Comments Add Comment

युएई–इजरायल सम्झौतामा इरान र टर्कीको विरोध

रुहानी भन्छन्– युएईले मुस्लिम देशलाई धोका दियो

३२ साउन, काठमाडौं । युएई र इजरायलबीच भएको शान्ति सम्झौताको इरान र टर्कीले विरोध गरेका छन् । इरानका राष्ट्रपति हसन रुहानीले शनिबारको एक मन्तव्यमा युएईले मुस्लिम देशहरुलाई धोका दिएको बताए ।

केही दिनअघि अमेरिकाको पहलमा युएई र इजरायलबीच शान्ति सम्झौता भएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्प, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र युएईका क्राउन प्रिन्स मोहमद अल नाहयानले संयुक्त विज्ञप्ति जारी गर्दै यस ऐतिहासिक सम्झौताबाट मध्यपूर्वमा शान्ति बढ्ने बताएका थिए ।

यो सम्झौतालाई शक्तिशाली देश इरानविरुद्ध गठजोडको रुपमा लिइएको छ ।

टेलिभिजन सम्बोधनको क्रममा इरानी राष्ट्रपछि रुहानीले युएईलाई चेतावनी दिँदै भने– मध्यपूर्वमा इजरायलको कदम बलियो बनाएको परिणाम गम्भीर हुने छ ।

उनले भने, ‘ऊ (युएई) सावधान रहोस् । उनीहरुले ठूलो गल्ती गरेका छन् । विश्वासघाती कदम उठाइएको छ । हामीलाई विश्वास छ उनीहरुलाई आफ्नो गल्ती महसुस हुने छ र यो गलत बाटो छोड्ने छन् ।’

उनले भने, ‘यस सम्झौताको भित्री उद्देश्य नोभेम्बरमा हुन लागेको अमेरिकी राष्ट्रपति चुनावमा ट्रम्पको उम्मेदवारीलाई बलियो बनाउनु हो । त्यसैले यस सम्झौताको घोषणा वाशिङ्गटनबाट गरिएको छ ।’

रुहानीले भने, ‘यदि यो सम्झौता गलत होइन भने किन तेस्रो देशबाट घोषणा भयो ? त्यो पनि अमेरिकामा ? ताकि वाशिङ्गटनमा बसेको त्यो व्यक्तिले भोट बटुल्न सकोस् । तपाईंहरुले आफ्नो देशलाई, आफ्ना जनतालाई र मुसलमानहरुलाई, अरब देशहरुलाई धोका दिएका छौ ।’

टर्की पनि बेखुस

इजरायलसँग युएईले गरेको सम्झौताबाट टर्की पनि रुष्ट भएको छ । युएईले पाखण्डपूर्ण व्यवहार गरेको र उसलाई इतिहासले कहिल्यै माफी नदिने टर्कीको भनाइ छ ।

टर्कीको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘इतिहास र यस क्षेत्रका जनताको अन्तरआत्माले इजरायलसँग सम्झौता गर्ने युएईको ढोंगी व्यवहारलाई कहिल्यै भुल्ने छैनन् । यो निकै चिन्ताजनक कुरा हो । युएई अरब लिगद्वारा विकसित अरब शान्ति योजनाका साथ चल्नुपर्छ ।’

टर्की र इजरायलबीच कूटनीतिक र व्यापारिक सम्बन्ध भए पनि वर्षौंदेखि तनावपूर्ण रहँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment