Comments Add Comment

विद्युतीय सवारीको कर पुनरावलोकन हुन्छ, प्राधिकरणप्रति गर्व छ : ऊर्जामन्त्री

१ भदौ काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले विद्युतीय सवारीमा लगाइएको कर पुनरावलोकन हुनसक्ने बताएका छन् । विद्युत खपत प्रवर्द्धन गर्ने भनिएको वर्ष सरकारले बजेटमार्फत यसपाला विद्युतीय सवारीमा ठूलो मात्रामा कर बढाएको थियो ।

मन्त्री पुनले यसबारे अर्थमन्त्री डा. युवराज खतिवडासँग कुरा भएको र विद्युतीय सवारीको करमा पुनरावलोकन हुनसक्ने अवस्था रहेको बताए ।

उनले नेपाल विद्युत प्राधिकरणले गर्व गर्न लायक सफलता हासिल गरेसँगै चुनौती थपिएको पनि बताएका छन् । प्राधिकरणको ३५औं वाषिर्कोत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रममा प्राधिकरण संचालक समितिका अध्यक्षसमेत रहेका मन्त्री पुनले संस्थालाई अझै सबल र प्रतिस्पर्धी बनाइने प्रतिबद्धता जनाएका छन् ।

‘उपभोक्तालाई भरपर्दो विद्युत् आपूर्ति र विद्युतीकरण गर्न बाँकी करिब १० प्रतिशत घरपरिपरिवारमा विद्युत सेवा पुर्‍याउन, विद्युतमा आत्मानिर्भर बन्न र आगामी दिनमा बढी हुने विद्युतलाई मुलुकभित्र खपत गर्नु र बाहृय बजारमा बिक्री गर्नु चुनौतीपूर्ण छ’,उनले भने ।

‘हामीले बनाउनु पर्ने प्रसारण पूर्वाधार समयमा बनाउन नसक्दा कतिपय आयोजनाहरुको विद्युत् प्रणालीमा जोड्न नसकिएको गुनासो सुनिरहेका छौं, यसको समाधानका लागि प्रसारण लाइन आयोजना निर्माण सम्पन्न गरी राखिएका लक्ष्य पूरा गर्नुपर्छ,’ उनले भने ।

उनले निजी क्षेत्रका जलविद्युत आयोजनाहरुसँग विद्युत खरिद बिक्री सम्झौता (पीपीए)  गर्ने र विद्युत् बिक्रीका लागि प्रतिश्पर्धी बजार खोज्दै लगानीको वातावरण बनाइने बताए ।  सरकारले ठूला जलाशययुक्त तथा अर्धजलाशययुक्त जलविद्युत आयोजना मात्रै निर्माण गर्ने उल्लेख गर्दै मन्त्री पुनले मुलुक ऊर्जामा आत्मनिर्भरतर्फ अगाडि बढेको बताए ।

सरकारले एक हजार ६१ मेगावाटको माथिल्लो अरुण र ६ सय मेगावाटको दूधकोसी जलविद्युत आयोजना अगाडि बढाइएको उनले उल्लेख गरे ।

राष्टिय योजना आयोगका सदस्य कृष्ण प्रसाद ओलीले निर्माणाधीन आयोजना तोकिएकै समयमा र लागतमा सम्पन्न गर्न, ग्राहकलाई गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउन पुराना संरचनामा सुधार तथा विस्तारमा जोड दिन प्राधिकरणलाई निर्देशक दिए ।

विद्युत नियमका आयोगका अध्यक्ष डिल्लीबहादर सिंहले प्राधिकरणले गुणस्तरीय र नियमित विद्युत सेवा आपूर्तिका लागि आगामी दिनमा अझै क्रियाशील बन्नुपर्ने बताए ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ सचिव दिनेशकुमार घिमिरेले लोडसेडिङ अन्त्य गरी कमाएको छबिको निरन्तरताका लागि प्राधिकरण संस्थागत विकास योजनाअनुसार संचालन हुनुपर्ने, प्रणाली सुधार गरी स्वचालित बनाउने, खर्च कटौती गर्ने, ग्राहक सेवालाई सुधार गर्ने र अगामी दिनमा बढी हुने विद्युत्को व्यवस्थापन गर्न लाग्नुपर्ने बताए ।

कुलमान भन्छन्- चुनौती थपिएको छ

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निरन्तर इमान्दार प्रयासका वावजुद पनि  विविध कारणले गर्दा केही निर्माणाधीन आयोजनाहरु समयमा सम्पन्न हुन नसकिएको बतए । उनले यसले गर्दा संस्थाले गरेका कैयौ राम्रा कामहरु ओझेलमा पर्ने सम्भावना पनि उल्लेख गरे । यसैले आगाम दिन प्राधिकरणका लागि लागि अझ चुनौतिपूर्ण रहेको उनले बताए ।

प्राधिकरणले यस वर्षलाई विद्युत खपत बृद्धिको बर्षको रुपमा घोषणा गरी विविध कार्यक्रमहरु सञ्चालन गर्ने भएको छ । यसका लागि स्वदेशमा विद्युतको खपत बृद्धि गर्न सवारी साधन चार्जिङ्ग स्टेशनहरुको निर्माण गरी विद्युतिय सवारी साधनको प्रबर्द्घन गर्ने, लिफ्ट सिंचाइलाई बढावा दिने र खाना पकाउने ग्यासलाई विद्युतीय चुलोले प्रतिस्थापन गर्ने जस्ता कार्यक्रम सञ्चालन गरिने छ ।

यो पनि पढ्नुहोस विद्युत् प्राधिकरणको वार्षिक नाफा ११ अर्ब नाघ्यो, सञ्चित नाफा झण्डै ५ अर्ब

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment