Comments Add Comment

खुलामञ्चमा खाना खानेको लाइन (फोटो फिचर)

१४ भदौ, काठमाडौं । काठमाडौंको खुलामञ्चस्थित बस टर्मिनल क्षेत्रमा दिउँसो ३ बजेदेखि नै मानिसहरु भेला हुन थाल्छन् । मानिसहरुको संख्या बढ्दै ४ बजेतिर ४ देखि ५ सय हाराहारी पुग्छन् । शहरमा खानेकुराको अभावमा छाक टार्न समस्या परेकाहरु साढे ४ बजे स्वयंसेवकहरुले वितरण गर्ने खाना पर्खेर बसेका हुन्छन् ।

काठमाडौं उपत्यकामा भदौ ३ गतेदेखि निषेधाज्ञा सुरु भएपछि झन् यहाँ खाना खान आउनेहरु बढेका छन् । स्वयं सेवकले खाना बाँड्ने बेलामा बस टर्मिनलमा ५/६ वटा लामो लाइन देखिन्छ । व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) लगाएका स्वयंसेवकले सुरुमा खाना खान बस्ने क्षेत्र निसंक्रमण (डिस इन्फेक्सन) गर्छन् । खाना खान आउनेहरुको तापक्रम नाप्छन् । ज्वरो आएकाहरुलाई अलग्गै राखेर खाना दिन्छन् ।

यसरी हन्ड्रेड समूह र मानवी क्रिएटिभ फाउन्डेसनले कोरोना महामारी नियन्त्रणका लागि सरकारले लकडाउन सुरु गरेको केही दिनपछि २०७५ चैत १८ गतेदेखि सडकमा निरन्तर खाना खुवाउँदै आएको छ । लकडाउन सुरु भएपछि नियमित कमाइ रोकिएका दैनिक ज्यालादारी मजदुर धेरैजसो यो खानाको प्रतीक्षामा हुन्छन् ।

स्वयंसेवकहरुले पहिले पशुपति, गुह्येश्वरी, स्वयम्भूलगायतका क्षेत्रमा मोटरसाइकलमा खाना पुर्‍याएर मजदुरलाई वितरण गरे पनि अहिले खुलामञ्चमा मात्र खुवाउने गरिएको छ । अहिलेसम्म देश विदेशमा रहेका शुभचिन्तक र सामाजिक अभियन्यताहरुको सहयोगमा खाना खुवाउँदै आएको एक अभियन्ता बद्रीप्रसाद ढुंगानाले जानकारी दिए ।

‘हाम्रो अभियानलाई साथ दिने र सडकमा रहेका मानिसलाई माया गर्नेहरुको सहयोगबाटै अहिलेसम्म हाम्रो अभियान चलिरहेको छ’ उनले भने ‘कतिपयले हाम्रो फेसबुकको पोस्ट देखेर, कसैले जन्मदिनको उपलक्ष्यमा र कतिपयले परिवारका सदस्यहरुको तिथिको दिन पारेर पनि सहयोग गर्नुभएको छ ।’

पहिलो चरणको लकडाउनमा दिनमा एक हजार जना भन्दा बढीले खाना खाए पनि अहिले ४ देखि ५ सयको हाराहारीमा हुने गरेका छन् । उनीहरुले स्वयंसेवक टोलीकै सदस्य अंशु यादवको वानेश्वरस्थित घरमा खाना पकाएर साढे ४ बजे खुलामञ्च लिएर जान्छन् र वितरण गर्छन् ।

लकडाउनका कारण कमाइ गर्न नसकेकाहरुका लागि १५५ दिनदेखि निरन्तर खाना खुवाउँदै आएको अभियानका संयोजकसमेत रहेका अंशु बताउँछन् । ‘हामीलाई भन्दा पनि कोही नभएकाहरुलाई महामारीले धेरै पिरोल्छ त्यसैले सहयोग गरिरहेका छौँ,’ यादवले भने ।कोरोना महामारी अन्त्य नभएसम्म खाना खुवाउने उनीहरुको योजना छ ।

तस्वीर : चन्द्रबहादुर आले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment