२६ वैशाख, काठमाडौं । राष्ट्रिय जनमोर्चाले सरकारद्वारा गठित संविधान संशोधन बहसपत्र निर्माण कार्यदलका संयोजक असिम शाहमाथि प्रश्न उठाएको छ । राष्ट्रिय जनमोर्चाले शनिबार काठमाडौंमा संविधान संशोधनको सन्दर्भमा गणतन्त्र र राष्ट्रियता विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा अध्यक्ष चित्रबहादुर केसीले प्रस्तुत गरेको अवधारणापत्रमा संयोजक शाहको नैतिक चरित्र र संविधानिक कानुनको ज्ञानमाथि प्रश्न उठाइएको छ ।
अवधारणापत्रमा संविधान संशोधनका मुद्दा पहिचान गर्न र संशोधनको प्रक्रियामा जनसमुदायलाई सहभागी गराउन कैयौँ चरण आवश्यक पर्ने भनिएको छ ।
यस्तै मुद्दाको पहिचानका लागि विज्ञ सम्मिलित टोली, राजनीतिक दलको सहमति, राजनीतिक तथा जनस्तरमा बृहत् छलफल गरेर विधेयक तयार पारेर संसद्मा छलफलको विषय बनाउन सकिने उपाय केसीको अवधारणापत्रमा उल्लेख छ ।
‘संविधान संशोधन गर्ने र त्यसलाई अनुमोदन गर्ने काम सङ्घीय संसद्को भए पनि विभिन्न चरण र स्तरमा संविधान संशोधनको मुद्दामा छलफल चलाउँदा त्यो वृहत् र प्रजातान्त्रिक प्रकृतिको बन्छ,’ अवधारणापत्रमा भनिएको छ, ‘त्यसरी प्रजातान्त्रिक तबरबाट वृहत् छलफल गरेर सङ्घीय संसद्मा प्रवेश गरेमा त्यो बढी परिपक्व हुनेछ ।’
तर, सरकारले गठन गरेको कार्यदलका संयोजकमा नियुक्त गरिएका व्यक्ति उच्चस्तरको नैतिक चरित्र र संवैधानिक कानुनको क्षेत्रमा उच्च ज्ञान नभएको जनमोर्चाको अवधारणापत्रमा उल्लेख छ । ‘राजा आऊ, देश बचाऊ अभियानमा संलग्न व्यक्ति भएका कारण त्यसले कैयाैँ प्रश्न र आशङ्का पैदा गरेको छ,’ अवधारणापत्रमा भनिएको छ ।
संविधान संशोधन जटिल तथा जोखिमपूर्ण प्रक्रिया भएको उल्लेख गर्दै त्यसको उठान र अवतरण सही ढङ्गबाट हुन नसके जनआन्दोलनका उपलब्धि गुम्ने जोखिम हुने अवधारणापत्रमा उल्लेख छ ।
प्रतिक्रिया 4