Comments Add Comment

चकलेटी हिरोको व्यस्तताः कोही विज्ञापनमा, कोही भिडियोमा

चलचित्रको छायांकन कहिलेबाट सुरु हुन्छ भन्ने टुंगो नलाग्दा चलचित्र क्षेत्रका कलाकारहरु धेरै बेरोजगार बनिरहेका छन् । लामो समयदेखिको लकडाउन खुलेपनि चलचित्र क्षेत्रलाई चलायमान बनाउनका लागि सरकारले कुनै ठोस कदम चालेको छैन । यसकारण पनि रोकिएका चलचित्रको काम सुरु भएको छैन भने नयाँ चलचित्रको निर्माणको तयारी भएपनि निर्माताहरुले काम गर्न पाएका छैनन् । यसले, चलचित्र क्षेत्रमा अरु समय व्यस्त हुने कलाकारहरु फुर्सदिला बनेका छन् ।

चलचित्र क्षेत्रका केही चकलेटी नायकहरुको दिनचर्या फेरिएको छ । नायक अनमोल केसी चलचित्र ‘ए मेरो हजुर ४’को छायांकनमा रहेको समयमा लकडाउन भयो र काम रोकियो । यसपछि, लकडाउन अवधिभर घरमै रहेका अनमोल लकडाउन खुलेसँगै विज्ञापनको छायांकनमा व्यस्त छन् । उनले ५ वटा ब्रान्डको प्रमोशन गरिरहेका छन् । जसकाकारण, उनी अहिले दैनिक यी ब्रान्डको सुटमा व्यस्त हुने गरेका छन् ।

नायक प्रदिप खड्काले पनि केही विज्ञापनमा काम गरेका छन् । साथै, उनले लकडाउनको समयमा २ वटा म्यूजिक भिडियोमा काम त गरे, तर दुबै भिडियो असफल भए । उनी नयाँ चलचित्रको तयारीमा पनि लागेका छन् । गतबर्ष उनी अभिनित चलचित्र ‘प्रेमगीत ३’ रिलिज हुनुपर्ने थियो, तर लकडाउनले चलचित्र रिलिज हुन पाएन । प्रदिप अब छायांकन सुरु भएपछि नयाँ चलचित्रमा काम गर्ने तयारीमा लागेका छन् ।

नायक पल शाहको व्यस्तता अरु कलाकारको भन्दा धेरै छ । उनी लकडाउन लुजडाउनमा परिणत भएसँगै म्यूजिक भिडियो छायांकनमा व्यस्त बनेका छन् । उनले लगातार भिडियोमा काम गरिरहेका छन् ।

पललाई अहिले भिडियोको छायांकन, वर्कशप, प्रमोशनले फुर्सद मिलेको छैन । डेढ दर्जन भिडियोमा काम गर्ने संझौता गरेकाले पनि पल शाहलाई चलचित्रको काम सुरु नभएर कुनै फरक परेको छैन ।

नायक सलिनमान बनियाँ भने चलचित्रको कामबाट पनि टाढा देखिएका छन् । रिजर्भ बस्न रुचाउने यी नायक चलचित्र ‘यात्रा’पछि मिडिया र चलचित्र नगरीबाट टाढै बसिरहेका छन् । उनले यो विचमा सामाजिक संजालमा तासको जादु देखाउने खेल खेलाइरहेका छन् । सलिनमानले नयाँ चलचित्रको तयारी गरिरहेको चर्चा चलेपनि यो बिषयमा औपचारिक रुपमा कुनै जानकारी दिइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment