Comments Add Comment

अन्तर्राष्ट्रिय झापाली समाजद्वारा पिसिआर ल्याबका लागि २५ लाख प्रदान

झापा । जनस्तरबाट स्थापना भएको कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याबका लागि अन्तर्राष्ट्रिय झापाली समाजले २५ लाख रुपैयाँ प्रदान गरेको छ ।

झापाली जनतालाई विपदमा सहयोग गर्दै आएको समाजले सोमबार एक भव्य कार्यक्रमका बीच एकका लागि एक अभियानलाई २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो । समाजल एक महिनाअघि नै रकम उपलब्ध उपलब्ध गराउने निर्णय गरको थियो ।

समुदाय, सहकारी र सरकारको प्रत्यक्ष साझेदारीमा सञ्चालनमा आउन लागेको ल्याब कनकाईको कोटिहोमस्थित समर्पण भवनमा स्थापना भइसकेको छ । सरकारले मेची प्रादेशिक अस्पतालको मातहतमा रहने गरी ल्याब सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाइसकेको छ ।

अभियानको विशेष आग्रह तथा समाजले चासो देखाएपछि विश्वभर रहेका झापालीमाझ रकम संकलन गरिएको थियो । समाजले ४२ वटा देशमा रहेका भगिनी समाजसँग संस्थागत सहयोग संकलन गरेको थियो । समाजका वरिष्ठ उपाध्यक्ष दिपक खनालको संयोजनमा रकम संकलन गरिएको थियो ।

बिर्तामोडको अतिथि सदनमा भएको कार्यक्रममा अभियानका संयोजक महेन्द्रकुमार गिरी र सहसंयोजक विनोद बस्नेतले विशेष सहयोगका लागि समाज र संसारभरि रहेका झापालीलाई धन्यवाद ज्ञापन गरेका थिए । गिरीले सरकारले सहयोग मागे आवश्यकताअनुसार झापाका अन्य स्थानमा पनि ल्याब स्थापना गर्न अभियान तयार रहेको बताए ।

समाजका उपाध्यक्ष नविन पोखरेलका अध्यक्षतामा भएको कार्यक्रममा अग्रज पत्रकार मोहन काजीले अभियानले स्तुत्य काम गरेको र केही व्यक्तिले गर्न खोजेको अवरोधप्रति खेद व्यक्त गरे । अभियान्ता शिव कडेलले नागरिकको प्रयास सफल भएको बताए । उपाध्यक्ष पोखरेल र कार्यालय सचिव मणि सुब्बालगायत समाजका सदस्यले अभियानलाई चेक हस्तान्तरण गरेका थिए ।

प्रदेश १ को सबैभन्दा बढी कोरोना संक्रमित रहेकाे जिल्ला झापा हो । अभियानले कोरोनाको उच्च जोखिममा सीमावर्ती जिल्ला झापा रहेकाले पिसिआर ल्याब जरुरी रहेकाले स्थापना गर्ने योजना बनाएको थियो ।

समाजले यसअघि कोरोना भाइरस परीक्षण गर्ने पिसिआर टेस्ट ट्युब प्रदान गरेको थियो । एकका लागि एक अभियानको टोलीसँग झापाका १५ वटै स्थानीय तह र जिल्ला प्रशासन कार्यालयलाई एक सयका दरले पिसिआर टेस्ट ट्युब प्रदान गरिएको थियो ।

त्यस्तै, समाजले कमल गाउँपालिकाका बाढीपीडित ९ परिवारको घर बनाइदिएको थियो भने समाजले प्रदान गरेको तीनवटा एम्बुलेन्स झापामा सञ्चालनमा छन् । समाज विश्वभर छरिएर रहेका झापालीहरुको छाता संगठन हो ।

– हिमाल खरेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment