Comments Add Comment

हेटौंडामा निषेधाज्ञा तोड्दै कांग्रेसले गर्‍यो सार्वजनिक कार्यक्रम

१० भदौं, हेटौंडा । मकवानपुरको हेटौंडामा नेपाली कांग्रेसले निषेधाज्ञा तोड्दै सार्वजनिक कार्यक्रम गरेको छ ।

हेटौंडा उपमहानगरपालिका– ७ चौघडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बागमती प्रदेशको प्रतिपक्षी दलका नेता इन्द्र बानियाँले निषेधाज्ञा तोड्ने अभियान सुरु भएको बताए ।

‘अब निषेधाज्ञा तोड्ने अभियान मैले सुरु गरेको छु, सामाजिक दुरी कायम गरेर काममा जानुको कुनै विकल्प छैन यसरी लकडाउनको नाम लिएर बसिरह्यो भने आर्थिक मन्दीले जनस्तर समस्यामा पर्ने छ’ उनले भने ।

हेटौंडामा कोरोना संक्रमण बढेको भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । तर बुधबार गरेको कार्यक्रममा १७१ जना पार्टी प्रवेश गरेको कांग्रेसको दावी छ ।

निषेधाज्ञाले जनताको जनजीवन अस्तव्यस्त बनाएको भन्दै यसको विकल्प खोज्न जरुरी रहेको नेता बानियाँले बताए । ‘काम गर्ने जनतालाई घरमा थुनिएर बस भन्नुले सरकारको कमजोरीपन स्पष्ट देखाएको छ’ उनले भने ।

सरकारले निषेधाज्ञालाई मात्रै निरन्तरता दिने भन्दा निश्चित स्वास्थ्य मापदण्ड पूरा गरी उद्योग, कलकारखाना, व्यवसाय, कृषि कार्य सञ्चालन गर्न दिनुपर्ने नेता बानियाँले बताए ।

प्रदेशका क्वारेन्टिन र आइसोलेसनको अवस्था सन्तोषजनक नभएको भन्दै यसको यथाशीघ्र सुधार गर्नुपर्ने बताए । उनले कोरोना संक्रमण परीक्षणको रिपोर्टमा पनि ढिलाइ गर्न नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment