News Summary
Generated by OK AI. Editorially reviewed.- इजरायली सेनाले देर अल–बलाहमा सैन्य कारबाही गर्ने घोषणा गरेपछि गाजापट्टीका प्यालेस्टिनी नागरिकहरू पश्चिम र दक्षिणपश्चिमतर्फ विस्थापित हुन थालेका छन्।
- ओसिएचएका अनुसार प्रभावित क्षेत्रमा १८ हजारभन्दा बढी मानिस बसोबास गरिरहेका थिए र करिब चार हजार विस्थापित नागरिक अस्थायी शिविरमा बस्दै आएका थिए।
- विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०२५ अक्टोबरको युद्धविरामपछि तीन हजार ८०० भन्दा बढी बिरामीलाई उपचारका लागि अन्यत्र लैजान सहयोग गरिएको छ।
३ मङ्सिर, संयुक्त राष्ट्रसङ्घ (रासस/सिन्ह्वा)। गाजापट्टीको देर अल–बलाह क्षेत्रमा इजरायली सेनाले सैन्य कारबाही गर्ने घोषणा गरेपछि प्यालेस्टिनी नागरिकहरू विस्थापित हुन थालेका छन् ।
संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए) का अनुसार प्रभावित क्षेत्रमा १८ हजारभन्दा बढी मानिस बसोबास गरिरहेका थिए । करिब २.५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको उक्त क्षेत्रमा झन्डै चार हजार विस्थापित नागरिक अस्थायी शिविरमा बस्दै आएका थिए ।
बुधबारसम्म प्रभावित क्षेत्रका नागरिकहरू पश्चिम तथा दक्षिणपश्चिम दिशातर्फ सर्न थालेको कार्यालयले जनाएको छ । उक्त क्षेत्रमा स्वास्थ्य सेवा, खानेपानी, खाद्यान्न, सरसफाइ, शिक्षा तथा अन्य अत्यावश्यक सेवा उपलब्ध गराउने मानवीय सहायता केन्द्रहरू पनि रहेका छन् ।
ओसिएचएका अनुसार सन् २०२३ डिसेम्बरदेखि २०२५ जुनसम्म सोही क्षेत्रमा इजरायलले छ पटक विस्थापनसम्बन्धी आदेश जारी गरेको थियो । कार्यालयले सैन्य कारबाहीबाट विस्थापित हुने नागरिकलाई परिस्थिति अनुकूल हुनासाथ घर फर्कन दिनुपर्ने र उनीहरूको सुरक्षा तथा मानवीय सहायता सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ ।
यसैबीच, सैन्य कारबाहीका क्रममा वर्षाको पानी सङ्कलन तथा ढल व्यवस्थापन गर्ने संरचनामा क्षति पुगेमा बाढी तथा सरसफाइसम्बन्धी समस्या उत्पन्न हुन सक्ने चेतावनी दिइएको छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०२५ अक्टोबरमा युद्धविराम घोषणा भएयता तीन हजार ८०० भन्दा बढी बिरामीलाई उपचारका लागि अन्यत्र लैजान सहयोग गरिएको छ । तीमध्ये करिब एक तिहाइ बालबालिका रहेका छन् ।
प्रतिक्रिया 4