजस्तो प्रोफेसनल ब्यानरबाट त्यस्तो हुने प्रश्नै आउँदैन । उनलाई चित्त नबुझेका कुराहरु त्यतिबेला नै भनेको भए हुन्थ्यो । करोडौं लगानीमा फिल्म बनाउने हामीले १००–५० को चाउचाउमा लोभ गर्यौं होला त ?’

भुवन केसी मुद्दामा जानुभयो, तपाईंको के योजना छ ? भन्ने प्रश्नमा उनले भनिन्, ‘मेरो केही योजना छैन । म यो विषयलाई चर्काएर ठूलो इस्यू बनाउन पनि चाहन्न ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
चिरञ्जीवी पौडेल

झण्डै डेढ दशकदेखि पत्रकारितामा सक्रिय पौडेल अनलाइनखबर डटकमका एसोसिएट एडिटर हुन् ।

ट्रेन्डिङ

Advertisment