Comments Add Comment

दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण यसैवर्ष सक्ने लक्ष्य

तीन अन्तर्राष्ट्रिय विमानस्थलमा १७ अर्ब ५८ करोड बजेट

२३ साउन, काठमाडौं । निर्माणाधीन दुई अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले यस्तो घोषणा गरेको हो ।

चालु आर्थिक वर्ष २०७७/७८ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण काम सम्पन्न भई सञ्चालनमा आउने छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको काम समेत यसै आवमा सम्पन्न हुने प्राधिकरणले जनाएको छ ।

चालु आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दै प्राधिकरणले यस्तो घोषणा गरेको हो । त्यसो त सरकारले चालु आवको नीति तथा कार्यक्रम र बजेटमा समेत यी दुई विमानस्थल निर्माण गर्ने बताएको थियो । त्यसको कार्यान्वयन गर्ने निकाय प्राधिकरण हो ।

प्राधिकरणका अनुसार चालु आव भित्रै नेपालमा तीन वटा अन्तर्राष्ट्रिय विमानस्थल तयार भइसक्ने छन् । किनकी नेपालमा अहिले एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थल रहेको छ । चालु आवमा त्रिभुवन विमानस्थलमा आन्तरिक एप्रोन क्षेत्र विस्तारको काम अगाडि बढाउने र धावनमार्गको दक्षिणतर्फ समानान्तर ट्याक्सी-वे बिस्तार समेत यसै आवमा शुरु हुने भएको छ ।

यो विमानस्थलमा बुटिक एयरपोर्टको अवधारणा अनुसारका थप संरचना निर्माणको काम समेत यस आवमा सम्पन्न हुने प्राधिकरणको भनाइ छ । निजगढ विमानस्थलको गुरुयोजनाको काम यो आवमा हुने प्राधिकरणको नीति तथा कार्यक्रममा उल्लेख छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रमाणीकरणको काम समेत यो वर्ष पुरा हुने भएको छ ।

त्यसपछि यो विमानस्थल सञ्चालनमा आउनेछ । त्रिभुवन विमानस्थल, गौतमबुद्ध विमानस्थल र पोखरा विमानस्थलमा मात्र यो वर्ष कुल १७ अर्ब ५८ करोड रुपैयाँ खर्च गर्ने योजना छ । यसमध्ये सबैभन्दा धेरै पोखरा विमानस्थलमा १० अर्ब २५ करोड रुपैयाँ खर्च हुनेछ ।

गौतमबुद्ध विमानस्थलमा भने ३ अर्ब २८ करोड ३ लाख रुपैयाँ खर्च हुनेछ । अहिले गौतमबुद्ध विमानस्थलको ९१ प्रतिशत कार्यप्रगति रहेको छ । पोखराको ६१ प्रतिशत रहेको छ ।

त्रिभुवन विमानस्थल स्तरीकरण

यो वर्षबाट त्रिभुवन विमानस्थल भने २४ सै घण्टा संचालनमा ल्याउन योग्य अवस्थामा राखिने भएको छ । अहिले यो विमानस्थल २१ घण्टा चल्छ । चाप भएको समयमा २४ सै घण्टा सञ्चालन गर्न सकिने गरी तयारी शुरु भएको छ ।

यो वर्ष क्षेत्रीय उडानलाई प्राथमिकता दिने बताएको प्राधिकरणले त्रिभुवन विमानस्थलमा केन्दि्रत रहेको वायुयान बिसान आधारस्थल ‘अपरेशन वेश’लाई हव विमानस्थलमा स्थानान्तरण गर्ने बताएको छ ।

विराटनगर, पोखरा, नेपालगन्ज, सुर्खेत विमानस्थल हव विमानस्थलका रुपमा रहेका छन् । प्राधिकरणले यो वर्ष त्रिभुवन विमानस्थलमा निर्माण हुने पूर्वाधारका लागि मात्र ४ अर्ब ५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

यो वर्ष धावनमार्गको उत्तरतर्फ एप्रोन तथा समानान्तर ट्याक्सी-वे निर्माण गर्न १ अर्ब ९१ करो २३ लाख खर्च गरिने भएको छ । धावनमार्गको दक्षिणतर्फ समानान्तर ट्याक्सी-वे बनाउन १ अर्ब ४६ करोड खर्च हुनेछ । टर्मिनल भवन बिस्तार र स्तरोन्नतिमा ४० करोड तथा बुटिक एयरपोर्टको अवधारणाका काम सक्न २८ करोड बजेट छुट्याइएको छ ।

मुआब्जा वितरणमा ५ अर्ब ५ करोड 

प्राधिकरणले चालु आर्थिक वर्षमा विभिन्न विमानस्थलहरुको जग्गा अधिग्रहणमा मात्र ५ अर्ब ५ करोड रपैयाँ खर्च गर्ने योजना बनाएको छ । यसमध्ये सबैभन्दा ठूलो रकम गौतमबुद्ध विमानस्थलमा खर्च हुनेछ ।

यस विमानस्थलमा जग्गा अधिग्रहण गर्न २ अर्ब १६ करोड ८३ लाख रपैयाँ विनियोजन भएको छ । निजगढ विमानस्थलका लागि २० करोड रुपैयाँ छुट्याइएको छ ।

पोखरा विमानस्थलका लागि ७८ करोड, त्रिभुवन विमानस्थलका लागि ८० करोड र विभिन्न आन्तरिक विमानस्थलका लागि ६१ करोड विनियोजन भएको छ ।

दाङको नारायणपुरमा नयाँ विमानस्थल बनाउन जग्गा अधिग्रहणका लागि मात्र ५० लाख बजेट विनियोजन भएको छ ।

यो वर्ष पनि प्राधिकरणले निजगढ विमानस्थलको साइट क्लियरेन्सको काम गर्ने कार्यक्रमलाई दोहोर्‍याएको छ । वातावरणीय पक्ष नटुंगिएका कारण यहाँ योजना अनुसार काम भने गरेको छैन ।

यो प्रयोजनका लागि ३ करोड रुपैयाँ विनियोजन गरिएको छ । यस विमानस्थलको पेरिफेरी रोड निर्माण गर्न भने ५ करोड रुपैयाँ विनियोजन भएको छ ।

प्राधिकरणको कुल बजेट ४१ अर्ब १२ करोड

चालु आर्थिक वर्षका लागि प्राधिकरणले कुल ४१ अर्ब १२ करोड ८ लाख रुपैयाँको बजेट ल्याएको छ । त्यसमध्ये ठूलो स्रोत ऋण/शेयर/अनुदानबाट प्राप्त हुन्छ । यस्तो स्रोत २० अर्ब ९५ करोड ६५ लाख रुपैयाँ रहेको छ । बैंक मौज्दातमा रहेको १० अर्ब ३५ करोड ३८ लाख रुपैयाँ, पेश्की मौज्दातवापतको ५ अर्ब ३८ लाख, विमानस्थल विकास शूल्क, अन्य आम्दानीसमेत गरी स्रोतको जोहो गरिएको छ ।

प्राधिकरणले खर्चतर्फ कर्मचारीका लाग मात्र १ अर्ब ३८ करोड ४० लाख खर्च गर्छ । कर्मचारी अवकाश भुक्तानीमा ५२ करोड २० लाख खर्च हुनेछ । ३० अर्ब ६४ करोड ४८ लाख रुपैयाँ भने पूँजीगत बजेट हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment