Comments Add Comment

सरकारी कार्यालयमा कोरोनाको डर छैन, बिल तिर्ने पिरलो !

२७ साउन, काठमाडौं । काठमाडौंको टंकेश्वर घर भएकी लक्ष्मी शाही आइतबार १० नबज्दै नेपाल विद्युत् प्राधिकरणको रत्नपार्क वितरण केन्द्र पुगिन् । उनी बिजुलीको बिल हरेक महिना तिर्न त्यहाँ पुग्छिन् ।

शुक्रबार मिटर रिडरले हातमा २ हजार ५९ रुपैयाँ ९२ पैसा रुपैयाँको बिल थमाएपछि उनी आइतबार विहानै भुक्तानीका लागि रत्नपार्क आइपुगिन् । सधैं समयमै बिल तिर्ने गरेकी उनले यसपालि पनि समय गुजारिनन् ।

तर उनले चैत, वैशाख र जेठको बिल भने समयमै भुक्तानी गर्न पाइनन् । ‘तस्न महिना लकडाउनले गर्दा विल तिर्न मन भए पनि पाइनँ, तर त्योभन्दा अगाडि र अहिले पनि म समयमा नै तिर्छु’ शाहीले भनिन्, ‘अहिले कोरोनाको त्रास भए पनि तिर्न आएकी छु, ढिला गर्यो भने जरिवाना लिन्छन् ।’

सरकारले विद्युत् महसुलमा छुट दिने भनेको थियो । उनको विलमा २ हजार ५९ रुपैयाँ ९० पैसा उठेको छ । उनले काउन्टरमा गएर २ हजार २० रुपैयाँ भुक्तानी दिइन् । उनलाई लकडाउनका कारण छुट हुन्छ कि भन्ने अपेक्षा थियो । तर, छुट नपाएको उनले बताइन् ।

उनले हातमा बिल देखाउँदै भनिन्, ‘यति उठेको थियो २ हजार २० रुपैयाँ लिए, यति छुट त कोरोना अगाडि पनि हुन्थ्यो, कोरोनाका कारणचाहिँ छुट नपाइनेरहेछ ।’

सधैं आइराख्ने भएकाले कार्यालयमै आएर भुक्तानी गरेको उनले सुनाइन् । अहिले घरबाटै विद्युतीय माध्यमबाट तिर्न मिल्ने व्यवस्थाबारे उनलाई जानकारी नै छैन ।

बालाजुबाट आएका ज्ञानमणि नेपालले छिमेकीको समेत गरेर २ जनाको बिल भुक्तानी गरे । पैसा फिर्ता पाइसकेपछि उनले थाहा पाए, करिब एक सय रुपैयाँ धेरै तिर्नु परेछ । ‘१४०७ रुपैयाँ एकजनाको विलमा उठेको थियो तर, काउन्टरबाट १४१५ भन्दा बढी काटेर फिर्ता दिएछन्’ ज्ञानमणि केहीबेर घोरिएर बिल हेरे ।

विलमा धेरै पैसा उठेको भन्दै उनी काउन्टरमा सोध्न पुगे । काउन्टरमा रहेकी महिला कर्मचारीले त्यति नै देखिएको ठाडो जवाफ फर्काइन् । उनले केही कन्फ्युजन भएको भए १३ नम्बर कोठामा गएर बुझ्न भनिन् ।

ज्ञानमणिले कुनै प्रतिवाद गरेनन् । ‘भयो, एक सय रुपैयाँले केचाहिँ होला र !’ भन्दै उनी काउन्टरबाट बाहिरिए ।

बिजुलीको बिल तिर्न रत्नपार्क वितरण केन्द्रमा दैनिक ६ सय हाराहारीमा सेवाग्राहीहरु आउने गरेका छन् । सुरक्षा सावधानीमा भने खासै ध्यान दिइएको छैन । भीड ठूलै लाग्छ ।

गेटमा खटिएका सुरक्षा गार्ड दूरी कायम गरिदिनुस् भनेर पटक–पटक आग्रह गर्छन् । ढोकामा ‘मास्कविना प्रवेश निषेध’ लेखिएको पम्प्लेट टाँसिएको छ ।

तर, कार्यालयले गेटमा एउटा स्यानिटाइजरसमेत राखेको छैन । सुरक्षा गार्ड पनि निकै असुरक्षित तरिकाले ड्युटीमा खटिएका छन् । सेवाग्राहीहरुलाई थर्मल गनले ज्वरो नापेर मात्रै भित्र पठाउने सुरक्षा गार्डहरुको हात भने खाली नै छ । नांगो हातले नै उनीहरुले सेवाग्राहीको टाउको नजिकै थर्मल गन तेर्साएर ज्वरो नाप्छन् ।

मालपोतमा पनि उस्तै

काठमाडौं महानगरपालिका वडा नम्बर २४ घर भएका रामकृष्ण महर्जन जग्गा पासका लागि डिल्लीबजारको भूमिसुधार तथा मालपोत कार्यालय पुगे । कोरोनाको त्रासबारे थाहा हुँदाहुँदै पनि उनी जग्गा पास गर्नैपर्ने भएकाले मालपोत पुग्नुपरेको बताउँछन् ।

‘फागुन अन्तिम साता नै पास गर्नुपर्ने हो, अलिकति ढिला गरौं भन्ने सहमति भएपछि चैत दोस्रो साता पास गर्ने सहमति बनेको थियो,’ उनी भन्छन्, ‘तर त्यसलगत्तै लकडाउन भयो, लामो समय लकडाउन खुलेन, बैना तिरिसकेको जग्गा भनेको समयमा पास नगर्दा समस्या हुने भएपछि अहिले आएको हुँ ।’

अर्का एक व्यक्तिले एक वाणिज्य बैंकको पत्र र हातमा लालपूर्जा बोकेर मालपोत अधिकृतको कार्यकक्षतिर प्रवेश गर्दै थिए । उनीचाहिँ आफ्नो जग्गा रोक्काका लागि त्यहाँ पुगेका रहेछन् ।

उनले कर्जा लिनका लागि केही समयअघि नै प्रक्रिया शुरु गरेका थिए । तर, लकडाउनकै कारण ढिला भयो । लकडाउन खुलेपछि बैंकको ब्याज पनि घट्यो । बैंकले कर्जाको ब्याज घटाएको र बैंकले कर्जा पनि सहजै दिने भएपछि उनी बैंक पुगे । कर्जा स्वीकृत भइसकेपछि जग्गा रोक्का लागि मालपोत आएको उनले सुनाए ।

उसो त मालपोत कार्यालयमा विगत २ दिनदेखि भीड कम भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरको जिल्ला प्रशासन कार्यालयका सेवाहरु बन्द गर्ने निर्णय भएपछि त्यसको असर मालपोत कार्यालयमा परेको कार्यालयका प्रमुख बुद्धिबहादुर कार्की बताउँछन् ।

आइतबार ९ वटामात्रै राजीनामा पारित भएको छ । जग्गा रोक्को काम भने आइतबार ३८ वटा भयो । तर, यो पनि औसत भन्दा केही कम नै हो । अझ मुद्दा शाखाबाट त नामसारी एउटामात्रै भएको छ ।

अझ सोमबारदेखि कार्यालयले सेवाग्राहीको संख्या घटाउन नयाँ व्यवस्था लागु गरेको छ । नयाँ व्यवस्थाअनुसार अब बारअनुसार कुन वडाको काम गर्ने भन्ने छुट्टाइएको छ । अब वडा नम्बर १, १०, २१, २३, २४ र ३० को काम आइतबारमात्रै हुनेछ ।

यसैगरी सोमबार भने ४, १७, १९, २०, ३१, ३३ वडाको काम हुनेछ भने अन्य बारहरुका लागि छुट्टाछुट्टै वडा तोकिएको छ । उसो त कोरोना जोखिम बढेको भन्दै कार्यालय बन्द गर्ने अधिकार सम्बन्धित कार्यालय प्रमुखलाई नै दिएको छ ।

कार्यालय बन्द गराउने कि भन्ने विषयमा छलफल पनि भएको कार्यालय प्रमुख कार्की बताउछन् । उनले यस विषयमा विभागका महानिर्देशकसँग पनि सल्लाह गरे । १० दिन जति बन्द गराए पनि हुने गरी सल्लाह भए पनि पछि मन्त्रालयसँग सल्लाह नगरी बन्द नगरौं भन्ने निश्कर्ष निकालिएको उनले बताए । तत्काल बन्द नगर्ने र भीडभाड कम गर्नका लागि नयाँ नियम लागू गरिएको उनले बताए ।

कर कार्यालयको दृश्य

अझ कर कार्यालयहरुमा भने अहिले थेगिनसक्नु भीड छ । आइतबार २५ गते भएका कारण झन् ठूलो भीड थियो । सोमबार केही हदसम्म भीड कम भएको कर कार्यालयका अधिकारीहरु बताउँछन् ।

तर भीड भने उत्तिकै छ । आन्तरिक राजस्व कायाल्य, वानेश्वरमा १० बजेलगत्तै शुरु भएको भीड दिनभर नै रह्यो । साँघुरो ठाउँमा रहेको कारण यहाँ दूरी कायम गराउन पनि निकै गाह्रो छ ।

 

कार्यालयको भुइँ तल्लामा एभरेष्ट बैंकको राजस्व संकलन काउन्टर छ । राजस्व जम्मा गर्नेहरुको भीड लामो छ । यहाँ दूरी कायम गराउन निकै गाह्रो छ । सिन्धुपाल्चोकका कमल खत्री हातमा भौचर र नगद लिएर लाइनमा बसेका छन् ।

 

‘लाइन बसेको १५ मिनेट भइसक्यो, अझै कतिबेलासम्म बस्नुपर्ने हो ठेगान छैन,’ खत्री झोक्किए, ‘२ मिनेटमा भाइरस सर्छ, यहाँ दूरी कायम पनि छैन, यहाँ कसैलाई भए सबैलाई लाग्छ तर सरकारलाई कर भए पुगिहाल्यो ।’

उनी प्रतिनिधि पात्र हुन् । सबैको भनाइ उस्तै छ । सबै गत आर्थिक वर्षको कर तिर्न आएका हुन् । नतिरी पनि हुँदैन । भोलि सरकारले करकै विषयलाई लिएर कारबाही गर्ला कि भन्ने चिन्ता छ ।

‘हाकिमले अह्राएपछि टेर्नै पर्यो, यहाँ डर त धेरै छ नि,’ अर्का एक युवकचाहिँ आफूले जागिर खाने कम्पनीको कर तिर्न आएका रहेछन् । उनको पनि गुनासो उस्तै छ, ‘कर त राज्यले लिनैपर्छ कम्तिमा दूरी कायम त गराइदिए हुन्थ्यो नि ।’

बानेश्वर कर कार्यालयका प्रमुख लालप्रसाद पंगेनी सर्वसाधारणमै चेतनाको कमी भएको बताउँछन् । दूरी कायम गरेर लाइन बस्नुस् भन्दा पनि नटेर्ने गरेको उनले बताए । सकेसम्म सुरक्षा सतर्कता भने अपनाउने कोशिस गरिएको उनले बताए ।

कार्यालय प्रमुखहरुले नै कार्यालय बन्द गर्न सक्ने बताए पनि कर कार्यालय भने सरकारले बन्द गर्न दिनेवाला छैन । कार्यालय प्रमुख पंगेनीले पनि अहिले बन्द हुने अवस्था नरहेको बताए ।

तस्वीर  : आर्यन धिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment