Comments Add Comment

काठमाडौंका पसलहरुमा अपनाइँदैन सावधानी

२८ साउन, काठमाडौं । काठमाडौंको मुख्य शहरी क्षेत्रमा स्वास्थ्य मापदण्डको वास्ता नगरी व्यापार व्यवसाय सञ्चालन हुने गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार विभिन्न ठाउँमा गरेको अनुगमनको क्रममा स्वास्थ्य मापदण्ड पूरा नगरी व्यापार व्यवसाय सञ्चालन गर्ने गरेको भेटिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारीहरूको नेतृत्वमा दुई वटा अनुगमन टोली बनाएर गरिएको अनुगमनको क्रममा ७५० वटा पसलले सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्ड अनुरुप भौतिक दुरी कायम गर्ने र स्यानिटाइजरको प्रयोग नगर्ने गरेको पाएको हो । उनीहरूलाई एक पटकको लागि सचेत गरेर छाडिएको छ ।

साउन २५ गतेको जिल्ला संकट व्यवस्थापन केन्द्रको निर्णयअनुसार बुधबार प्रशासनले काठमाडौंको डिल्लीबजार, मैतीदेवी, बागबजार क्षेत्रका पसल रेस्टुरेन्ट र खुल्ला स्थानमा अनुगमन गरेको थियो । अनुगमनको क्रममा स्वास्थ्य मापदण्ड पूरा नगरेको भेटिएको प्रमुख प्रशासकीय अधिकृत कमल पाण्डेले जानकारी दिए ।

उनका अनुसार बुधबार मात्रै मास्क नलगाइ हिँडेका ६० जनालाई संक्रामक रोग ऐन २०२० बमोजिम जनही १०० रुपैयाँ जरिवाना गराइएको छ । अनुगमन टोलीले सडक यात्री र सवारी चालकहरूलाई उपयुक्त तरिकाले मास्कको प्रयोग गर्न सिकाएको र मास्क किन्न नसक्ने करिब ४५ जनालाई मास्क वितरण समेत गरेको पाण्डेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment