Comments Add Comment

राष्ट्रिय जनमोर्चाका कोषाध्यक्ष केसी हटाइए

३० साउन, काठमाडौं । राष्ट्रिय जनमोर्चाले कोषाध्यक्ष ओमबहादुर केसीलाई पदबाट हटाएको छ । साउन २६ गते काठमाडौंमा बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले केसीलाई कोषाध्यक्ष र केन्द्रीय सदस्य पदबाट हटाएको छ ।

अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गरी केसीको ठाउँमा सचिव हिमलाल पुरीलाई चयन गरेको जानकारी दिएका छन् । त्यसपछि रिक्त भएको सचिव र सचिवालय सदस्य पदमा डम्मर पुरीलाई चयन गरेको छ ।

राष्ट्रिय जनमोर्चाले आफूले जितेका वा प्रतिनिधित्व गरेका गाउँपालिका, नगरपालिका तथा जिल्लाको कार्यको मूल्यांकन र अनुगमन गर्न नेताहरुलाई खटाएको छ । बागलुङ जिल्लाको बरेङ गाउँपालिका तथा गुग्मी जिल्लाको कालीगण्डकी गाउँपालिकाका भैरव रेग्मी, प्यूठान जिल्लाको झिमरुक गाउँपालिका तथा मल्लरानी गाउँपालिकाका लागि हिमलाल पुरी, स्वर्गद्वारी तथा ऐरावती गाउँपालिकाका वडाहरुका लागि मनोज भट्ट र अर्घाखाँची तथा नवलपुर जिल्लाका वडाहरुका लागि सुरेश थापालाई जिम्मा दिएको विज्ञप्तिमा जनाइएको छ ।

राष्ट्रिय जनमोर्चाले कोरोना महामारी नियन्त्रणमा सरकारको पहल अपर्याप्त देखिएको भन्दै भारतको बिहार र उत्तर प्रदेशबाट अनियमित तरिकाले भइरहेको आवतजावत रोक्न, तेस्रो मुलुकमा अलपत्र परेका र रोजगारी गुमाएका नेपालीहरुलाई देशमा ल्याउन, पीसिआर परीक्षण, औषधि उपकरण, उपचार, आइसोलेसन र क्वारेन्टिइनको राम्रो र पर्याप्त व्यवस्था गर्न माग गरेको छ ।

राजमोले बिहीबार राति सिन्धुपाल्चोक र कालीकोटमा पहिरोका कारण जनधनको क्षति भएकामा दुख व्यक्त गरेको छ । बेपत्ताको खोजी, घाइतेको उद्धार प्रभावित परिवारलाई राहतको उचित व्यवस्था गर्न पनि माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment