Comments Add Comment

स्याङजामा थप एक सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमा कोरोना

पोखराका सबै संक्रमित यसअघिका संक्रमितको सम्पर्कमा आएका

१५ असार, पोखरा । स्याङजा गल्याङमा पनि एक सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा ती सुरक्षाकर्मीसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै स्याङजामामात्रै एसपीसहित जिल्लाभरिमा ३९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

कुनै पनि ट्राभल हिस्ट्रीबिना गल्याङमा बिहीबारमात्रै २ जना संक्रमित पुष्टि भएका छन् । गल्याङ नगरपालिका स्वास्थ्य महाशाखा प्रमुख विपीन कोइरालाका अनुसार कोरोना पुष्टि हुने अर्का व्यक्ति स्वास्थ्यकर्मी हुन् । तर, कुनै संक्रमितमा पनि लक्षण नदेखिएको उनले जानकारी दिए ।

‘उहाँका यहीं बजारमै मेडिकल छ । मेडिकल भएपछि मान्छेहरुसँग सीधैं सम्पर्क पनि हुने भयो,’ कोइरालाले अनलाइनखबरसँग भने, ‘तत्काल कन्टयाक ट्रेसिङ गर्न जिल्लासँग भिटिएम माग गरिसकेका छौं ।’ बिहीबार स्याङजा गल्याङमा भेटिएका अन्य संक्रमित भने २ जना भारतदेखि र २ जना दुबईदेखि आएर क्वारेन्टिनमा बसेको उनले जानकारी दिए ।

स्याङजाकै पुतलीबजार नगरपालिकामा एक जना पुरुषमा कोरोना संक्रमित पुष्टि भएका छन् । बालविवाह मुद्धामा जिल्ला प्रहरी कार्यालयमा थुनामा रहेको थुनुवामा कोरोना संक्रमण पुष्टि भएको पुतलीबजार नगरपालिका स्वास्थ्य महाशाखा प्रमुख विष्णु काफ्लेले जानकारी दिए ।

काफ्लेले ती थुनुवामा कोरोना संक्रमण पुष्टि भइसकेपछि बिहे भोजमा आएका सबैको कन्टयाक ट्रेसिङ सुरु भइसकेको जानकारी दिए । ‘मलाई लाग्छ ती दुलहीका बुवा हुन् । यसअघि पनि दुलाहामा कोरोना संक्रमण पुष्टि भएको थियो,’ उनले अनलाइनखबरसँग भने, ‘हिजोसम्म ७३ जनाको कन्ट्याक ट्रेसिङ गरिसकेका छौं । आज पनि खोजी जारी छ ।’

स्याङजाकै विरुवा गाउँपालिका र भीरकोट नगरपालिकामा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

बागलुङमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि हुनेमा काठेखोला गाउँपालिकाका २ जना, बागलुङ नगरपालिकाका एक जना, जैमिनी नगरपालिकाका एक जना र बडिगार्ड गाउँपालिकाका २ जना छन् ।

त्यस्तै तनहुँका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तनहुँको ऋषिङ गाउँपालिकाका १ जना र ब्यास नगरपालिकाका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । बौदीकालिका नवलपरासीका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखराकामात्रै १४ जना, सबै संक्रमित यसअघिकासँग सम्पर्कमा

गण्डकी प्रदेशमा बिहीबार बिहानमात्रै ३८ जनामा कोरोना संक्रमण पुष्टि भयो । जसमध्ये १४ जना पोखरा महानगरमामात्रै छन् ।

संक्रमित सबैको यसअघिका संक्रमितको सम्पर्कमा आएको पाइएको छ । जसमध्ये ३ जना दोस्रो पटक संक्रमण भएका हुन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पोखरा महानगरका १५ देखि ४० वर्ष उमेर समूहका १४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । ‘१२ जनाको यहीं महानगरमै क्वारेन्टिनमा बसेकाहरु हुनुहुन्छ । २ जनाको बारेमा अझै जानकारी हामीलाई आएको छैन,’ महानगर स्रोतले भन्यो, ‘उहाँहरु कतिपय कन्टयाक ट्रेसिङबाट परेका हुनुहुन्छ र कतिपय यसअघिका संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा आएकाहरु हुनुहुन्छ ।’

स्वास्थ्य महाशाखाले यसअघिका संक्रमितसँगै सम्पर्कमा आएकोले कन्ट्याक ट्रेसिङमा परेकाले महानगरको क्वारेन्टिनमै उनीहरु बसिरहेको र जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको जानकारी दिएको छ ।

यो सँगै गण्डकीमा केारोना संक्रमितको संख्या १ हजार ४७९ पुगेको छ । जसमध्ये १ हजार २ सय ३० जना निको भई घर फर्किसकेका छन् । प्रदेशभरिमा ४ जना संक्रमितको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment