१६ असोज, काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युरोपको कुनै पनि देशमाथि आक्रमण गर्ने योजना नबनाइरहेको स्पष्ट पारे।
बिहीबार वाल्दाई फोरममा बोल्दै उनले रुसको कुनै पनि भूभागमाथि आक्रमण भएमा आफ्नो सुरक्षाका लागि आफूसँग भएका सबै हतियार प्रयोग गर्ने चेतावनी दिए।
उनले पश्चिमी देशहरू र युरोपमाथि तनाव बढाएको आरोप लगाए।
पश्चिमी देशहरूले आगामी वर्षहरूमा रुससँग युद्धको तयारी गरिरहेको, बाल्टिक सागरमा सैन्य अभ्यास गरिरहेको र रुसी पानीजहाजहरू जफत गरिरहेको पुटिनको भनाइ थियो।
नेटोको कुनै पनि सदस्य राष्ट्रले रुसको कालिनिनग्राद क्षेत्रलाई बाँकी रुसबाट अलग गर्ने प्रयास गरेमा रुसले यसको रक्षाका लागि परमाणु हतियारसमेत प्रयोग गर्न सक्ने भन्दै मस्कोले चेतावनी दिएलगत्तै पुटिनको यो भनाइ आएको हो।
पुटिनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लगातार युक्रेन युद्ध अन्त्य गर्ने विषय उठाइरहेको र उनीसँग युद्ध रोक्नका लागि दुवै पक्षले मान्न सक्ने राम्रा सुझावहरू रहेको बताए।
कार्यक्रमका दौरान पुटिनले प्रधानमन्त्री मोदीप्रति आभारसमेत प्रकट गरे। उनले भने, ‘मोदी हाम्रा असल मित्र हुन्, तापनि उनी लगातार युक्रेन युद्ध अन्त्य गर्ने कुरा उठाउँछन्। उनी छिट्टै युद्ध अन्त्य होस् भन्ने पक्षमा छन्। म यसका लागि उहाँप्रति आभार व्यक्त गर्दछु।’
पुटिनले भने, ‘धेरै कम मानिसलाई यो कुरा थाहा छ, तर प्रधानमन्त्री मोदीले मलाई बताउनुभएको थियो कि भारतको १.५ अर्ब जनसङ्ख्यामध्ये करिब ६० करोड मानिस हिन्दी बोल्छन्। बाँकी मानिसहरू फरक-फरक भाषा बोल्छन्। यति हुँदाहुँदै पनि सबैजना मिलेर बसेका छन्।’
प्रतिक्रिया 4