Comments Add Comment

जमैकाको विजयी सुरुवात, सन्दीपको किफायती बलिङ

४ भदौ, काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछाने सम्मलित जमैका तल्लावाहजले क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–२० क्रिकेटमा विजयी सुरुवात गरेको छ ।

जमैकाले सेन्ट लुसिया जुक्सलाई ५ विकेटले पराजित गर्दै २ अंक जोडेको छ ।

ट्रिनिडाड एण्ड टोबागोमा जारी प्रतियोगितामा जमैकाले १५९ रनको लक्ष्य ७ बल बाँकी छँदै ५ विकेट गुमाएर पूरा गरेको हो । कमजोर सुरुवात गरे पनि ओपनर ग्लेन फिलिप्स र मध्यक्रमका ब्याट्सम्यान आसिफ अलीले उत्कृष्ट ब्याटिङ गर्दै जमैकालाई जित दिलाए । बलिङमा सन्दीपले किफायती बलिङ गर्दै १ विकेट लिए ।

ओपनर चाडविल वाल्टन २ र निकोलस किर्टोन १ रन बनाएर आउट हुँदा जमैका सुरुमै दबाबमा परेको थियो । तर फिलिप्स र कप्तान रोभमन पावेलले तेस्रो विकेटका लागि ६३ रनको साझेदारी गर्दै इनिङ्सलाई अघि बढाए ।

फिलिप्सले २९ बल खेल्दै ३ चौका र ३ छक्का मद्दतमा ४४ रन जोडे । पावेलले १७ बलमा २६ रन जोडे । जमैकालाई जितसम्म पु¥याउन भूमिका खेलेका आसिफ अलीले अविजित ४७ रन बनाए । उनले २७ बल खेल्दै ५ चौका र २ छक्का प्रहार गरे ।

यस्तै आन्द्रे रसेलले १६ रन योगदान गरे । कार्लोस ब्रेथवेइटले ९ बल खेल्दै १ चौका र १ छक्का मद्दतमा अविजित १८ रन जोडे ।  सेन्ट लुसियाका केसरिक विलियम्सले २ विकेट लिए ।

त्यसअघि ब्रयान लारा एकेडेमी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सेन्ट लुसियाले रोस्टन चेसको अर्धशतक मद्दतमा निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५८ रन बनाएको थियो । चेसले ४२ बल खेल्दै ४ चौका र २ छक्का मद्दतमा ५३ रन बनाए । यस्तै नजिबुलल्ह जद्रानले २५ र आन्द्रे फ्लेचरले २२ रन जोडे । जद्रानलाई सन्दीप लामिछानेले आउट गरे ।

जमैकाका भिरास्वामी प्रमुल र मुजिव उर रहेमानले २–२ विकेट लिए । सन्दीपले ४ ओभरमा २३ रन खर्चेर १ विकेट आफ्नो नाममा लेखाए । सेन्ट लुसियाको ५ विकेट जमैकाका स्पिनरले लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment