१२ मंसिर, बेलबारी । मोरङको बेलबारीमा नवौँ बेलबारी मेजर स्वर्गीय एनबी रुङ्गमाहाङ अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप आगामी पुस ४ देखि १० गतेसम्म सञ्चालन हुने भएको छ ।
आयोजक डाँगीहाट युथ क्लबले शनिबार बेलबारी–११ स्थित लक्ष्मीमार्ग खेलमैदानमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको मिति, सहभागी टोली, पुरस्कार राशि तथा अनुमानित आम्दानी र खर्चको विवरण सार्वजनिक गरेको हो ।
प्रतियोगिताको विजेताले आठ लाख रुपैयाँ र उपविजेताले चार लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट मिडफिल्डरलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
यसपटक प्रतियोगितामा आठ टोली सहभागी हुनेछन् । आयोजक डाँगीहाट युथ क्लबसहित भारतको मिक्स्ड क्लब खर्साङ, सहलेस युवा क्लब सिरहा, नेपाल पुलिस क्लब काठमाडौं, भोजपुर जिल्ला फुटबल संघ, श्री स्टार क्लब काठमाडौं, प्लानिङ ब्वाइज क्लब काठमाडौं र रेड स्टार क्लब बिर्तामोडले प्रतिस्पर्धा गर्नेछन् ।
आयोजकका अनुसार प्रतियोगिताका लागि ७६ लाख २ हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । प्रतियोगिता सञ्चालनमा ७२ लाख ७५ हजार रुपैयाँ खर्च हुने र तीन लाख २७ हजार रुपैयाँ बचत हुने प्रक्षेपण गरिएको छ ।
बेलबारी नगरपालिका मुख्य सहयोगी तथा एक्स्ट्रिम मुख्य प्रायोजक रहेको प्रतियोगितामा गोर्खा ब्रुअरी दोस्रो पुरस्कार प्रायोजकका रूपमा छ । एनी, इन्डो ग्लोबल फाउन्डेसन, लाहुरे ट्रेनिङ सेन्टर, नोबेल मेडिकल कलेज, जोया प्रालि, द रिभर ओभरसिस र मल्टिमिसन ट्रेनिङ सेन्टरलगायत संस्था सहप्रायोजक तथा सहयोगीका रूपमा रहने क्लबका अध्यक्ष विक्रम बान्तवाले जानकारी दिए ।
प्रतियोगिताको मुख्य आकर्षणमा डेढ तोला सुन र तीन किलो चाँदी जडित रनिङ ट्रफी रहनेछ । उद्घाटन समारोहमा स्थानीय कलाकारको प्रस्तुति तथा विभिन्न जातजातिको भेषभूषा, भाषा र संस्कृति झल्काउने झाँकीसमेत प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
स्थानीय खेलाडीलाई विदेशी खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नु, नयाँ खेलाडी उत्पादन गर्नु र स्थानीय खेलकुदसँगै पर्यटन प्रवर्द्धन गर्नु प्रतियोगिताको उद्देश्य रहेको आयोजकले जनाएको छ ।
प्रतिक्रिया 4