+
+
Shares

उद्धार र राहतलाई पहिलो प्राथमिकतामा राख्न कुलमानको अपिल

‘संरचना फेरि बनाउन सकिन्छ, गुमेको जीवन फर्काउन सकिन्न’

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १२ गते ९:४२
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रसुवाको भोटेकोशी बाढीले पुर्‍याएको जनधनको क्षतिले आफू मर्माहत भएको बताएका छन् ।
  • उनले पहिलो प्राथमिकता मानव जीवन बचाउने, जोखिममा रहेकाको उद्धार गर्ने र पीडित परिवारलाई तत्काल राहत पुर्‍याउने हुनुपर्ने बताएका छन् ।
  • घिसिङले क्षतिग्रस्त जलविद्युत् प्रसारण र सडक पूर्वाधारको यथाशीघ्र पुनर्निर्माणलाई उच्च प्राथमिकता दिन सरकारसँग आग्रह गरेका छन् ।

१२ भदौ, काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले पुर्‍याएको जनधनको क्षतिले आफूलाई मर्माहत बनाएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा शुक्रबार बिहान भिडियो सन्देश जारी गर्दै उनले बाढीले पुर्‍याएको भौतिक संरचना फेरि बनाउन सकिन्छ तर गुमेको जीवन फर्काउन सकिन्न भन्दै पहिलो प्राथमिकता मानव जीवन बचाउने, जोखिममा रहेकाहरूको उद्धार गर्ने र पीडित परिवारसम्म तत्काल राहत पुर्‍याउनु रहेको बताए ।

उनले भनेका छन्, ‘रसुवा मेरो लागि केवल एउटा जिल्ला मात्र होइन ।  मेरो जीवनको महत्वपूर्ण समय र पौरख जोडिएको ठाउँ हो । चिलिमे, रसुवागढी लगायतका जलविद्युत् आयोजनाहरूमा पुगेको क्षति आफ्नै आँखाले देख्दा मन झन् भारी भएको छ । संरचना फेरि बनाउन सकिन्छ तर गुमेको जीवन फर्काउन सकिन्न । त्यसैले अहिले हाम्रो पहिलो प्राथमिकता एउटै हुनुपर्दछ; मानव जीवन बचाउने, जोखिममा रहेकाहरूको उद्धार गर्ने र पीडित परिवारसम्म तत्काल राहत पुर्‍याउने । त्यसपछि प्रभावित परिवारलाई पुनः आफ्नो जीवनमा फर्काउन पुनर्स्थापनाको काम अगाडि बढाउनुपर्दछ ।’

उनले अगाडि भनेका छन्, ‘यो काम सरकारको मात्र जिम्मेवारी होइन । बरु सरकारको नेतृत्वमा हामी सबैको साझा जिम्मेवारी हो । सरकार, सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र र आम नागरिक सबै एकजुट भएर यो संकटको सामना गर्नुपर्ने बेला हो ।’

देशभित्र मात्र नभएर संसारभरि छरिएर रहेका नेपालीहरूलाई यो संकटको घडीमा एकजुट भएर सहयोग गर्न उनले अपिल समेत गरेका छन् ।

उनले भनेका छन्, ‘अहिले हाम्रो सानो सहयोग पनि कसैका लागि ठूलो सहारा बन्न सक्दछ ।’

अध्यक्ष घिसिङले बाढी प्रभावित क्षेत्रमा क्षतिग्रस्त जलविद्युत् प्रसारण तथा सडक पूर्वाधारको यथाशीघ्र पुनर्निर्माणलाई उच्च प्राथमिकता दिन सरकारसँग आग्रह समेत गरे ।

यसका लागि आवश्यक बौद्धिक र भौतिक सहयोग गर्नका लागि  उनले प्रतिबद्ध समेत जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?