+
+
Shares

निषेधाज्ञाका कारण देशभर रगतको अभाव

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ६ गते १५:५०

काठमाडौं । कोरोना भाइरस महामारीका कारण गरिएको निषेधाज्ञाको सिधा असर रक्त संकलन कार्यमा परेको छ । रगतको व्यवस्थापन गर्ने नेपाल रेडक्रस सोसाइटीले निषेधाज्ञाको समयमा रगतको माग पूरा गर्न नसकेको जनाएको हो ।

निषेधाज्ञाका कारण रक्तदान कार्यक्रम सञ्चालन हुन नसकेकोले थप रगत संकलन हुन नसकेको र भएको स्टक पनि छिटै सकिने अवस्थामा रहेको रेडक्रस सोसाइटीले जनाएको छ ।

केन्द्रीय रक्तसञ्चार सेवाका प्राविधिक श्रवण श्रेष्ठका अनुसार आज शनिवारको लागि बुक गरिएका क्याम्पहरु सबै स्थगित भएका छन् । उनका अनुसार बिहिबार ३२ जना दाताहरूले केन्द्रमै आई रक्तदान गरेकाले ६४ पिन्ट रगत गर्न सकिएको तर थप ६१ जना रित्तोहात फर्किनुपरेको रेडक्रस सोसाइटीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

दुर्घटना, रक्तश्राव भएका, प्रसूति, मुटु, क्यान्सर तथा मिर्गौला बिरामी, थालसेमिया, हेमोफिलिया, आकस्मिक अपरेसन गर्नुपर्ने बिरामीहरूकालागि समेत रगतको अभाव भएको केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक पवन गुप्ताले जानकारी दिए ।

केन्द्रबाहेक पनि धरान, विराटनगर, चितवन लगायतका स्थानमा रगत अभाव भइरहेको नेपाल रेडक्रस सोसाइटीका सञ्चार निर्देशक दिव्यराज पौडेलले बताए। ती क्षेत्रका अधिकांश भागमा निषेधाज्ञा भएको र वरपरका जिल्लाहरुबाट पहिलाजस्तो सहयोग हुन सक्ने परिस्थिति नरहेको समेत उनले जानकारी दिए ।

रगत नपाए भक्तपुर जानु अभियान समेत फेल

रगत नपाए भक्तपुर जानु भन्ने अभियान सञ्चालन गरेको भक्तपुर केन्द्रले विगतको लकडाउनमा पर्याप्त रक्तसंकलन गरे पनि विगत १३ दिनदेखि कुनै क्याम्प आयोजना नभएकोले त्यहाँ पनि अहिले रगतको स्टक समस्यामा परेको छ ।

रगतको माग भइरहेकोले रक्तदाता, संघसंस्था र रेडक्रसका निकायहरुले सानो समूहमा भएपनि स्थानीय पालिका र प्रशासनको सहयोगमा रक्तदानको कार्यक्रम आयोजना गर्न गराउन गर्न सके रगत आपूर्ति सहज हुने निर्देशक पौडेलले बताए । उनले भने ‘नियमित रक्तदाता तथा युवाहरूले नजिकका केन्द्रहरूमा गई रक्तदान गर्नसक्दछन् । बिरामीको रक्तसमूहसँग मिल्ने साथीभाइ, इष्टमित्रहरूसँग पहिल्यै सोधखोज, उत्प्रेरणा तथा अनुरोध गरेमा कुरुवा र आफन्तजनलाई पनि सजिलो हुनेछ ।’

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?