Comments Add Comment

कोरोनाका कारण गोकर्णेश्वर मन्दिर बन्द

१५ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण काठमाडौंको उत्तरपूर्वी क्षेत्रमा पर्ने गोकर्णेश्वर महादेव बन्द गर्ने निर्णय गरिएको छ ।

बुधबार बसेको मन्दिरको प्रबन्धक समितिको बैठकले अर्काे सूचना जारी नभएसम्म नित्यपूजा बाहेक भक्तजनको लागि मन्दिर दर्शन बन्द गर्ने निर्णय भएको समितिका अध्यक्ष एवं गोकर्णेश्वर नगरपालिका ४ का वडाध्यक्ष श्रीकुमार श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।

गोकर्णेश्वर मन्दिरमा साउनको सोमबार विशेष मेला लाग्ने गर्छ । गत चैत ११ गतेदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर साउन महिनामा पनि नखुलेपछि गोकर्णेश्वरमा दर्शनार्थीको भिड लाग्ने गरेको छ । काठमाडौंमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि मन्दिर बन्द गर्ने निर्णय गरिएको श्रेष्ठले जानकारी दिए ।

‘धेरै दर्शनार्थी आएकोले भौतिक दूरी कायम गरेर पूजा गराउन सम्भव भएन । त्यसैले अर्काे सूचना प्रकाशित नभएसम्म नियमित पूजाबाहेक मन्दिर बन्द गर्ने निर्णय गरिएको छ ।’ श्रेष्ठले अनलाइनखबरसँग भने ।

राजा मानदेवको शासनकालमा निर्माण भएको विश्वास गरिने गोकर्णेश्वर महादेव मन्दिर उपत्यकाका महत्वपूर्ण शिवालयमध्येमा पर्छ । पशुपतिनाथ मन्दिरमा श्रीयन्त्र र गोकर्णेश्वर महादेव मन्दिरमा बालयन्त्रको पूजा हुने भएकाले पनि यस मन्दिरको पौराणिक महत्व रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment